तेजविलासको जन्म वि.सं. २०३२ साउन २ गते आमा उमा अधिकारी र बुबा मधुविलास अधिकारीबाट इच्छाकामना ३, चितवनमा भएको हो । नेपालीमा एमफिलसम्मको औपचारिक अध्ययन गरेका अधिकारी हाल नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा प्राध्यापन कार्यमा संलग्न छन् । साहित्य सिर्जनासँगै प्राध्यापन, लेखन, सम्पादन, प्रशिक्षणजस्ता विविध क्षेत्रमा संलग्न भई सामाजिक, साहित्यिक, शैक्षिक तथा प्रगतिशील लेखन कार्यमा पनि संलग्न हुँदै आएका छन् ।
लेखन तथा सम्पादनमा बढी सक्रिय अधिकारी कवि, निबन्धकार र समालोचक हुन् । उनका एक दर्जन जति पुस्तक प्रकाशित भएका छन् ।
हालसम्म उनका प्रकाशित कृतिहरूमा गजल पथका यात्रीहरू (संयुक्त गजलसङ्ग्रह, २०६१), गजल बिम्ब (संयुक्त गजलसङ्ग्रह, २०६३), समीक्षा सन्दर्भ (समालोचना, २०६५), अस्तित्वको खोजी (कथासङ्ग्रह सम्पादन, २०६६), राम्रो निबन्ध लेखन (२०६७), समय सन्दर्भ (समालोचना, २०७०), समालोचनाका आँखामा हरिहरखनाल (सम्पादन, २०७०), उच्छवास (हाइकुसङ्ग्रह, २०७२), सिर्जना वैशिष्ट्यमा अनिल श्रेष्ठ (सम्पादन, २०७४), वाङ्मयसेवी छायादत्त (सम्पादन, २०७५), उद्वेग (हाइकुसङ्ग्रह, २०७५) र उच्छलन (हाइकुसङ्ग्रह, २०७६) रहेका छन् ।
यी बाहेक उनका फुटकर कविताहरू पत्रपत्रिका र अनुहार पुस्तिकामा प्रकाशित भइरहेका छन् । उच्छवास (हाइकुसङ्ग्रह, २०७२) प्रकाशित गरी हाइकुमा उदाएका अधिकारीका तीन हाइकुसङ्ग्रह रहेका छन् । पछिल्लोे चरणमा २०७६ चैत्रमा प्रकाशित उच्छलन (हाइकुसङ्ग्रह, २०७६) उर्लिएर पाठकलाई तरङ्गित बनाउँदै बाहिर आएको छ ।
तेजविलास अधिकारीका हाइकु तीक्ष्ण रूपले उज्यालो चमक छर्दै सामाजिक, आर्थिक, राजनीतिक, लैङ्गिक, प्रशासनिक, मानवतावादी, प्रगतिवादी चिन्तनका विषयवस्तु अटेसमटेस भएर बाहिर आएका छन् । थोरैमा धेरै अटाउन सक्ने क्षमता भएका अधिकारीले हाइकुमार्फत् आफ्ना विचार बाहिर ल्याउनु उनको हाइकुप्रतिको विशिष्ट पहिचान हो ।
उनका हाइकुमा सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्नु, सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुलाई आत्मसाथ गर्नु, सामन्ती शासनशैलीप्रति विद्रोहात्मक चेत प्रवाह गर्नु, लैङ्गिक हिंसाप्रति विरोध जनाउनु, मानवतावादी चिन्तनलाई आत्मसाथ गर्नु, प्रशासनिक दुश्चरित्रता छताछुल्ल रूपमा देखाउनु, देशप्रतिको ममता अभिव्यक्त हुनु, प्रकृति र मानवको चित्रण गर्नु, पुरस्कार, मानपद्वी, धर्मदर्शन र सामाजिक संस्कारमा भएको विचलनलाई बाहिर ल्याउनु, व्यक्तिवादी चरित्र, नातावाद, चाप्लुसी प्रवृत्तिको भण्डाफोर गर्नु र न्यायक्षेत्र पनि शासनप्रणलीबाट अछुतो रहन नसक्नु जस्ता विशेषताहरू रहेका छन् ।
पाँच–सात–पाँचको आयामगत संरचनामा संरचित उनका हाइकुमा उच्च भाव, प्रकृतिसम्बन्धी जीवनदर्शन, आलङ्कारिक रसास्वादनयुक्त भाषा, मानवतावाद, प्रकृतिचित्रण, राष्ट्र र राष्ट्रियता, व्यङ्ग्यात्मकता, सामाजिक विषय, मानवतावादी सोचले अधिकारीका हाइकु बढी तेजिला र गर्भिला बनेका छन् ।
२. सैद्धान्तिक पर्याधार
साहित्यका विविध विधामध्ये कविताकाव्यको छोटो स्वरूप अर्थात् सानो कविता हाइकु हो । प्राकृतिक किगोको बिम्बात्मक प्रयोग गरी लेखिने हाइकु सानो साहित्यिक स्वरूप भए पनि यसबाट संसार देख्न सकिन्छ । हाइकु एक महाकाव्य नै हो ।
शास्त्रीय संरचनामा हाइकु पाँच–सात–पाँचको संरचनामा तीन हरफमा रहन्छ । पहिलो पाँच अक्षरयुक्त पदावलीले अर्थयुक्त सन्तेश प्रवाह गर्छ भने दोस्रो हरफ सात अक्षरयुक्त पदावली र तेस्रो हरफ पाँच अक्षरयुक्त पदावलीमा संरचित हुन्छ । जसको अर्थ व्यापक रूपमा रहन्छ ।
