लिमी
अनकण्टार भूगोलको
काप कापमा च्यापिएको मानवता
भग्न नग्न परिवेश छ
भुगोलको पत्रदल र पुकेशरमा फुलेको छ
हिउँ
निलगगनलाई छुने अलिशान खाङवाहरु
हिमाल चुम्न लालायित चाङवाहरु
खण्डित भावनालाई सँगालेर
सदियौँदेखि प्रतीक्षारत छ
ल्हेम्हे अर्थात लिमी ।
हिमरेखाको समानान्तरमा उभिएका
हयूलहरु
जाङ
हल्जी
तील
टाक1 टाकहरुमा कोपेर
इतिहासका पानाहरु सँगालेर
शिलापत्रमा जीवित छ ।
ॐ माने पेने हुँसाका घ्वनि तरङ्गित
बाटो दोवाटो चौवाटो र विसौनीहरुमा
कार्बु2, मार्बु3, जाङसेर्बु4 र सेर्बु5का छाँयाहरु
रक्षास्तम्भ
काङनी गुम्बा6को
गाउँगाउँका अगाडि
भोजपत्रका पत्रदल झैँ
उन्मादित आशाका लहर छन्
प्रकम्पित पीडाका कहर छन
प्रफुस्टित यौवनका लहर छन
र त
हिउँ
सजीव मानवताको रिन्पोच्छे उभिएको छ ।
प्रत्येक युग युगमा जन्मने
रिन्छने जाङ पोका धड्कनहरु
रिन्छेलिन गुम्बा बन्छ
त्यसैले
टाक्कार्बु7
च्याफुक8
सेफुकुना9
एक एक स्मृतिका दस्तावेज हुन्
जहाँ
विगत आगतमा पनि
हिउँको प्रतिस्थापित उपमा निङ–च्छो
निरन्तर वगिरहेको छ निरन्तर
ङयालु लाग्ना10मा टाँगेर तोरण ।
प्रीतात्माको रैबार11 खोज्दै
पुङदाङमा12को महिमा छ
प्रत्येक व्यतिसँग ताको नाता छ
प्रत्येक समस्यासँग लाको खाता छ
प्रत्येक संस्कारसँग अनुभवको गाथा छ
प्रत्येक धड्कनसँग व्थथाको कथा छ
उफ ! निन्जे13 निन्जे अर्थात विचरा लिमी
चिरु14 र फुरु15को कुरुमा रुमलिएको
आकास र पाताल खोज्दैछ लिमी
तराजुको सन्तुलन नमिलेको झैं
तर
न त ढुङगो टुसाउँछ
न त उन्यु फुल्छ
न त सर्प बोल्छ ।
लिमी अविचल छ
लिमी गतीशील छ
लिमी यात्रारत छ ।
स्थानीय हुम्ली शब्दा सम्पदाको अर्थ
१. टाक्-ढुंगा
२. कार्बु-सेतो
३. मार्बु-रातो
४. जाङसेर्बु-हरियो
५. सेर्बु-पहेँलो
५. काङनीगुम्बा-ढोके गुम्बा
७. टाक्कार्बु-सेतो ढुंगा
८. च्याफुक-ढुंगेगुफा
९. सेफुकुना-खण्डहरगाउँ
१०. ङयालुलाग्ना-हुम्लाको सबभन्दा अग्लो हिमाल
११. रैबार-खबर, समाचार
१२. पुङदाङमा-कुमारी आमाकोे घर
१३. निन्जे-विचरा
१४. चिरु वनबाख्राको रौं वा ऊन
१५. फुरु बाठको महंगो बटुको