विषय प्रवेश
कवि माधवप्रसाद घिमिरे (जन्म वि.सं.१९७६) आफ्ना पूर्ववर्ती र समवर्ती प्रसिद्ध साहित्यकारहरू लेखनाथ पौड्याल (१९४१–२०२२), बालकृष्ण सम (१९५९–२०३८), लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६), भीमनिधि तिवारी (१९६८–२०३०), सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९), केदारमान व्यथित (१९७१–२०५५), हृदयचन्द्रसिँह प्रधान (१९७२–२०१६) र गोपालप्रसाद रिमाल (१९७५–२०३०) मध्ये राज्यस्तरबाट सर्वाधिक मान–सम्मान र पदवी पाएका र दीर्घजीवन समेत प्राप्त गर्ने सौभाग्यशाली कवि हुन् ।
लमजुङको पुस्तुन गाउँमा जन्मी वि.सं. १९९३ मा सत्र वर्षको उमेरमा काठमाडौं प्रवेश गरेका र बनारसबाट सर्वदर्शनमा शास्त्री उत्तीर्ण गरेका घिमिरेले नेपाली भाषानुवाद परिषद् (१९९९) र गोरखापत्र (२००३) बाट जागिर सुरु गरी रोयल नेपाल एकेडेमी (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) को सदस्य (२०१४–२०२७), उपकुलपति (२०३६–२०४५), र कुलपति (२०४५–२०४७) ।
त्यस्तै राजपरिषदको सदस्यमा मनोनित हुनु र राज्यस्तरबाट मासिक पारिश्रमिक पाउने गरी राष्ट्रकविको पदवी पाउनुबाट राणाशासनदेखि पञ्चायती शासन, बहुदलीय शासन र पछिल्लो गणतान्त्रिक शासन व्यवस्थामा समेत उनी उत्तिकै सम्मानित भइरहेको देखिन्छ ।
जनताको पक्षमा लेख्ने कवि लेखकहरू जनस्तरबाट पछिसम्म सम्मान भइरहनु स्वाभाविक लागे पनि कहिल्यै परिवर्तनको आवश्यकता महसुस नगर्ने एउटा यथास्थितवादी कवि परिवर्तनपछिका हरेक शासन व्यवस्थामा हरेक शासकहरूबाट सम्मानित भइरहनुलाई चाहिँ नौलो र आश्चर्यका रूप मा लिइन्छ ।
घिमिरेको लेखनधर्मिता
घिमिरेले आफ्नो काव्य–यात्रा सुरु गर्दा (१९९२) राणाशासनको निरङ्कुशता उत्कर्षमा पुगेको थियो र १९९७ को सहिदकाण्डपछि त त्यो सङ्कटापन्न अवस्थामा समेत पुगेको थियो । कवि–लेखक लगायत सम्पूर्ण चेतनशील वर्ग राणाशासन विरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भित्रभित्रै क्रियाशील देखिन्थे ।
देवकोटा, सिद्धिचरण, रिमाल, मिश्र, चित्तधर हृदय, हृदयचन्द्र र व्यथितजस्ता कविलेखकहरूकुनै जेलमा र कुनै प्रवासमा थिए । ‘भो भयो अति सुत्यौ अब जाग’ भन्दै धरणिधर कोइरालाले र ‘अव ता विधिको पनि आयु पुग्यो’ भन्दै महानन्द सापकोटाले प्रवासमा रहेर जागृतिमूलक कविताहरूलेखिरहेका थिए । रिमाल त अझ “सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्, मरे भनी फ्याँकिएका जुरुजुरु उठ्छन्” भन्दै क्रान्तिको सपना पस्किरहेका थिए ।
सुब्बा कृष्णलाल अधिकारी र लक्ष्मीनन्दन चालिसेले राणा विरोधी साङ्केतिक अर्थ दिने कविता र लेख लेख्दा जेलको यातना सहन नसकी त्यहीँ नै मृत्युवरण गर्नुपरेको थियो । बालकृष्ण समजस्ता राणावर्गीय कवि पनि क्रान्तिको निकटतालाई बुझी जनताको पंक्तिमा मिसिन खोज्दै केही दिन भए पनि जेलमा पुगेका थिए । देश यसरी प्रसव–पीडामा छट्पटाइरहेको बेलामा घिमिरे भने शासकलाई सुमेरु पर्वत ठान्दै तिनकै वरिपरि घुमिरहेका थिए ।
