‘मन्त्रीजी मेरो त साह्रै बिजोग भो, लौन केही सहयोग गर्नुप¥यो । खान नपाएको तीन दिन भो, घरमा जहानपरिवार साह्रै बिजोगले दिन काटिरहेका छन ।’ मन्त्रीको गाउँको छिमेकी भिखारी एकाबिहानै मन्त्रीकहाँ पुगेर आफ्नो समस्या दर्शाउँछ ।
‘हैन हामी मन्त्री भएको के तिमीहरूको मात्र काम गर्न हो र ! आफ्नो काम गर्नु पर्दैन ?’ मन्त्रीजी आफ्नो अगाडि उभिएको भिखारीलाई सम्झाउँदै भन्छन्, ‘हैन यो कुरा तिमीहरूलाई विगतदेखि नै अवगत हुनुपर्ने हैन र !’
मन्त्रीको कुरा सुनेर भिखारीलाई अचम्म लाग्यो ।
‘कस्तो मन्त्री होला ? हिजो त गरीबगुरुवाको सेवा गर्छु भन्थ्यो आज यसो पो भन्दैछ ।’ उसले मनमनै यस्तै सोच्दै भन्यो, ‘मन्त्रीजी हजुरले गरेको विकासे खाल्डोमा जाकिएर हिजोको धनिकलाल आज भिखारीलाल भएको छ । तपाई बरु भिखारीबाट मन्त्री महोदय बनिसक्नुभयो ।’
मन्त्रीजी अक्क न बक्क भएर भिखारीको मुख तिर हेरेको हे¥यै भए । बैठकमा जान हतारिएर मयलपोसमा सजिएका मन्त्रीजी भिखारीले हात पसारेको देखेर आदर्शवादी भाषण दिन थालेका थिए । तर मन्त्रीको कुरालाई भिखारीले काट्यो । भिखारीले फेरी भन्यो, ‘नेपाल सरकारको काम नै अहिले सबैतिर खाल्डो खनेर जनतालाई धराप थाप्ने भएको छ । आफूहरू सबैतिरबाट भरिएर फुलेका छन, फलेका छन । हिजो खान नपाएर हरितन्नम भएकाहरू समेत मोटाएर हृष्टपुष्ट भएका छन् । हामी जनता रछ्यानमा मिल्काइएका छौँ । हाम्रो आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक परिवर्तन र विकासका लागि भन्दै दैलोमा फलाकेर मत माग्यौ । अहिले आएर हामै्र निम्ति खाल्डो खन्ने शाहस गर्ने !’
मन्त्रीजी निरुत्तर भए । भिखारीले खाल्डोको इतिहास सुनायो । भित्रबाट सुरक्षा गार्ड आएर भिखारीलाई घोक््रयाउँदै गेटबाहिर पठायो । मन्त्रीजी झण्डावाल गाडी चढेर बैठकमा गए । बिचरा भिखारी भोको पेट नाङ्गो आङ लिएर केही आशा र भरोसाका साथ मन्त्री निवास पुगेको थियो आफ्नै छिमेकी मन्त्री भएको नाताले ।
रुन्चे अनुहार लाएर बिचरा भिखारी त्यहाँबाट रन्थनिएर पुलिसकहाँ गयो र आफ्नो वेदना सुनायो । पुलिसले कुरा सुन्यो तर केही जवाफ दिएन तर केही खान दियो । ऊ त्यहाँबाट पनि हिँड्यो । दिनभरी राजधानीका विभिन्न गल्लीहरूमा भौँतारियो र केही नगद तथा जिन्सी जम्मा ग¥यो । सडकको पेटीमा बसेर नगद गन्यो र जिन्सीमध्ये केही खानेकुरा भएकोले पोको पारेर राख्यो । केही जिन्सी पसलमा लगेर बिक्री गरेर नगद बनायो । भनौँ उसले दिनभरिमा करिव पन्द्र दिनका लागि खाने जोहो गरेको थियो ।
दिनभरिको कमाइको हिसाब गरेर भिखारी बास बस्नका लागि कुनै मन्दिरतिर जाँदै थियो । पछाडिबाट मन्त्रीजीको गाडी आयो र ठक्कर दियो । मन्त्रीजीले सुरक्षा गार्डलाई को रहेछ हेर भने । तर सुरक्षा गार्ड घाइतेलाई हेर्न जाँदा त्यही भिखारी थियो । ऊ यतिखेर यस संसारबाट सदाका लागि विदा भैसकेको थियो ।