सबैभन्दा छोटा कविता लेखनशैली मानिने हाइकु सुन्दर बिम्बात्मक र स्वादिलो हुन्छ । ऋतुबोधक शब्दचयनमा संरचित हाइकुमा व्यङ्ग्य सशक्त बनेर आएको हुन्छ । प्राकृतिक, सांस्कृतिक वस्तुघटना दृश्यबाट बिम्ब टिपेर जीवनसँग जोड्दा हाइकु हाइकु बन्न जान्छ ।
हाइकु कविताकाव्यको लघु रूप भए पनि यसमा प्रस्तुत हुने भाव, संरचना वा तŒवका हिसाबले आफैमा पूर्ण हुन्छ । हाइकुलाई विश्लेषण गर्ने धेरै आधार हुन्छन् । कविताकै स्वरू रहेकाले हाकुलाई पनि कवितात्मक तŒवका आधारमा पनि विश्लेषण गर्न सकिन्छ तर हाइकु कविताभन्दा भिन्न छ । हाइकुलाई विश्लेषण गर्ने विविध पक्षमध्ये यस लेखनीमा भने संरचना, भाव, लैङ्गिक हिँसा, राजनैतिक तथा आर्थिक अवस्था, प्राकृतिक चित्रण, सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य, देशप्रेमको भाव र प्रगतिशीलताका आधारमा उच्छलन हाइकुसङ्ग्रहको अध्ययन गरिएको छ ।
३.उच्छलन हाइकुसङ्ग्रहको विश्लेषण
तेजविलास अधिकारीद्वारा रचित उच्छलन हाइकुसङ्ग्रह २०७६ चैत्रमा प्रकाशित कृति हो । साना विषय र रचनाबाट पनि पाठकसँग संवाद गर्न सकिने विश्वास राख्ने अधिकारीले यस सङ्ग्रहमा समाजमा घटेका राजनैतिक, आर्थिक, सामाजिक, लैङ्गिक, राष्ट्रप्रतिको मोह, र मानवीय चिन्तनको पक्षलाई सशक्त ढङ्गले उठाएका छन् । यस उच्छलन हाइकुसङ्ग्रहमा जम्मा १६८ वटा हाइकु समावेश गरिएको छ । समावेश गरिएका हाइकुमा भाव, राजनीतिक तथा आर्थिक अवस्था, लैङ्गिकता, प्राकृतिकचित्रण, राष्ट्रियता, व्यङ्ग्य र प्रगतिशील पक्षको अध्ययन गर्दै हाइकुमार्फत प्रदान गरिएको समग्र भावलाई विश्लेषण गरिएको छ ।
३.१ संरचना
विश्वसाहित्यमा जल्दोबल्दो रूपमा रहेको हाइकु कविताको आफ्नै संरचना रहेको छ । शास्त्रीय संरचना र फर्मुला लेखनमा संरचति हाइकु आफैमा पूर्ण छ । यसको शास्त्रीय संरचना पाँच–सात–पाँचमा रहेको हुन्छ । सत्र अक्षरको तीन हरफमा हाइकु आबद्ध हुन्छ । तीन हरफमध्ये पहिलो हरफ पाँच अक्षरयुक्त पदावलीमा संरचित हुन्छ । दोस्रो हरफमा सात अक्षरयुक्त पदावलीमा संरचित हुन्छ भने तेस्रो हरफमा पाँच अक्षरयुक्त पदावलीमा संरचित हुन्छ । हाइकु सत्र अक्षरको तीन हरफे छोटो शैलीको कविता हो । संरचनात्मक हिसाबले हेर्दा तेजविलासका प्रायः हाइकु उपयुक्त रहेका छन् ।
पर्यटनमा
यो पचपन्न झ्याले
यही प्रमाण (पृः१)
प्रस्तुत हाइकुमा पाँच अक्षर एउटै शब्दमा आबद्ध छन् । जसले पर्यटन क्षेत्रलाई सङ्केत गरेको छ । दोस्रो हरफमा सात अक्षर तीन डिकोमा संरचित भएका छन् । जसले इतिहास बोकेको पचपन्न झ्याले दरबारको सङ्केत गरेको छ भने तेस्रो हरफमा रहेका पाँच अक्षर दुई शब्दमा संरचित छन् जसले सिङ्गो प्रमाणलाई सङ्केत गरेको छ ।
भन्नु के पो खै
धोका दिनेहरू नै
बने सफल (पृः१०)
प्रस्तुत हाइकु पनि संरचनात्मक हिसाबले सबल रहेको छ । यसमा पहिलो पाँच अक्षर तीन डिकोमा संरचित छन् भने दोस्रो हरफका सात अक्षर पनि तीन डिको मै आबद्ध रहेका छन् । तेस्रो हरफमा रहेका पाँच अक्षर दुई शब्दमा संरचित रहेका छन् ।
भोको छु भोको
प्रजातन्त्र छैन लौ
पाए पो चुप । (पृः१६)
यस हाइकुको संरचनात्मक स्वरूप पनि उपयुक्त छ । यसमा रहेका सत्र अक्षर पाँच–सात–पाँचको संरचनामा आबद्ध रहेका छन् । यस हाइकुको पहिलो पाँच अक्षरको हरफमा तीन शब्दमा आबद्ध बनेको छ । दोस्रो हरफमा पनि तीन शब्दमा सात अक्षर रहेका छन् भने तेस्रो हरफमा दुई–एक–दुई गरी पाँच अक्षरको संरचनामा संरचित छन् । शास्त्रीय संरचनाका हिसाबले तेजविलासका हाइकु सफल रहेको देखिन्छ ।