राणाशासन विरुद्धको आन्दोलनमा माधव घिमिरेको संलग्नता प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कहीँ कतै देखिँदैन । त्यतिन्जेल लेखिएका ‘ज्ञानपुष्प’ (१९९२), ‘नवमञ्जरी’ (१९९४), ‘स्वदेशी गीत’ (१९९५), ‘कृष्णभक्ति’ (१९९६), ‘जीवन सङ्गीत’ (१९९८) जस्ता उनका कविता र नाट्यकृतिहरूमा राणाविरोधी स्वर र गन्ध समेत कतै भेटिँदैन । ‘स्वान्त सुखाय’ मा रमाएका उनले यथास्थितिमा रहनुमा नै शान्ति र सुख देख्दै यथास्थितिलाई नै अङ्गीकार गरेको देखिन्छ ।
२००७ सालदेखि २०१५ सम्मको राजनीतिक अन्यौलको अवस्था र सत्र सालपछिको तीस वर्षे पञ्चायती शासन व्यवस्थामा पनि कवि घिमिरेमा कहिल्यै पनि असन्तोष र विरोध देखा परेन । राणाशासनदेखि वर्तमानसम्म आइपुग्दा देश कति निस्सासियो, कति छट्पटायो, जनता कति रोए, कति आहत भए र कति मारिए, घिमिरेमा त्यसको कुनै वास्ता रहेन । उनलाई लाग्यो, साहित्यकार भनेको यो समाजभन्दा माथिको अलौकिक व्यक्ति हो र उसलाई समाज र राजनीतिसँग कुनै सरोकार हुनुहुँदैन ।
साहित्यकार पनि समाजकै एउटा सदस्य हो । देशको एउटा सचेत नागरिक समेत भएकाले देश, समाज र त्यहाँका मानिसभन्दा बाहिर गएर वा त्यसप्रति विमुख भएर उसले कुनै पनि कुरा लेख्न सक्तैन । त्यसैले उसका रचनामा विद्यमान व्यवस्थाप्रति मोह नै किन नहोस् विद्यमान सामाजिक स्थिति र त्यहाँका मानिसको अवस्थाको प्रतिबिम्ब चाहिँ हुनैपर्छ ।
राणाशासनदेखि पञ्चायत, प्रजातन्त्र र गणतान्त्रिक व्यवस्थासम्म लेखिएका घिमिरेका रचनाहरू हेर्दा तिनमा कतै पनि असन्तोष, व्यङ्ग्य र विरोधको स्वर भेट्न सकिँदैन, न त नेपाली जन–जीवनको दशा र त्यसको दिशाबोध नै पाइन्छ ।
तीसवर्षे पञ्चायती अवधिमा पनि अधिकांश कवि लेखकहरू कुण्ठित भएको हक–अधिकार र लेखन स्वतन्त्रताको लागि सशक्त ढङ्गले बिम्ब र प्रतीकको सहारा लिँदै कलम चलाउन पुगेका थिए भने घिमिरे सहितका केही लेखकहरूचाहिँ त्यस्तो विरोधलाई अनावश्यक सम्झी नेपाली जन–जीवनका पीडालाई वेवास्ता गर्दै नेपाली भएर बाँच्नुमा नै गर्व गर्नुपर्ने शिक्षा दिइरहेका थिए । केही कवि लेखकहरू त शासकहरूको स्तुति गर्दै आफू वफादारी भएको देखाउँदै थिए । कवि घिमिरे पनि त्यो पंक्तिमा मिसिन खोज्दै तत्कालीन बडामहारानीको यसरी स्तुति गाउँदै थिए,
देवी दिव्य सरास्वतीसरि तिमी साहित्य सङ्गीतकी
बग्दी हिर्दयबाट सात सुरमा सातैथरि गण्डकी
………………………………………………
तिम्रो होस् जय राष्ट्रको कमलमा लक्ष्मी उज्याली तिमी । (गोरखापत्र, २०४२ कार्तिक २२)
कवि घिमिरेले आफ्ना पाठकहरूलाई कहिल्यै पनि अगाडि बढ्न होइन अतीतमा फर्किन वा यथास्थितिमा रमाउन नै प्रेरित गरिरहे, नेपाली भएर बाँच्नुमा नै गर्व गर्नुपर्ने कुरा लेखिरहे ।
आफूलाई अप्ठेरो परेको बेलामा सल्लाह–सुझाव दिने, मीठामीठा श्रुतिमधुर कविताहरू सुनाई मनोरञ्जन दिने र आफ्नो शासन व्यवस्थालाई दिगो बनाउन सहयोग पु¥याउने उद्देश्यले राजा–महाराजहरूले कवि–कलाकारहरूलाई दरवारमा राख्ने परम्परा धेरै पुरानो देखिन्छ ।
महाकवि कालिदास राजा विक्रमादित्यका सभा–कवि (नवरत्न समेत) थिए भने भारवि चालुक्य वंशीय राजा विष्णुवर्धनका सभा पण्डित थिए । कवि माघका बाजे वर्भलात राजाका निकट थिए भने श्रीहर्ष चाहिँ राजा जयचन्दका राजकवि थिए ।
