नयाँ पेशामा आबद्घ भएपछि
नयाँ पद्घतिको ज्ञान पाएपछि
मभित्रका कुण्ठाहरू
मभित्रका चाहनाहरू
अचम्मले फेरिएकाछन्
रातारात ।
कति सहनु श्रीमतीको ‘सपिङ’को इच्छा पूरा गर्न नसक्नुको पीडा
कति पैदल हिँड्नु साथी कार चढेको बाटो
कति चलाउनु तिनै एन्ड्रोइड फोनहरू
आइफोनको जमानालाई कति लत्याउनु
दिनभरिको थकानपछि
कति त्यही ठर्रा पिएर काम चलाउनु
कति नकार्नु ती ‘कुन्नि के ?’ लेबेलहरूलाई
नयाँ पेशा फेरिएसँगै
अचम्मले फेरिएको छ
मेरो दैनिकी ।
अरूको खटनमा काम गर्ने
तीस दिनपछि ‘तँनखा’ थाप्ने
मेरो पुरानो पेशा
जहाँ तलब छ तर पैसा छैन
शान छ तर मान छैन
शक्ति छ तर सामथ्र्य छैन,
बिचरो मेरो पुरानो पेशा
एकलाई एक नै भन्नु पर्ने
एक दिन तलब खाएर महिना दिन काम गर्नु पर्ने,
नयाँ पेशामा आएसँगै
पुरानो पेशाप्रतिका मेरा सोचहरू
फेरिएका छन्
यति धेरै ।
पुरानो पेशाको शुरुआतसँगै
मेरो शब्दकोशमा थपिएका थिए दुई शब्द
‘हस् र हजुर !’
आमाले काम अह्राउँदा
हस् भन्न नजानेको
बिचरो म !
हस्मा मात्र कहाँ अडिएँ र ?
हजुर पनि जोड्न जानेँ
नयाँ सिकाइ र परिपक्वताका लागि
धन्यवाद मेरो पुरानो पेशा !
पुरानो पेशामा मैले काममात्र ख्याल गरेँ
बिर्सिएँछु प्रतिशतको हिसाब
तर्कशास्त्र र हुल्लडबाजी झनै भुलेँछु भुसुक्कै
नयाँ पेशामा छिरेपछि
कमिशनको हिसाबमा
गुण्डागर्दीको सूत्र प्रयोग गर्न
कति गाह्रो भएको थियो शुरुशुरुमा
तर अभ्यास न हो
सङ्गत न हो
सिकियो यी सबै प्रकृयाका कुरा
हस् र हजुर पनि कहाँ चाहिँदो रहेछ र सबै ठाउँमा ?
जानियो शब्द प्रयोगको सही ठाउँ ।
तर,
प्रतिशतको हिसाबले
कमिशन र कनेक्शनले
कहाँ मिल्दोरहेछ र शान्ति ?
मन अझै बेचैन छ
भाग्न खोज्छ आफन्तहरूबाट
रम्न खोज्छ अचिनारुहरूसित
हिजोका आफन्तहरू देखिइरहन्छन् उही धरातलमा
फेरिनु प¥यो नि मेरो धरातलजस्तै
अनि
एक्कासी आउँछ मनमा
पुगेकै थियो खानलाउन
पुगेकै थियो जीवन धान्न
आफन्तलाई दुत्कारेर यो महल र वैभव दिने
मेरो अशान्त नयाँ पेशाभन्दा
मेरो स्वाभिमानी पुरानो पेशा नै पो ठिक थियो कि !
ती निन्द्रायुक्त रातहरू ?!
(उदयपुर)