गणतन्त्रमा
मेरो सरकार पो
खै जनबोली ! (पृः२२)
अधिकारीको उच्छलन सङ्ग्रहमा रहेका हाइकुहरू संरचनाका हिसाबले स्तरीय र सबल छन् । यस हाइकुमा पाँच–सात–पाँचको संरचना छ । सत्र अक्षरमा रहेको प्रस्तुत हाइकुमा पहिलो हरफ एक शब्दमा पाँच अक्षर छन् । दोस्रो हरफमा तीन शब्दमा सात अक्षर र तेस्रो हरफमा दुई डिकोमा पाँच अक्षर रहेका छन् । मूलतः शब्दमा होइन अक्षरका हिसाबले अनि त्यसको मर्म र सिङ्गो सार बोकेको अर्थतात्विक हिसाबमा संरचित हुने हुँदा अधिकारीका हाइकुमा पनि यो स्वरूप पाइन्छ ।
खै ! टुँडिखेल
अतिक्रमण कस्को
ए ! अक्तियार (पृः५६)
प्रस्तुत हाइकु पनि पाँच–सात–पाँच अक्षरको संरचनामा आबद्ध छ । सत्र अक्षरको यो हाइकु संरचनात्मक रूपले अन्य हाइकु जस्तै उचित र सार्थक रहेको छ ।
चपाऊ छिटो
यो देश खानेकुरा
बन महान (पृः१३)
संरचनात्मक हिसाबले प्रस्तुत हाइकुको पहिलो हरफ र दोस्रो हरफका पाँच–सात अक्षर पूर्ण रहेका छन् भने तेस्रो हरफमा महान (महान्) लेख्य रूपमा हुने हुनाले अक्षरका हिसाबले चार रहेको देखिन्छ । उनका हाइकुमा अरु शास्त्रीय रूपमा आबद्ध छन् तर यसमा अन्तिम हरफको एउटा अक्षरमा लेख्य रूपमा कमी रहेको देखिन्छ ।
३.२ भाव-विचार
हाइकुमा भाव पक्ष सबल र सशक्त रहन्छ । कलात्मक वा बिम्बका सहायताले अभिव्यक्त हुने हाइकु उच्च हुन्छन् । अधिकारीका हाइकुमा त्यसको छनक पाइन्छ । भाव÷विचारका हिसाबले हेर्दा उनका हाइकुमा प्रायः सामाजिक, आर्थिक, राजनीतिप्रतिको व्यङ्ग्य, भ्रष्टाचार, लैङ्गिकता, प्रकृतिको चित्रण, समाजका विकृति विसङ्गति, राष्ट्र र राष्ट्रियताको उच्च भाव, रोजगार, शासनसत्ताको दुरुपयोग तथा हाम्रा जनजीविकाका पक्षलाई प्रगतिशील चिन्तनद्वारा अभिव्यक्त गरिएको छ ।
देख्दै छु म त
आँधीपूर्वको शान्ति
कस्तो सन्नाटा (पृः१)
प्रस्तुत हाइकुमा हाइकुकार अधिकारीले देखेको राजनैतिक परिवर्तनलाई आत्मसाथ गरिएको छ । माक्र्सवादी चिन्तनमा आधारित प्रगतिशील सोचका अधिकारीले परम्परागत रूपमा रहेको मान्यतालाई परिवर्तन गरी अगाडि बढ्नुपर्ने सोच अभिव्यक्त गरेका छन् ।
आँधीपूर्वको शान्तिले के शान्ति रहन्छ ? यही कुरा हाइकुकारले यथास्थितिमा रहन नसक्ने कुरा व्यक्त गरेका छन् । समाज परिवर्तनका खातिर गर्नुपर्ने क्रान्तिको आभास यसमा रहेको छ । यस हाइकुले एउटा सिङ्गो समयलाई सङ्केत गरेको छ । यसमा यो एउटा शून्यताको अवस्था हो, क्रान्ति आउँदा परिवर्तनका खातिर सुनसान भई अघि बढ्छन् भन्ने भाव अभिव्यक्त छ । प्राकृतिक किगोको बिम्बका रूपमा आँधीपूर्वको शान्ति आएको छ ।
अदालत त
जनअदालत झैँ
भए पो न्याय (पृः४)
प्रस्तुत हाइकुमा हाइकुकारले न्याय प्रदान गर्ने अदालतको एउटा सिङ्गो तस्वीर उतारेका छन् । न्यायपालिकामा पर्ने स्वच्छ सफा अनि न्यायिक प्रणालीमा रहेको अदालत, अदालत मात्र होइन यो त जनअदालत हुनुपर्छ । जनताले प्रत्यक्ष न्याय पाउने अदालत पो जनअदालत हो । यहाँ त अदालत मै घुसखोरी, भष्टाचार, स्वार्थी प्रवृत्ति, ढीलासुस्ती, भनसुनवाद, नातावाद जस्ता वादले जकडिएर जनअदालत बन्न नसकेको व्यङ्ग्य भाव व्यक्त गरेका छन् । छोटोमा एक सिङ्गो पक्षलाई यस हाइकुमा समेटिएको अर्थपूर्ण सानो हाइकुमा न्यायको संसार अटाएको छ ।
नाङ्गिसकेँ म
तिमी लाज छ भन्छौ
कहाँ छ त खै ?(पृः१२)
प्रस्तुत हाइकु पनि भावका आधारमा उच्च छ । प्राकृतिक बिम्बका हिसाबले केही कसरमसर रहे पनि भाव वा सिङ्गो स्वरूप वरण गर्ने आधारमा उपयुक्त छन् । जनता र देश दिनदहाडै नाङ्गिएका छन् तर सरकार चलाउने र परिवर्तनकामी अवस्था देख्दा लाज भएको जनाउँछन् । त्यो लाज कतै नदेखिएको व्यङ्ग्य हाइकुमार्फत व्यक्त गरेका छन् ।