दरवारद्वारा पालित–पोषित कतिपय कविहरू शाषकको स्तुतिमा आफ्ना कलमको दुरुपयोग गर्दथे भने कालिदासजस्ता प्रतिभाशाली कविहरूले शासकको सीधै स्तुति नगरे पनि शासकलाई अप्रिय लाग्ने वा अप्ठेरो पर्ने विषयमा कलमै चलाउँदैनथे । यसैले कालिदास, भारवि, माघ र श्रीहर्षजस्ता संस्कृतका प्रसिद्ध कविहरूले पौराणिक आख्यानलाई नै आफ्ना महाकाव्यको विषय बनाउन पुगे अनि काल्पनिक विषयमा श्रृङ्गारिक भावलाई रोज्न पुगे ।
उनीहरूले तत्कालीन समयमा जनताको स्थिति र उनीहरूले भोग्नुपरेको अवस्थालाई आफ्ना काव्यमा स्थान दिनु उनीहरूले उचित सम्झेनन् । उच्च साहित्यका लागि उच्च र कुलीन पात्र हुनुपर्ने मान्यता राख्दै त्यसलाई परम्परा बनाउँदै लगे । अतः राजा महाराजा वा कुलीन व्यक्तिहरूले नै साहित्यमा स्थान पाए र तिनका बारेमा लेख्ने कवि नै महाकवि कहलिए । जनताको स्थिति के थियो सो बारेमा लेख्दै लेखिएन, लेख्नै दिइएन वा लेख्न खोज्नेलाई दबाइयो । जनतालाई केवल धर्म र नीति सिकाउँदै यथास्थितिमै आनन्द लिने शिक्षा दिइयो ।
राणाकालीन अन्धकारमा निस्सासिएका र पञ्चायतकालीन सिरेटोमा कठाङ्ग्रिएका जनता घिमिरेका रचनामा नअटाउनु र कुनै पनि शासकप्रति विरोध र असन्तुष्टि व्यक्त नगरिनुलाई त्यही परम्पराको पालना मान्न सकिन्छ । बालकृष्ण समजस्ता शासक वर्गीय कवि पनि शासकहरूसँग असन्तुष्ट रही जनतासँग मिल्न खोज्दै सन्ते र गौरी जस्ता अछुत र तल्लो स्तरका भनिने पात्रलाई आफ्नो महाकाव्यका नायक नायिका बनाउनु तर शासित वर्गका भनिने घिमिरेमा त्यति साहस पनि नआउनुलाई शासकीय इच्छाकै परिपालना हो भन्न सकिन्छ ।
घिमिरेको साहित्यिक प्राप्ति
वि.सं. १९९२ मा ‘गोरखापत्र’ मा ‘ज्ञानपुष्प’ कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा देखापरेका घिमिरेले हालसम्म फुटकर कविता, खण्डकाव्य, निबन्ध र नाटक गरी करिव २६ वटा पुस्तक– पुस्तिका प्रकाशन गरेको पाइन्छ । उनका प्रमुख रचनामा ‘नयाँ नेपाल’ (२०१३) पृथ्वीनारायण शाह, त्रिभुवन र महेन्द्र गरी तीन राजाको व्यक्तित्वमा आधारित रहेको छ भने उनको सर्वाधिक चर्चित काव्य ‘गौरी’ (२०१५) चाहिँ पत्नी वियोगको बेला लेखिएको शोकपूर्ण काव्य हो ।
वस्तुपरकभन्दा भावपरक र प्रभावपरक समालोचना गर्ने भानुभक्त पोखरेल सहितका केही समीक्षकहरूद्वारा नेपाली साहित्यको उत्कृष्ट खण्डकाव्य ठहर गरिएको ‘राजेश्वरी’ (२०१७) ‘सति विज्याय माल’ भन्ने नेवारी लोकगीतमा आधारित ऐतिहासिक काव्य हो ।
‘राजेश्वरी’मा प्रयुक्त केही कथा संबद्ध पंक्तिलाई अतिशयोक्तिपूर्ण तरिकाले अथ्र्याउँदै कुनै कुनै समीक्षकले यसमा युग चेतना प्रकट भएको धारणा अघि सारेको पाइन्छ जसमा वस्तुनिष्ठताभन्दा भावपरकता ज्यादा देखिन्छ । तर पनि शिल्पगत दृष्टिले यसलाई राम्रा खण्डकाव्यको श्रेणीमा राख्न सकिन्छ र यो घिमिरेको सबैभन्दा राम्रो खण्डकाव्य पनि हो ।
‘पापीनी आमा’ (२०१७) उनको अर्को लघुकाव्य हो जसमा अवैध शिशुलाई जन्माई त्यसलाई हत्या गर्न खोज्ने आमाको बारेमा लोकलयमा लेखिएको छ । ‘पृथ्वीसूक्त’ मा आधारित ‘धर्तीमाता’ (२०३०) कविकै भनाइअनुसार पनि मौलिक नभई रूपान्तर हो भने ‘राष्ट्रनिर्माता’ (२०३०) पृृथ्वीनारायण शाहको राज्य–एकीकरणको प्रसङ्ग भएको खण्डकाव्य हो ।
