मणिप्रसाद अर्याल २०२८ भरतपुर चितवनमा जन्मिएका हुन् । पिता पुरुषोत्तम र माता हेमकुमारीका छोरा मणिप्रसाद अर्याल साहित्यमा मणि रत्नका नामले परिचित छन् ।
यसअघि प्रकाशित यिनका फुटकर रचनाहरूले मणिको साहित्यिक व्यक्तित्व केकस्तो हो भनेर चिन्न उनीसँग परिचित भावकहरू सक्षम पनि छन् ।
हालको बसाई बाँकेको खजुराभन्दा अगाडि मानखोलातिर रहेका मणिको व्यावसायिक सम्बन्ध चितवनमा रहेकाले उनको नेपालगन्ज चितवन आउजाउ बढी नै हुने गर्छ । उनी व्यस्त जीवनबाट केही समय निकालेर साहित्यका गीत, कविता, निबन्ध, समीक्षा आदि लेख्न भ्याउँछन् । प्रलेसमा रही कलम चलाउने मणि रत्न संस्थागत हिसाबले प्रलेस बाँकेका अध्यक्ष भइसकेका व्यक्तित्व हुन् । उनी हाल प्रलेस केन्द्रीय समितिका सदस्य पनि हुन् । यसैगरी यिनी जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य र भेरी साहित्य समाजका महासचिव समेतको जिम्मेवारी पूरा गरेका छन् ।
क्रान्तिकारी राजनीतिक आस्था र पृष्ठभूमिका सर्जकबाट अपेक्षा गरिने क्रान्तिकारी आग्रह र चेतका साथै प्रणयका गीतहरू बजारमा ल्याएर जीवनलाई आह्लादित गराउन प्रयत्न गर्ने मणि रत्नका गीत हृदस्पर्शी र सुललित किसिमका छन् ।
पुस्तकाकार रूपमा मणि रत्नको पहिलो कृति कुटी निबन्ध सङ्ग्रह २०७७ भदौमा प्रकाशित भएको छ । यस लेखमा ‘कुटी’मा भेटिएका मणि रत्नलाई देखाउँदै समीक्षात्मक टिप्पणी गरिएको छ ।
कुटी निबन्ध सङ्ग्रहलाई युरेका पब्लिकेसनले बजारमा ल्याएको हो ।
निबन्धकारले भावुक मन्तव्य सहित पुस्तक आफूजस्तै भोकाप्यासा, अहोरात्र कुटीमा बसेर पनि सुन्दर भविष्यको कल्पनामा रमाएका मानिसहरू र आफ्ना बाआमा अनि परिवारजनका नाममा समर्पण गरेका छन् । प्रकाशकीय मन्तब्यमा युरेका परिवारका तर्फबाट कुटी समसामयिक मानव जीवनका दैनन्दिन भोगाइ, जीवनचेतना र समाजको वास्तविकताको प्रतिबिम्ब हो ।
ऋषि आश्रमको झल्को दिने यस कृतिले मानव सभ्यताको प्राचीन कालखण्डलाई पनि सङ्केत गर्दै त्यहाँको वातावरणसँग नजिक हुन आह्वान गरेको उल्लेख पाइन्छ । आफ्नो कुटीको जन्म सन्दर्भबारे उल्लेख गर्दै अर्यालले आत्मानन्दका लागि यो लेखेको बताएका छन् ।
कुटीभित्रका निबन्ध मणिका निजी भोगाइ ज्यादा हुन् तर यसको दायरा यतिमा मात्र सीमित नभई विस्तार हुँदै सार्वजनिकता र सार्वकालिकता उन्मुख भएको हामी पाउँछौँ । आधुनिक निबन्धका जन्मदाता मोन्तेन भन्छन् मेरा निबन्धको विषय म नै हुँ । किनकि मैले मलाई जति धेरै जानेको छु त्यति अरू विषय जानेको छैन । अर्कातिर महान् दार्शनिक तथा साहित्य चिन्तक क्रोचेले आत्माभिव्यञ्जना नै साहित्य हो भनेका छन् । यी दुई मान्यताको सिर्जनात्मक उपयोग गर्ने प्रयास मणिको कुटीमा पाइन्छ स्वभाविक किसिमले । जम्मा एघारवटा निबन्ध समाविष्ट यस सङ्ग्रहका निबन्धको मूल भावभूमि मणि रत्न स्वयं भएपनि यसका विषयवस्तुमा विविधता पाइन्छ नै ।