राष्ट्रपति जी
श्री ५ नै हुने भए
भो गणतन्त्र (पृः३१)
यस हाइकुमा हाइकुकारले राष्ट्रको प्रमुख राष्ट्रपति जी जनताको हुने । जनताकै सरोकारमा रहनुपर्ने हो तर श्री ५ भएर देखा परेकोमा कटाक्ष गरेका छन् । यदि श्री ५ कै स्वरूपमा रहने र उही सेवासत्कार, मानमर्यादा, आसेपासेको भरणपोषण, रातो कार्पेट बिछ्याउने भए त्यो गणतन्त्र गणतन्त्र होइन र चाहिँदैन भन्ने भाव अभिव्यक्त भएको छ ।
विदेश यात्रा
सुन्दर देश भन्ने
नारा छ प्यारो (पृः५३)
प्रस्तुत हाइकुमा स्वदेशमा रोजगारको सिर्जना नगरी विदेशकै भरमा जिउनका लागि विदेश यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था देखाएका छन् । सुन्दर रमणीय र प्राकृतिक छटाले भरिएको देश भन्दै नारा लगाएर मात्रै हुँदैन भन्ने कुरा व्यक्त गरेका छन् । सुन्दर देश प्यारो भए रोजगारको व्यवस्था गरी स्वदेशमै कर्म गर्ने अवस्था सिर्जना गरी आर्थिक उन्नति गनुपर्ने सन्देश व्यक्त गरेका छन् ।
३.३ राजनीतिक तथा आर्थिक अवस्था
साहित्यका हरेक विधामा राजनीतिक तथा आर्थिक अवस्थाको उद्घाटन गरिएको छ । तेजविलास अधिकारीले हाइकुमार्फत देशमा भएको राजनीतिक तथा आर्थिक अवस्थालाई सशक्त तरिकाले व्यङ्ग्यात्मक ढङ्गबाट अभिव्यक्त गरेका छन् । चोटिलो र धारिलो तवरले अधिकारीका हाइकुले राजनीतिक तथा आर्थिक पक्षको उद्घाटन गरेका छन् ।
लालयुग रे !
समानता हरायो
यस्तै छ लुट (पृः३)
प्रस्तुत हाइकुमा राजनीतिक प्रवृत्तिलाई उतारिएको छ । वर्तमान समयमा भएको कम्युनिष्ट सरकार चलेको बेला जनताका इच्छा चाहना वर्गीय समानता हुनुपर्नेमा त्यसको नियम विपरीत रहेको व्यङ्ग्य हाइकुकारले व्यक्त गरेका छन् । लालयुग अर्थात् कम्युनिष्टको सरकार चलेको समयमा समानता कायम हुन सकेको छैन । जनतालाई प्रदान गर्ने सेवासुविधाभन्दा उल्टै लुटिएको आभास भएको छ ।
विगतभन्दा भिन्न हुनुपर्ने यो परिवर्तित सरकार परम्पराबाट मुक्त हुन सकेन । जनताका जनजीविकाका कुरा बिर्सेर स्वार्थी भावले लुट्नमै तल्लीन भएको कुरा अभिव्यक्त भएको छ । आर्थिक उपार्जनमा लागेको समाजसेवी सत्तालाई व्यङ्ग्य गर्दै यसबाट मुक्त हुनुपर्ने कुराको सङ्केत गरेका छन् ।
शक्ति छन्जेल
सकेको जम्मा पार
खै अर्को पाला ? (पृः४०)
यस हाइकुमा राजनीतिक तथा आर्थिक अवस्थालाई समावेश गरिएको छ । राजनीतिक शक्ति सधैँ एकनाश हुँदैन । देश र जनताका लागि योगदान दिने नेतृत्व टिकाउ हुन्छ भने जितेको समयमा स्वार्थी प्रवृत्तिले सकेजति जम्मा पार्नेको अवस्था केही क्षण हाइहाइ भए पनि नाजुक हुन्छ । उसले त्यही एक पटकको जिताई र शक्तिबाट धनसम्पत्ति अर्थात् आर्थिक तातोमा लाग्छ भने अर्को समय आशा नगरे पनि हुन्छ, स्वार्थीले भन्ने विषय अभिव्यक्त भएको छ । अब जनता विवेकशील भइसके । काम र योजना बुझ्न सक्छन् । भ्रष्ट स्वार्थी अनि द्रव्यपिपाशुलाई जनता आउने चुनावमा लोप्पा खुवाउँछन् भन्ने विषय रहेको छ ।
राजधानीमा
आलिसान महल
फाप्यो व्यवस्था (पृः१३)
तेजविलास राजनीतिक तथा आर्थिक विषयलाई चोटिलो ढङ्गले हाइकुमा अभिव्यक्त गर्दछन् । उनले राजनीतिबाट जनताको सेवा गर्ने नेता राजधानीमा ठुला महल खडा गरी आराम गरेकोमा असन्तुष्ट देखिन्छन् । स्वार्थी नेतालाई कमाउनमा र महल ठडाउनमा यो प्रजातान्त्रिक, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था फापेको कटाक्ष गरेका छन् । यसले देश र जनताको भलो होइन कुभलोतर्फ लागेको सङ्केत गरेको छ ।
जनमत रे !