अनि विभिन्न गीतहरूको सङ्कलन भएको ‘किन्नर किन्नरी’ (२०३३) र गीतिनाटक ‘मालती मङ्गले’ (२०३८) यिनका प्रमुख कृतिहरूहुन् भने ‘आफ्नो बाँसुरी आफ्नै गीत’ (२०३०) र ‘चारु चर्चा’ (२०५८) चाहिँ प्रायः पत्रिकाको सम्पादक हुँदा लेखिएका सम्पादकीय लेखहरू हुन् र तिनलाई निबन्धको रूप मा सङ्कलन गरिएको हो । यी निबन्धहरूमा मुख्यतया आध्यात्मिक चिन्तन, प्रेम, सौन्दर्य र कवितासम्बन्धी मान्यताहरूव्यक्त गरिएको छ । यस बाहेक ‘घामपानी’ (२०१०) र ‘बालालहरी’ (२०२६) बालकविता सङ्ग्रह र ‘शकुन्तला’ (२०३८), ‘विषकन्या’ (२०५०) र ‘अश्वत्थामा’ (२०५२) जस्ता नाटक पनि घिमिरेद्वारा लेखिएका पाइन्छन् । घिमिरे प्रज्ञाप्रतिष्ठानमा उपकुलपति हुँदा प्रसिद्ध कलाकारहरूद्वारा स्वर र सङ्गीत दिई सो प्रतिष्ठानमा मञ्चन गरिएको अनि तत्कालीन राजारानीलाई समेत नजर गराइएकाले पनि ‘मालती मङ्गले’ त्यतिखेर बढी चर्चित बन्न पुगेको थियो ।
लेखनाथको शास्त्रीय शैली र देवकोटाको स्वच्छन्दतावादी भावधाराको बीचबाट काव्य रचना गर्ने घिमिरेका काव्यको शैलीमा शास्त्रीयता र भावमा रोमान्टिकता रहेको पाइन्छ । यिनमा पाइने स्वच्छन्दतावाद देवकोटाको जस्तो विद्रोहात्मक किसिमको सक्रिय स्वच्छन्दतावाद नभएर निष्क्रिय स्वच्छन्दतावाद हो जो प्रकृतिको विद्रोहात्मक स्वरूप लाई होइन, शान्त र सुन्दर स्वरूप मात्र देख्दछ र प्रकृतितिर वा अतीततिर फर्किन खोज्छ ।
अडिई अडिई लेख्ने र थोरै लेख्ने हुँदा यिनका रचनाहरूपरिष्कृत, परिमार्जित, संक्षिप्त र सुन्दर देखिन्छन् । आफ्ना रचनालाई निकै काँटछाँट गरेर मात्र प्रकाशित गर्ने भए तापनि तिनमा कृत्रिमता नभएर सहज सौन्दर्य भेटिन्छ । यसैले संक्षिप्तता, सुन्दरता, र लयात्मकतालाई उनका काव्यको विशेषता मान्न सकिन्छ ।
घिमिरेले आफ्ना सबैजसो कविता गीतहरू संस्कृतका केही निश्चित छन्दहरू(शार्दूलविक्रीडित, मन्दाक्रान्ता, स्रग्धरा, अनुष्टुप र उपजाति) र लोकलयमा लेखेको पाइन्छ । उनी छन्दलाई कविताको अनिवार्य तत्व ठान्दै छन्दविनाको कवितालाई अकविता ठान्दछन् ।
व्यङ्ग्य र विद्रोहको सुन्दर प्रस्तुति मानिने देवकोटाको ‘पागल’ कवितालाई उनी कविता नै होइन भन्न पुग्छन् । यसबाट पनि उनको पुरातन सोच स्पष्ट हुन्छ । घिमिरेमा देवकोटाकाझैं छन्दको विविधता र व्यापकता नभेटिए पनि उनी संस्कृत छन्दका कुशल शिल्पी देखिन्छन् र मन्दाक्रान्ता उनको प्रिय छन्द मानिन्छ । संस्कृत छन्द मात्र होइन लोकछन्दलाई समेत नेपाली जनमानसमा लोकप्रिय बनाउन उनका कविता–गीतहरूले महत्वपूर्ण योगदान पु¥याएका छन् ।
कवि घिमिरेको अर्को साहित्यिक प्राप्ति चाहिँ बालसाहित्य हो । सरल र लयात्मक उनका बालकविताहरूले बालसाहित्यको विकासमा महŒवपूर्ण योगदान पु¥याएका छन् । घिमिरेको लेखन कविताको लघुतम, लघु र मध्यम रूपसम्म पुगेको देखिन्छ । वि.सं. २००२ सालतिर उनले ‘गोविन्द’ महाकाव्य लेख्न सुरु गरेपनि त्यो अपूरो नै रहन पुग्यो भने त्यसपछि उनले महाकाव्य लेखेको भेटिँदैन ।
जीवनको अन्तिम अवस्थासम्म पनि ‘ऋतम्भरा’ महाकाव्य पूरा गर्न सकेनन् । उनको कलम मुक्तक, कविता र खण्डकाव्यमै सीमित रहेको देखिन्छ ।
