तिम्रो प्यारको उपहासले
एक्लिएको जीर्ण देह लिएर
आइपुगेकी छु तिम्रो अदालतसामु
मलाई न्याय देऊ बुद्ध !
पौडेर आफ्नै आँसुको पोखरी
छिचोलेर छातीको आगाको लप्का
पिएकी थिएँ
युगौँयुग पुरानो सामाजिक बिष
त्यही विषले तड्पिँदै
अधीर आँधी आएकी छु
तिम्रो ध्यानास्थलमा
मलाई ज्ञान देऊ बुद्ध !
तिमीले दरवार छाड्नु ठीक अघि
हाम्रो प्रेम अवतरित हुँदै थियो यो धर्तीमा
म पोडिँदै, उत्रिँदै थिएँ रगतको आहालमा
मर्दै, बाँच्दै थिएँ प्रसूती व्यथामा
तिमी दरबारको पल्लो खोपीबाट
यात्रा तय गर्दै थियो
त्यतिबेलै सुनेको हुनुपर्छ तिमीले
नवजात रुवाइ
जो तिम्रै स्नेहको भोको थियो
यी सबैसँग बेपर्वाह तिमीलाई
नहल्लाएकै हुँ विदाइको हात
छोपिदिएकै हुँ शिशुको अनुहार
र, निदाएझैँ गरेकै हुँ
तिम्रो बहिर्गमनमा,
जो प्रेम लत्याएर प्रेम खोज्न हिँडोस्
जो ज्ञान लत्याएर ज्ञान खोज्न हिँडोस्
जो सत्य लत्याएर सत्य खोज्न हिँडोस्
अन्याय गरेकै हुँ जानीजानी
मलाई सत्य देऊ बुध्द !
दु:खका कारण छन् भन्यौ
दु:ख निवारण गर्ने उपाय बुझायौ
दुनियाँलाई शान्तिको मार्ग चिनायौ
आज त्यही दुनियाँले भन्ने गरेको
तिम्रा स्निग्ध, सुन्दर शान्त आँखा अगाडि
निःशर्त उभिएर माग्दै छु
मलाई शान्ति देऊ बुद्ध !
कुल्चिएर यौवनका रहरहरू
जीवन पढ्ने भएकी छु
सल्किएर वियोगका पलबाट
तिरस्कार बुझ्ने भएकी छु
तिम्रो सत्-ज्ञानको बाटो हुँदै
युगौँपछि
आइपुगेकी छु तिम्रै ज्ञानशालामा
मलाई प्रेम देऊ बुद्ध !
प्रिय बुध्द !
सक्छौ भने देऊ मलाई
कि तिम्री यशोधरासँग
न्याय, ज्ञान, सत्य, शान्ति र प्रेम
छैन भन्ने प्रमाण !!