जनपक्षीय छैन
हरेक कार्य (पृः४)
बाँदर तन्त्र
नरिवल हातमा
कसरी खानु ? (पृः१८)
पद र पैसा
नभइ भएन रे
क्या ! छ गज्जब (पृः४७)
जनता भन्छ
हरायो मेरो नेता
नेता निद्रामा (पृः५१)
तेजविलासका यस्ता धेरै हाइकु राजनीतिक विकृति र विसङ्गतिप्रति कटाक्ष छन् । उच्छलनमा राजनीतिक र आर्थिक विषयका धेरै हाइकु समावेश छन् । उनका हाइकुले नेपाली शासन व्यवस्थामा आउने नेताको चरित्र, दैनिक गतिविधि, व्यवहारिक कार्यशैलीलाई गहन ढङ्गले उतारेका छन् । यस्ता हाइकुमा प्राकृतिक किगोको केही अपुग भए पनि भाव र सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाको अभिव्यक्ति सटिक रूपमा रहेको छ ।
३.४ मानवता
हाइकुलाई हेर्ने विविध पक्षमध्ये मानवता पनि एक हो । साहित्यले मानवीयपन वा मनुष्य बन्न चाहिने गुणलाई आत्मसाथ गरेको हुन्छ । तेजविलासका हाइकुमा मानवताको प्रयोग रहेको देखिन्छ । मनुष्य वा मानव बन्नका लागि चाहिने आवश्यक गुण भएका हाइकु मानवतामा आधारित हुन्छन् । जसले प्रकृति र मानवीय स्वरूपलाई एकअर्कामा पूरक बनाएको हुन्छ ।
अनगिन्ती छन्
जालझेल शिरोमणि
सभ्य समाज (पृः२)
यस हाइकुमा मानवतावादी दृष्टिकोण प्रकट भएको छ । हाम्रो समाजमा छलकपट गर्ने वा जालझेल गर्ने उपाधि धारण गरेका व्यक्ति छन् । जसले गर्दा सभ्य समाजमा मानवता हराएर गएको छ । सहयोग सद्भाव हराएको हुनाले अहिलेको समाजमा जालझेलको वृद्धि र विकासले सभ्य समाज निर्माण हुन नसकेको भाव व्यक्त भएको छ । जाली शिरोमणि प्राप्त गर्नेसँग सभ्य समाजको आशा निरर्थक रहेको र मानवीयता हराएको सङ्केत हाइकुले गरेको छ ।
बाढी, भूकम्प
दुःखभन्दा प्रचार
माग्ने मेलो पो (पृः८)
प्रस्तुत हाइकुमा मानवताको आभास रहेको छ । बाढी, पहिरो, भूकम्प जस्ता विपतमा पनि आजको मानिस सेवाभावभन्दा प्रचारमा लागेको छ । सत्यतथ्यमा आधारित मानवीय सेवा हराएर प्रचारप्रसार गरी ती विपतमा परेका मानवका लागि सहयोगभन्दा स्वार्थीपनले माग्ने मेलो गरेको कटाक्ष गरिएको छ । जो आपतविपतमा परेको छ, उसले त्यो पूर्ण रूपले प्राप्त गर्न नसकी सहयोगका नाममा माग्ने प्रवृत्ति बढेको छ । यस हाइकुले एउटा सिङ्गो विपतको अवस्थालाई लिएर मानवीयता हराएको सङ्केत गरेको छ ।
जनता बेच्ने
जननिर्वाचित भन्ने
खल्तीको पासो (पृः४६)
प्रस्तुत सूत्रात्मक हाइकुमा मनुष्यत्व भाव अभिव्यक्त भएको छ । मानवीयता हराएका नेताले जनतालाई जननिर्वाचित भनेर बेचेका छन् । जनतालाई छलछाम गर्दै आफ्नो कर्तव्य र जिम्मेवारीबाट पछि हटेका नेताको मानवता हराएको छ । जननिर्वाचित पद खल्तीको पासो बनाई जनतामै लगाएका छन् भन्ने एउटा सिङ्गो राजनीतिप्रति व्यङ्ग्य गरिएको छ । जनताले चुनेको निर्वाचित नेताले जनसेवा गर्ने काम छाडेर जनतालाई नै आघात हुने काम गरेर मानवता हराएको आभास गराएको छ ।
३.५ राष्ट्रियता
राष्ट्र र राष्ट्रियताको सद्भाव अभिव्यक्त हुने कवितात्मक छोटो स्वरूप हाइकुमा पाइन्छ । अधिकारीका हाइकुमा राष्ट्र र राष्ट्रियताको सद्भाव अभिव्यक्त छ । उनका हाइकुमा राष्ट्रिय चेतना सम्प्रेषण हुनुका साथै राष्ट्रप्रतिको उच्च भाव प्रकट भएको छ । प्रगतिशील विचारधाराका अधिकारीले राष्ट्रोन्नतिका लागि अगाडि बढ्न सकिने विचार हाइकुमार्फत राखेका छन् ।
रातभर म
सिमा सुरक्षा गर्ने
वीर गोर्खाली (पृः६)