लामो साधना र आयु पाएर पनि विराट भाव–प्रवाह र आख्यानको अभावमा घिमिरेले आफ्नो जीवनकालभरि महाकाव्य प्रकाशन गर्न सकेनन् । लेखिएका खण्डकाव्य पनि लघु आकारका (गौरी १२४ श्लोक, पापिनी आमा ८५ श्लोक वा १७० पंक्ति, राजेश्वरी १०० श्लोक, राष्ट्रनिर्माता १२८ श्लोक र धर्तीमाता १२० श्लोक) र आख्यान तŒवका दृष्टिले कमजोर देखिन्छन् ।
उनका सबैजसो रचनाहरूसय पृष्ठभन्दा कम भएकाले पनि उनमा महाकवि वा महान् लेखकको लागि आवश्यक अनुभूतिको विराट प्रवाह र विराट कल्पनाशीलताको अभाव देखिन्छ । उनको लेखनमा शिल्प–सौन्दर्य भएर पनि विचार–सौन्दर्य र भाव–सौन्दर्यको उपस्थिति देखिँदैन ।
यसरी समग्रमा हेर्दा कवि घिमिरेको प्रमुख साहित्यिक प्राप्ति भनेको बालसाहित्य र गीति कविताको विकासमा योगदान पु¥याउनु, संस्कृत छन्द र लोकलयलाई नेपाली जनजीवनमा लोकप्रिय तुल्याउनु र आफ्ना रचनाबाट राष्ट्र (माटो) भक्तिको सन्देश दिनु रहेको पाइन्छ । यिनै योगदानहरूको आधारमा नै उनको यथोचित मूल्याङ्कन र सम्मान गनुपर्ने हुन्छ ।
राष्ट्रकवित्वको प्रश्न
कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’, ‘जननी जन्मभूमिश्च’, ‘राष्ट्रिय झण्डा’, ‘नेपाल आमा कहीँ छौ घाम’ जस्ता देशप्रेमका कविताहरूर ‘राष्ट्रनिर्माता’ जस्ता खण्डकाव्यलाई हेर्दा उनमा आफ्नो मातृभूमिप्रति माया, श्रद्धा र गर्व रहेको पाइन्छ ।
राष्ट्रियताको सन्देश नै उनका अधिकांश कविताको मूल भाव भएको ठहर गर्दै उनलाई कतिपय प्रभावपरक वा भावपरक समालोचना गर्नेहरूले राष्ट्रवादी कविका रूपमा समेत लिने गरेको पाइन्छ । तत्कालीन राजाबाट कवि घिमिरेलाई मासिक बाह्र हजार पारिश्रमिक पाउने गरी ‘राष्ट्रकवि’ को पदवी समेत प्रदान गरिएको छ ।
नरेन्द्रराज प्रसाईँ (गोरखापत्र, २०६० असोज २४)) का अनुसार उनी सहितका केही व्यक्तिहरूको सक्रियतामा घिमिरेलाई राष्ट्रकविको पदवी दिन २०५४ साल माघ ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाको समयमा पहल गरिएको र बीचमा सेलाएपछि पुनः थापा नै प्रधानमन्त्री भएको बेलामा सो प्रयास सफल भएको हो ।
राष्ट्र भन्ने कुरा निश्चित सीमाना भित्रको भूगोल मात्र होइन । निश्चित भूभागमा बसोबास गर्ने सम्पूर्ण जनताको भावनात्मक एकता नै राष्ट्र हो । यसैले साँचो अर्थमा राष्ट्रको माया गर्ने व्यक्ति त्यही हो जसले त्यहाँका बासिन्दालाई भित्रैदेखि माया गर्छ र समानताको व्यवहार गर्छ । राष्ट्रलाई माया गर्ने कविले माटाको मात्र गीत लेखेर पुग्दैन त्यहाँका बासिन्दाको पसिनाको पनि गीत लेख्नुपर्छ । भौगोलिक र प्राकृतिक सुन्दरताको मात्र वर्णन गरेर हुँदैन, जनताको मानसिक स्थितिको पनि वर्णन गर्नुपर्छ । डाँफे र कोइलीको भाका मात्र टिपेर हुँदैन, मानिसका व्यथा र वेदनाका आँसु पनि टिप्नुपर्छ । हिमाल र लालीगुराँसका गाथा गाएर मात्र देशभक्त भइँदैन, विभिन्न जात–जातिका मानिसका गाथा पनि गाउन सक्नुपर्छ ।
घिमिरेका रचनामा नेपाली भूगोल र अझ विशेष गरी हिमाली क्षेत्र र त्यहाँको परिवेश हिमाल, डाँफे, लालीगुराँस र चौरीगाईको चित्रण त पाइन्छ तर त्यहाँको जननीवनको चित्रण भने पाउन सकिँदैन । प्रकृतिको चित्रण गर्दै त्यसको महिमा–गान गरिनु तर त्यहाँका बासिन्दाको वा त्यहाँको जनजीवन बारे कुनै वास्ता नगरिनुलाई सिङ्गो राष्ट्रवादी चिन्तन मान्न सकिँदैन ।