‘गुरु भेट’शीर्षकको पहिलो निबन्धमा रत्नले आफ्नो स्कुले जीवन, शिक्षकप्रतिको आस्था, परम्परित शिक्षा व्यवस्थामf शिक्षकको सर्वेसर्वा, कलिला बालबालिकालाई दिइने यातना र त्यसको नकारात्मक असर, अहिलेको उदार शिक्षानीतिले ल्याएको अराजकता र अनुशासनहीनता जस्ता विषयलाई सरल तर गम्भीर किसिमले उठाएका छन् । मधुशाला निबन्धमा दोहोरी साँझका नाममा हुने रसरङ्ग र रङ्गीन दुनियाँका आभ्यन्तर रोचक विषयहरूलाई खोतल्ने काम भएको देखिन्छ । साहित्यकारका आनीबानी र जीवनशैलीप्रति पनि यसमा सङ्केत गरिएको छ ।
मेरो गाउँ निबन्धमा गाउँको स्वभाविक प्राकृतिक सौन्दर्य नष्ट भई मूल्य क्षय हुँदै गएको र पित पत्रकारिताका नकारात्मक असरहरूलाई देखाइएको छ । यसबाट मणि रत्नको प्राकृतिक ग्रामीण सौन्दर्यप्रति अगाध आस्था अभिव्यञ्जित भएको छ । यस सङ्ग्रहको शीर्ष निबन्ध‘कुटी’मा सानै झुपडी भएपनि आफ्नो कुटीमा मिल्ने आनन्द, आत्मीयता र स्वर्गीय सुखको मुक्त किसिमले प्रशंसा अनिवर्णन गरिएको छ । यस निबन्धमा भौतिक सुख, सुविधा र कृत्रिमताले गाँज्दा जीवन निरस र मूल्यहीन बन्दै गइरहेकोप्रति चिन्ता प्रकट गरिएको छ । गरिबी र अभावमा सङ्घर्ष गर्दै अगाडि बढेको जीवन सहरिया वातावरणमा मिसिन बाध्य भएपनि आफ्नो ‘स्व’ कुटीमै पाउने विचारले मणिलाई स्पष्ट रूपमा प्रगतिवादी कित्तामा उभ्याइदिएको छ ।
‘रिस’ निबन्धमा मानसिक आवेगका रूपमा रहने रिसले आफूलाई खाने र बुद्धिले अरूलाई नै हानी गर्ने लोकोक्तिको पुष्ट्याइँ दिन खोजिएको पाइन्छ । मणिका अरू निबन्ध पनि जीवन भोगाइकै विषयका रूपमा प्रस्तुत भएका छन् । आफै भुक्तमान भई प्रस्तुत गरेका यिनका निबन्ध निजात्मक निबन्ध नै हुन् । केही निबन्ध संस्मरणमूलक बनेका छन् । मणिका निबन्धमा पात्र र घटनाको क्रमिक वर्णनले कतैकतै आख्यानात्मकता ग्रहण गरी कथात्मक रूपमा ढल्किएको पाइन्छ । ठाउँठाउँमा छोटा मिठा संवादहरू पनि पाइनाले भाषिक सौन्दर्यमा वृद्धि भएको छ ।
यसरी हेर्दा मणिका निबन्ध मूलतः आत्मानन्दको उद्देश्यले लेखिएका भएपनि अन्य सबै व्यक्ति र समाजलाई पनि यिनले नैतिक सामाजिक मूल्यबोध गर्न मद्दत गर्दछन् । भावकले यी निबन्धलाई कतै आफ्नै जीवनसँग मेल खाएइको पाउँछन् र मख्ख पर्दछन् ।
कुटीका निबन्ध आफ्नै जीवनका पृष्ठहरूलाई पल्टाएर हेर्न, विगतका मिठा अनुभूतिहरूमा डुबुल्की मारी हराउन सबैका लागि उपयोगी हुन सक्दछन् ।
निबन्धमा प्रयुक्त भाषा निकै रसिलो र कसिलो रहेको छ । परिष्कार सचेत शिष्ट भाषा र रोचक शैलीकाकारण पठनमा छुट्टै स्वाद यस सङ्ग्रहका निबन्धमा पाउन सकिन्छ । विषयको वर्णनमा कहीँ आवृत्ति पाइनु निबन्धको सीमा मान्न सकिन्छ । आरम्भिक रचनामा पाइने स्वभाविक दोष सचेत पाठकले छुट्याउन सक्दछन् । तर समग्रमा यस सङ्ग्रहका निबन्ध पठनीय र मननीय नै रहेकोमा भने पाठक ढुक्क हुनसक्ने ठाउँ रहेको छ ।
(लेखक रिजाल मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक र पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका सचिव हुन्)