प्रस्तुत हाइकुमा सिङ्गो नेपालीको परिचय लुकेको छ तर त्यसलाई कायम गर्न हाला भएको सङ्केत गरिएको छ । आफ्नो देशको सीमा सुरक्षाका खातिर रातभर जागै रहनुपर्ने वीर गोर्खालीको परिचय इतिहास बनेको छ । सीमा सुरक्षा गर्न हम्मे हम्मे परेर वीर गोर्खालीको इतिहास सम्झनु परेको तीतो यथार्थ रहेको छ । वीर गोर्खालीका नामले चिनिएका देशको सीमा रक्षाका लागि ज्यानको बाजी लगाई हरतरहले तैनाथ भएर बस्नुपर्ने अवस्था आएको हाइकुको सङ्केत छ ।
पाएन बस्नै
नेपाली धरतीमा
पौरखी हात (पृः२८)
राष्ट्र राष्ट्रियता र आमाप्रतिको ममता खनिएको अधिकारीका हाइकुमध्ये यो पनि एक हो । यसमा आफ्नै धरतीमा श्रम पसिना र मायाममता पोख्न नपाएको गुनासो व्यक्त छ । आफ्नो माटोमा बसेर श्रम, सिप, जाँगर खन्याउन नसकेको अनि खन्याउने वातावरण सिर्जना नभएकाले आफ्नै पौरख गर्न सकेका छैनन् । ती पौरखी हात अन्यत्र खर्चनु परेको पीडाबोध रहेको छ । अधिकारी मूलतः देशप्रतिको आस्था, सम्मान, प्रगति र उन्नतिमा आशावादी व्यक्ति हुनाले उनको त्यो प्रगतिशील राष्ट्रभाव हाइकुमार्फत् अभिव्यक्त गरेका छन् ।
तनाव वर्ष
वर्षौँ वर्षसम्म नि
मेरो नेपाल (पृः४१)
देशप्रतिको ममता खनिएको अधिकारीको यस हाइकुमा नेपालको अवस्था सदा तनाव वर्षका रूपमा रहेको देख्छन् । देश प्रगति र उन्नतिमा पुग्न नसकेको अवस्था छ । पटक पटकको परिवर्तन अनि अरुको हस्तक्षेपबाट स्वतन्त्र नेपाल विभिन्न झमेलाले वा खिचातानीले गर्दा वर्षौँ वर्षसम्म पनि उही अवस्थामा रहन्छ कि ? भन्ने चिन्तासमेत प्रकट गरेका छन् ।
३.६ व्यङ्ग्यात्मकता
हाइकुमा प्रस्तुत हुने मूल स्वरूप व्यङ्ग्य नै हो । यसमा थारैमा धेरै विषय चोटिलो ढङ्गले अभिव्यक्त हुन्छ । तेजविलासका हाइकुमा कहीँ न कहीँ व्यङ्य प्रहार भएकै हुन्छ । उनका हाइकुमा मूलतः सभ्यता र शिष्टताप्रतिको आधार सशक्त बनेको छ । उच्छलन हाइकुलाई समग्रमा हेर्दा व्यङ्ग्यात्मकता सशक्त बनेर आएको छ ।
छँदैछ मेरो
पद, पैसा, प्रतिष्ठा
छ गणतन्त्र (पृः७)
छोटोमा अधिक अटाएको यस हाइकुमा चोटलिो ढङ्गले गणतन्त्रमा हुने जनसरकारको प्रवृत्ति सुल्टो नभई उल्टोतर्फ गएकोप्रति व्यङ्ग्य छ । पद, पैसा र प्रतिष्ठा मिलेपछि गणतन्त्रको मर्म भुलेर स्वार्थमा लाग्ने चमेरे प्रवृत्तिलाई उदाङ्गो बनाइएको छ । गणतन्त्र छ तर पद, पैसा र प्रतिष्ठामा हारालुछ गर्दै जनताको चाहनामा कुठाराघात बनेको छ । आफूमा पद, पैसा र प्रतष्ठिा भएपछि कसैले केही गर्न नसक्ने भएको छ । हिजो सामन्तीको चरित्र विरुद्ध आवाज उठाउने यी सर्वहारावर्गको नेतृत्व गर्ने आज उही पद, पैसा र प्रतिष्ठाको हालीमुहालीमा रुमलिएर गणतन्त्रको खिल्ली उडाएकोमा हाइकुकार खिन्न देखिन्छन् ।
पूर्ण सफल
दिशामुक्त घोषणा
कागजी यात्रा (पृः१६)
समाज, देश, परिवार र व्यक्तिप्रतिको कटाक्ष अधिकारीका हाइकुमा रहेको देखिन्छ । यस हाइकुमा हाइकुकारले व्यङ्यको झटारो प्रहार गरेका छन् । राज्य आफ्नो कार्यमा पूर्ण सफल नभई व्यवस्थापनविहीन तयारीबिना देशलाई दिसामुक्त घोषणा गर्ने प्रवृत्तिको उछितो काढेका छन् । माक्र्सवादी चिन्तन र प्रगतिवादी सोचमा व्यवहार देखिनुपर्छ । त्यसैले दिसामुक्त घोषण व्यवहारिक नभई कागजी भएको कुरा हाइकुमार्फत व्यक्त भएको छ ।
नीतिमा छ नि
जनकल्याण काम
व्यवहार खै ? (पृः४५)
प्रस्तुत हाइकुमा पनि व्यङ्ग्यको उचित प्रयोग भएको छ । शिष्ट र सभ्य शैलीमा व्यङ्ग्य प्रहार गर्नु अधिकारीको विशेषता नै हो । देश जनता र समाजको भलाइका लागि नीतिनियम निर्माण गर्ने राम्रा कुरा समावेश गरिएका छन् । जनकल्याणका विषयहरू संविधान तथा अन्य ऐनकानुमा उतारिएका छन् । ती कागजी खोस्टामा उनिएका जनकल्याणका काम जति उत्तम भए पनि व्यवहारमा ल्याउन नसक्दा त्यसले केही गर्न सक्दैन । देशमा ठुला टुला परिवर्तन आए, नीतिनियम राम्रा आकर्षक र जनहितका विषयमा निर्माण गरिए तर व्यवहारमा भने देख्न नपाएको भनी आलोचना गरिएको छ ।