राष्ट्रकविको पदवी पाइसकेका कविको रचनामा देश र जनताप्रति चिन्ता र चासो मात्र होइन जनजीवनको सामान्य चित्रण समेत नपाइनु साँच्चिकै विडम्बना हो ।
देवकोटा पहाडी जीवनबाट प्रभावित भई ‘पहाडी जीवन’ निबन्ध अनि ‘कुञ्जिनी’, ‘म्हेन्दु’, ‘लुनी’, ‘तिप्लिङ्गी’ जस्ता खण्डकाव्यहरूलेखेर प्राकृतिक चित्रका साथै पहाडी जीवन र त्यहाँ बसोबास गर्ने जनजातिको चित्रण गर्दा घिमिरे ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो’ भन्दै प्रकृतिको चित्रण मात्र गर्दछन् ।
घिमिरेका काव्यमा कतै पनि नेपाली जनजीवनले आफ्नो मुहार देख्न पाउँदैन, आफ्नो व्यथा बिसाउन पाउँदैन र सुस्केरा हाल्न पाउँदैन । घिमिरे आफ्नो व्यक्तिगत जीवनमा झैं सम्पूर्ण मानव जीवनमा पनि सुख र आनन्द मात्र देख्दछन् । यसैले उनका गोठालाले पनि व्यथाको सुस्केरा होइन आनन्दको सुसेली हाल्दछन् (‘वैशाख’ कविताको स्मरण) ।
केही कवितामा राष्ट्रिय परिवेश पाइनु र देशप्रेम नै तिनको मूल भाव रहनुको कारणले मात्र कुनै कविलाई राष्ट्रकवि मान्ने हो भने नेपालका अधिकांश कविलाई राष्ट्रकविको पदवी दिइनुपर्ने हुन्छ किनकि इमानदारीपूर्वक लेख्ने कविहरूका रचनामा स्वतः देशभक्ति वा राष्ट्रप्रेम सल्बलाएको हुन्छ ।
राष्ट्रियताको सन्दर्भमा ‘म गर्छु देशसेवा, बल देऊ लौ मलाई’ भन्दै राणाकालमा समेत जनताको मुक्तिको कविता लेख्ने गोपालप्रसाद रिमाल मात्र होइन बालकृष्ण समका रचनामा पाइने राष्ट्रियता घिमिरेमा पाइने राष्ट्रियताभन्दा कुनै दृष्टिले पनि कम देखिँदैन ।
समको ‘इच्छा’ कवितालाई देशप्रेमको सन्दर्भमा घिमिरेका कुनैपनि कविताभन्दा कम आँक्न सकिँदैन भने ‘मुकुन्द इन्दिरा’, ‘अमरसिँह’ र ‘भीमसेनको अन्त्य’ जस्ता नाटकमा पनि देशभक्तिको स्वर प्रखर भएर आएको पाइन्छ । देवकोटाको ‘के नेपाल सानो छ ?’ भन्ने एउटै निबन्ध घिमिरेका हरेक राष्ट्रवादी निबन्धलाई उछिन्न सक्षम देखिन्छ ।
देशको उन्नति र जनताको उन्मुक्तिका लागि लेख्दा लेख्दै जीवन समर्पण गर्ने गोकुलप्रसाद जोशी, श्यामप्रसाद शर्मा र हृदयचन्द्रसिँह प्रधानहरूको देशभक्ति घिमिरेको जस्तो कोरा माटो–प्रेम नभएर वास्तविक देशप्रेम थियो ।
घिमिरेका कुनै रचना त्यस्ता अद्वितीय पनि छैनन् जसलाई नेपाली साहित्यको नमूनाका रूप मा प्रस्तुत गर्न सकियोस् । अनि घिमिरेको समष्टि साहित्यिक योगदान हेर्दा समेत भानुभक्त, लेखनाथ, सम र देवकोटाकोभन्दा बढी आँक्न सकिने अवस्था देखिँदैन ।
घिमिरेको जत्ति र अझ सोभन्दा बढी साहित्यिक योगदान दिएका कवि–लेखकहरू विगतमा मात्र होइन वर्तमानमा समेत राज्यबाट उपेक्षित देखिएका छन् । राज्यले साँच्चिकै कवि–कलाकारहरूको सम्मान गर्न सुरुवात गरेको हो भने घिमिरेलेभन्दा बढी र उत्तिकै योगदान दिएका थुपै्र जीवित प्रतिभाहरूजो खाइनखाई साहित्य–सेवा गरिरहेका छन् । किन तिनीहरूलाई सम्झिने प्रयाससम्म पनि गर्दैैन ? औषधोपचार नपाएर मृत्युको सन्मुख पुगेका प्रतिभाहरूलाई किन वास्ता गर्दैन ? जनताको पक्षमा लेख्ने लेखकहरूलाई घोर उपेक्षा गर्दै किन सत्ता र शासकको स्तुतिगान गर्ने लेखकहरूलाई मात्र सम्मान र पुरस्कार पस्किरहन्छ ?
