टण्टलापुर घामले हर्याकहर्याक पारिरहेका बेला उकालोको फेदीमै निकै ठूलो खाने पानीको ट्याङ्की देखियो ।
चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तिनहजार गाग्री पानी अटाउँने सिमेण्टको पक्की पानी ट्याङ्कीमा जोरजोरै धारा हालिएका त थिए तर धाराका टुटीमा भने साँचो लगाएर पानी खोल्न नमिल्ने बनाइएको रहेछ ।
टुटीभन्दा निकैमाथि ट्याङ्कीकै भित्तामा रातो इनामेलले लेखिएको थियो, ‘हातेमालो खानेपानी उपभोक्ता महिला समूह । मर्मतसम्भार समिति, बलम्बु ।’
नियम
१) सम्पूर्ण सदस्यले धारा सफा राखौँ ।
२) धारामा नुहाउँने, लुगा धुने, भाँडा माझ्ने काम नगरौँ ।
३) पानी लानेजति सबै सदस्य बनौँ ।
४) धारा खोल्ने समयः बिहान ५ देखि ९ बजेसम्म, बेलुका ४ देखि ७ बजेसम्म ।
निकैबेर उकालो चढेर अलि कुनो र खोल्सी परेको ठाउँमा भाग्यले फेरि धारो भेटियो र धारामा एउटी बुद्धा कोकाकोलाका खाली जम्बोपेट बोतलमा पानी भरिरहेकी भेटिइन् ।
पानीको आशाले छेउमा गएर बृद्धा सम्बोधन गर्दैं भनेँ, ‘आमै ! पानी खान पाइन्छ कि ?’
मेरो स्वर सुनेर उनले पुलुक्क हेरिन् मतिर अनि मुसुक्क हाँसेर भनिन्, ‘पाइन्छ, किन नपाउँनु पानी खानकै लागि त हालेकी हुँ नि मैले यो धारो ।’
दुई हातलाई अँजुली पारेर धित मरुन्जेल पानी खाइसकेपछि धाराको छेवैमा बसेर सोधे, ‘तपाईको घर चैँ कता छ नि आमै ?’
बुढियाले हातले यसो उभोतिर देखाइन् र भनिन्, ‘यही दुइ कान्लामाथि पर्छ ।’
‘अनि धारो त यति तल बाटामै राख्नु भएछ त ।’ मैले जिज्ञासा राखेँ ।
‘बटुवाले पनि पानी खाउँन्, कान्लामाथि धारो बनाउँने हो भने बाटो हिड्नेले घर त देख्तैनन् धारो कसरी देख्लान भनेर नि बाबु ।’ उनले बाटैमा धारो बनाउँनुको कारण खोलिन् र थपिन्, ‘तर के गर्नु र म एक्ली आइमाइसँग ठूलो ट्याङ्की बनाउँने पैसा नभएकोले तिन गाग्री पानी अट्नेमात्र बनाउँन सकेँ, यही भए पनि धापिएर आएको बेला घाँटी त भिजाउँन पाउँछन् भनेर घरमा नलगी बाटैमा धारो छोडिदिएकी छु ।’
फेरि त्यही बाटो भएर फेदी झर्दा उही धाराका टुटीमा साँचो लगाइएको पानी ट्याङ्कीका पर्खाललाई आधार बनाएर एउटी महिला तरकारीको भारी मिलाउँदै गरेकी भेटिइन् । अनि मैले उनका छेउमा गएर सोधेँ, ‘बैनी यो के गाउँ हो ?’
‘खत्री गाउँ ।’ उनले संक्षिप्त उत्तर दिइन् ।
‘अनि यहाँ त पानीको धारा बनाएर पनि चाँबी लगाएर राखिएको रहेछ त, पानी नभएरै हो कि किन होला ?’ मैले कुरा खोतलेँ ।
‘किन नहुनु पानी ? छ नि Û तर बाटो हिँड्ने खोलेको खोल्यै गर्छन् र पानी पुग्दैन भनेर बन्द गरेको नि ।’ उनले जरक्क परेर उत्तर दिइन् ।
‘अलि माथि खोल्साको धारो चैँ कस्को रहेछ नि ! त्यो धारो चैँ खुलै हुँदोरहेछ त !’ मैले जिज्ञासा राखेँ ।
‘सर्किनीको, क्षेत्री बाहुनले पानी खाइदिउन् भनेर खुलै राखेकी ।’ उनको उत्तर थियो ।