३.७ प्रकृति चित्रण
हाइकु प्राककृतिक किगोको बिम्बात्मक प्रयोगद्वारा लेखिने सूत्रात्मक अभिव्यक्ति हो । प्रकृतिसँगको निकट सम्बन्ध हाइकुमा लेख्ने गरिन्छ । हाइकुमा प्राकृतिक बिम्ब र प्रतीक हुनुपर्ने नियम नै छ । प्रकृतिको बिम्ब निुपर्छ भन्ने मान्यता रहेको हाइकुमा तेजविलासका हाइकुमा पनि प्राकृतिक किगोको बिम्बात्मक प्रयोग देखिन्छ । समस्त प्राणीबिचको सम्बन्ध जीव र प्रकृतिसँग रहेकाले हाइकुमा प्रकृति चित्रण गरी मानवजीवनसँगको गतिविधिलाई पछ्याउन पुग्दछ ।
जीवन खोज
प्रकृतिमा कति छ
त्यति अस्तित्व (पृः१३)
उक्त हाइकुमा प्रकृति र मानवजीवनसँगको सम्बन्ध देखाइएको छ । जीवन खोज्दा प्रकुतिमा पाइन्छ । प्रकृतिरूपी मानवजीवन सार्थक र सफल रहन सक्छ । जीवन सार्थक बनाउने प्रकृतिमै त्यसको अस्तित्व रहन्छ । जीवनलाई सिङ्गो प्रकृतिमा खोज्दा त्यसको अस्तित्व भेटिने भाव रहेको छ ।
बगैँचा बीच
लहराएको माली
के को चयन ? (पृः१४)
यस हाइकुमा पनि प्रकृति र मानवबिचको अभेद्य सम्बन्ध स्थापित गरिएको छ । प्राकृतिक किगोका रूपमा बगैँचा आएको छ भने मानवजीवन मालीसँग तुलना भएको छ । बगैँचाले सुन्दर ठाउँ र मनमोहक स्थानको प्रतिनिधित्व गरेको छ । त्यही सुन्दर बागभित्र माली लहराएको छ । मालीलाई बगैँचाको त्यो दृश्यले मालीलाई के को चयन गर्नु प¥यो ? सबै थोक त्यही बगैँचामा छ । त्यसलाई चिन्न सक्नुपर्छ भन्ने राजनीतिक अस्तित्वको सङ्केत गरेको छ ।
नफल फल
हाँगै भाचिने गरी
क्षति छ आफ्नै (पृः२१)
प्र्रस्तुत हाइकुमा प्राकृतिक चित्रण गरी मानवलाई सचेत गराइएको छ । फल र हाँगो प्राकृतिक किगोका रूपमा आएका छन् । चाहिनेभन्दा ज्यादा फल फले हाँगोले धान्न सक्दैन त्यस्तै क्षमताभन्दा ठुला काम गर्छु भने त्यो क्षतिको सङ्केत हो । चाहे त्यो राष्ट्रियता, नेतृत्व, विकास, जनपक्षीय काम, बोलाइ त्यो क्षमताभन्दा बढी गर्न खोजे धान्न सक्दैन अनि विनास हुन्छ । क्षमताविहीन व्यक्तिको नेतृत्व भई व्यक्ति, समाज र राष्ट्रको क्षति भएको कुरा व्यक्त छ ।
बाँस फुलेछ
खै कस्तो लक्षण हो
चकित मन (पृः४०)
यस हाइकुमा बाँस फुल्नु प्राकृतिक किगो हो । जसले समाप्त हुनु, सकिनु वा उग्लिनु भन्ने सङ्केत गर्दछ । बाँस फुल्नुले अब विनाश भयो भन्ने सङ्केत गर्दछ । शासनसत्ता र नेतृत्वमा परिवर्तनपछि पनि अन्धभक्त रूपले सञ्चालन गरेको लक्षण नै सकिने सङ्केतका रूपमा हाइकुकारले लिएका छन् ।
३.८ प्रगतिवादी चिन्तन
वस्तुतः प्रगतिवादको मूल प्रवाह माक्र्सवादी दर्शन, द्वन्द्वात्मक भौतिकवाद र माक्र्सवादी समाजविज्ञान ऐतिहासिक भौतिकवाद हो । प्रगतिवादी चिन्तन भनेको प्रगतिवादमा विश्वास गर्ने प्रगतिशील अर्थात् समाज र देशको उत्तरोत्तर विश्वास गर्ने अवस्थालाई जनाउँछ । अधिकारी प्रगतिशील विचारधारा बोक्ने व्यक्ति हुनाले उनका हाइकुमा प्रचुर मात्रामा समाज परिवर्तनको अपेक्षा पाइन्छ ।
देख्दै छु म त
आँधीपूर्वको शान्ति
कस्तो सन्नाटा (पृः१)
प्रगतिवादी हाइकुकारले हाइकुमार्फत परम्पराप्रति रहेको मान्यतामा परिवर्तन हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् । आँधीपूर्वको शान्ति के शान्ति ? जनता खाना, नाना, छाना पूरा गर्ने चाह अनि स्वतन्त्रताको प्रत्याभुति प्राप्तिका लागि क्रान्तिमा समर्पित हुन्छ । वर्गीय, जातीय, लैङ्गिक विभेदको अन्त्यका लागि क्रान्ति जरुरी छ भन्ने सोच हाइकुमा रहेको छ ।