यसरी हेर्दा कवि घिमिरेलाई दिइएको राष्ट्रकविको पदवी र राज्यले गरेको अभिनन्दन साहित्यिक योगदानको कदरभन्दा घिमिरेले राणाकालदेखि निरन्तर रूप मा गरेको शासकप्रतिको निष्ठाभावको कदर हो कि भन्न सकिन्छ । यदि राज्यले यसरी नै उसको साहित्यिक निष्ठा र योगदानलाईभन्दा शासकीय निष्ठालाई सम्मान गर्दछ भने त्यस्तो सम्मानको खासै मूल्य रहँदैन ।
राष्ट्रिय सम्मान ः औचित्यका केही सवाल
घिमिरेले राज्यस्तरबाट जति सम्मान र पुरस्कार पाएका छन् त्यति अरु कुनै पनि नेपाली साहित्यकारले पाएको देखिँदैन । लेखनाथले कवि शिरोमणिको पदवी र सार्वजनिक रथयात्रा भेटाए पनि घिमिरेलाई जति सम्मानित र पुरस्कृत गरिएन भने बालकृष्ण समले पाएका गो.द.वा. पदक र पृथ्वी प्रज्ञा पुरस्कार पनि उनको साहित्यिक योगदान हेर्दा सामान्य नै लाग्दछ ।
देवकोटा त समकालीन लेखकहरूमध्ये राज्यबाट सबैभन्दा बढी उपेक्षित कवि हुन् जसले जनस्तरबाट प्रशस्त माया र सम्मान पाएर पनि बाँचुन्जेल राज्यस्तरबाट कुनै पदवी र पुरस्कार पाएनन् बरु बिरामी भएको बेलामा आफ्नो पारिश्रमिकसमेत रोक्का गरिदिएर एक किसिमले हत्या नै ग¥यो । त्रिभुवन प्रज्ञा पुरस्कार पनि गोहीले आँसु चुहाएझैं मृत्युपछि मात्र प्रदान गरिएको थियो । महाकविको पद्वी जनस्तरबाट दिइएको थियो ।
क्यान्सरको उपचारको लागि आवश्यक सहयोग गरिदिन कविले प्रधानमन्त्रीलाई निवेदन पठाउँदा समेत तत्कालीन जननिर्वाचित प्रधानमन्त्रीले कुनै वास्ता नगर्दा उपचारको अभावमा कविले आफू मात्र होइन तन्नेरी छोरालाई समेत गुमाउन पुगेका थिए ।
नाटक, निबन्ध र उपन्यासको क्षेत्रमा महŒवपूर्ण योगदान दिने हृदयचन्द्रसिँहको अवस्था झन् खराव थियो र उनी राज्यबाट सदा उपेक्षित र प्रताडित रहे । देश र जनताका कविता लेखेर गाउँ–घर, सडक–गल्ली तथा प्रवासमा समेत पुगेर जनतालाई सुनाउँदै हिँड्ने कवि गोकुल जोशीको अल्पायुमै भएको पीडादायी मुत्युमा राज्य वेखबर रह्यो ।
माधव घिमिरेलाई भने जनस्तरबाटभन्दा राज्यस्तरबाट अत्यधिक सम्मानित र पुरस्कृत गरेको पाइन्छ । राज्यले गरेको सम्मान र व्यवहारिक चातुर्यको कारण नै लमजुङबाट काठमाडौं आएका घिमिरे भौतिक रूपमा निकै सम्पन्नशाली बन्न पुगेका छन् ।
माधव घिमिरेले साहित्यको सेवा गरे वापत प्राप्त गरेका पुरस्कार र सम्मानहरूमध्ये प्रमुख पुरस्कार यस प्रकार रहेका छन्, (१) त्रिभुवन प्रज्ञा पुरस्कार (२०३३), (२) गोरखा दक्षिण बाहु द्वितीय (२०३७), (३) मालती मङ्गले विशेष नगद पुरस्कार (२०३८), (४) सीताराम साहित्य पुरस्कार (२०५१), (५) आदिकवि भानुभक्त पुरस्कार (२०५२), (६) भूपालमानसिँह पुरस्कार (२०५६), (७) बसुन्धरा सम्मान (२०५७), (८) सुप्रसिद्ध गोरखा दक्षिण बाहु प्रथम (२०५७), (९) साझा पुरस्कार (दुईपटक), (१०) राष्ट्रिय प्रतिभा पुरस्कार (२०६०), (११) मासिक पारिश्रमिक पाउने गरी ‘राष्ट्रकवि’ को पदवी (२०६०), नेपाली सेनाबाट मानार्थ जर्नेलको पदवी …आदि ।
