पहिले त ऊ खासै खुलेर बिरोध गर्दैनथ्यो । तर बिगत ३/४ बर्षदेखी दशैँ सुरु हुनासाथ उसले सामाजिक संजालको भरपुर फाइदा उठाएको थियो– पशु हत्याको बिरोधमा । लाग्दथ्यो ऊ पशुलाई पनि मानवसरह नै सोच्ने गर्दथ्यो।
हिजोको उसको स्टाटस साथीहरुले गरेको सकारात्मक र नकारात्मक कमेन्टले भरिएको थियो । बहस गरिहाल्ने स्थिति पनि थिएन । कमेन्टको पुछारमा सबैलाई धन्यबाद भनेर ऊ बजार निस्कियो।
उसको साथीको मोबाइल पसल थियो । फुर्सदको समयमा गफ गरेर समय बिताउन ऊ प्राय साथीको पसल धाउने गर्थ्यो ।
विशेष गरी नया रिलिज भएको मुभी सित्तैमा साथीकोमा हेर्न पाइने भएको हुनाले पनि ऊ साथीकोमा गैरहन्थ्यो । आज पनि कुरोको सुरुवात मुभीबाट नै भयो ।
“तँसँग कुनै नयाँ मुभी छैन भन्या यसो केही गतिलो छ भने हाल्दे न यार ।” उसले आफ्नो मोबाइलबाट मेमोरी कार्ड झिक्दै भन्यो ।
“छ नि यार ! अस्तिको हप्ता रिलिज भाको हलिवुड मुभी छ । मज्जाको लभ स्टोरी।” साथीले कार्ड होल्डरमा मेमोरी कोच्दै भन्यो ।
“ह्या यो मायापिरती रोनाधोना भाको लभ स्टोरी कस्ले हेर्छ यार । कुनै एक्सन मुभी छैन गोला, बारुद, बन्दुक, तरबारबाजी भएको । तेस्तो पो हेर्न मज्जा आउँछ त।” उसले बडो जोशिलो पारामा भन्यो।
यतिखेर साथीको पसलको कम्प्युटर स्कृनमा हिजो लेखिएको उसकै हत्या हिंसा बिरोधी स्टाटस मुस्कुराइरहेको थियो।
(लमजुङ)