माक्सवादी यो
धुलोमय सडक
हराए वि.पी.(पृः२५)
प्रगतिवादी सोच र चिन्तन भएको यस हाइकुमा मानवजीवन र जगत्को पूर्णतः भौतिक आधारमा मात्र व्याख्या होइन तिनलाई द्वन्द्वात्मक रूपमा सदा गतिशील बनाउने वैज्ञानिक दर्शन हो । यसले पूँजीवादी समाज व्यवस्थाका स्थानमा साम्यवादी व्यवस्था परिवर्तन गर्ने मार्गदर्शन र क्रान्तिकारीपन दिन्छ । विचारले मात्र हुँदैन ठाउँ व्यवहार धुलोमय अर्थात् अन्धधुन्ध छ भने परिवर्तन हुन सक्दैन । जसरी वि.पी.को समाजवादी चिन्तन हराए जस्तै परिवर्तन हुन सक्दैन भन्ने भाव अभिव्यक्त भएको छ ।
फेरि देखियो
समाजवादी सोच
आहत जन (पृः३२)
तेजविलासको प्रस्तुत हाइकुमा समाजमा रहेको आर्थिक विषमता हटाएर समता ल्याउने चाह भएका समाजवाद रुचाउने अनुयायीहरू देखिएका छन् । समाजवादीले देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गरी उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने धारणा रहेको छ । समाजवादी सोच देखिएको समयमा पनि जनता व्यवहारमा घाइते बनेका छन् । जनताले चाहेको समाजवादी सोचको आभास गर्न नपाएकोमा यो त समाजवादी ढोल हो भन्ने स्थितिमा पुगेको विचार अभिव्यक्त भएको छ । यसले सिङ्गो समाजवादी चिन्तनलाई बोकेको छ ।
३.९ निष्कर्ष
सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्नु, सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुलाई आत्मसाथ गर्नु, सामन्ती शासनशैलीप्रति विद्रोहात्मक चेत प्रवाह गर्नु, लैङ्गिक हिँसाप्रति विरोध जनाउनु, मानवतावादी चिन्तनलाई आत्मसाथ गर्नु तेजविलासका हाइकुगत विशेषता हुन् ।
संरचनात्मक रूपले हेर्दा तेजविलासका हाइकुमा शास्त्रीय संरचनामा आबद्ध छन् तर खझै यनिमा खारिनुपर्ने अपेक्षा रहन्छ । लेख्य रूप र वर्णविन्यासगत विचलन रहे पनि अन्य हिसाबले हेर्दा हाइकु सबल र सक्षम रहेको देखिन्छ । भावका हिसाबले हाइकु उच्च रहेका छन् ।
प्राकृतिक बिम्ब प्रयोग गरी फर्मुला लेखनलाई पक्रेको देखिन्छ । छोटो स्वरूपका हाइकुमा बृहत् भाव अटाएको छ । राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक, लैङ्गिक, भ्रष्टाचार, रोजगार, सामाजिक विकृति विसङ्गति र देशप्रतिको मायाममता सशक्त ढङ्गले व्यक्त भएको छ । प्रकृति र जीवन, राजनीति तथा सामाजिक विषयलाई जोडेर हेरिएको छ । नेपाली शासन व्यवस्थामा आउने राजनीतिक चरित्र, दैनिक गतिविधि, व्यवहारिक कार्यशैली गहन ढङ्गले उतारेको छ । प्राकृतिक किगोको प्रयोगमा केही अपुग भए पनि भाव र सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाको अभिव्यक्ति दरिलो छ । राष्ट्र, राष्ट्रियता र देशप्रेमको भाव मुखरित भएको छ ।
जनकल्याणका विषय संविधानमा आए, देशमा ठुला टुला परिवर्तन आए, नीतिनियम राम्रा आकर्षक आए पनि व्यवहार भने उस्तै रहेको भनी आलोचना भएको छ । मूलतः हाइकुमा प्राकृतिक किगोको बिम्बात्मक प्रयोगको छनक देखिन्छ । हाइकुमा प्रगतिशील विचारधारा प्रचुर मात्रामा उतारी समाज परिवर्तनको अपेक्षा गरिएको छ ।
सन्दर्भ सामग्री
अधिकारी, तेजविलास, उच्छलन, भगवती अर्याल, २०७६
उपाध्याय, केशवप्रसाद, साहित्य प्रकाश,(छै, सं.), ललितपुर ः साझा प्रकाशन, २०५९
थापा, मोहन हिमाशुं, साहित्य परिचय, ललितपुर ः साझा प्रकाशन, २०३६
बराल, ईशवर (सम्पा) नेपाली साहित्यकोश, काठमाडौँः ने.रा.प्र.प., २०५५ ।