यसरी कवि घिमिरेले नेपालमा स्थापित ठूलो धनराशिका पुरस्कारमध्ये पृथ्वी प्रज्ञा पुरस्कार वाहेक अधिकांश साहित्यिक पुरस्कार प्राप्त गरेको देखिन्छ । यति मात्र होइन २०१८ सालमा राज्यबाट कवि लेखकहरूलाई जग्गा वितरण गर्दा उनले तराईको १२ विघा जमिन आफ्नो हातमा पार्न सफल भएका थिए ।
उनले प्राप्त गरेका पुरस्कारमध्ये कतिपय पुरस्कार उनको योगदान अनुकूल नै प्रदान गरिएको देखिन्छ भने कतिपय चाहिँ अतिशयोक्तिपूर्ण देखिन्छ । उदाहरणका लागि राष्ट्रिय प्रतिभा पुरस्कार(२०६०) लाई लिन सकिन्छ ।
पाँचै विकास क्षेत्रका साहित्य, कला र संस्कृतिका साधकहरूलाई प्रोत्साहित र सम्मानित गर्ने उद्देश्यले २०५१ मा स्थापित यो पुरस्कार हरेक वर्ष २५–३० जनालाई पुरस्कृत गरिँदै आएको पुरस्कार हो । अधिराज्यभरिका र अझ विशेषतः राजधानी बाहिरका २५–३० जनालाई पुरस्कृत गरिनुपर्नेमा त्यस्तो प्रक्रिया विपरीत पुरस्कारको राशि वृद्धि गरेर घिमिरे सहितका केवल चारजनालाई जनही एकलाखका दरले सो पुरस्कार प्रदान गरियो ।
प्रशस्त, सम्मान र पुरस्कार पाइसकेका र स्थापित भइसकेका घिमिरे जस्तालाई यस्तो पुरस्कार प्रदान गरिनु औचित्यपूर्ण थिएन । घिमिरे नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य, उपकुलपति र कुलपतिसमेत गरी २६ वर्ष रहे । प्रज्ञा प्रतिष्ठानमा यति लामो समयसम्म बस्ने उनी मात्र हुन् ।
पुरस्कार र सम्मान पाएर मात्रै कुनै पनि व्यक्तिको उचाइ बढिहाल्ने र नपाउँदैमा घट्ने हुँदैन र यस्तो भएको पनि छैन । विश्व साहित्यमा हेर्दा कुनै पनि सम्मान र पुरस्कार नपाएका प्रतिभाहरूलाई पनि विश्वले युगौंसम्म सम्मान गर्दै पढिरहेको तर अत्यधिक सम्मान र पुरस्कार पाएका (विशेषतः राज्यस्तरबाट) स्रष्टाहरूपनि मृत्युसँगै हराएर गएका पनि पाइन्छन् ।
साहित्यमा नोबेल पुरस्कार नपाए पनि टाल्सटाय र गोर्कीको योगदान पुरस्कार पाएका अन्य साहित्यकारको तुलनामा कम ठानिदैन । नोबेल शान्ति पुरस्कार नपाए पनि गान्धीको अहिँसात्मक आन्दोलनको योगदान र महत्व दलाइ लामाजस्ता पुरस्कार प्राप्त व्यक्तिहरूको भन्दा बढी देखिन्छ ।
राज्यस्तरबाट कुनै सम्मान र पुरस्कार नपाए पनि जनताले माया र सम्मान गर्दै आएका धेरै कवि लेखकहरू नेपालमै छन् ।
यसरी के भन्न सकिन्छ भने केही गीत वा कवितामा देशको भूगोल, जाति र प्रकृतिको महिमा गाउँदैमा कोही राष्ट्रकवि हुन सक्तैन ।
एउटा देशभित्र आफ्नो देशलाई माया गर्ने, जनताको उन्नति र प्रगतिको चाहना राख्दै प्रगतिका स्वरहरू उराल्ने थुप्रै कवि–लेखकहरू हुन्छन् । यसैले कुनै एउटा मात्र कवि राष्ट्रकवि हुन सक्तैन, यसले अरु धेरै कविहरूको अवमूल्यन गरेको ठहर्छ ।
माधव घिमिरेलाई दिइएको ‘राष्ट्रकवि’ सम्मान र पदवी उनको साहित्यिक योगदानलाई भन्दा उनले राणाकालदेखि गर्दै आएको शासकप्रतिको निष्ठा र भक्तिभावको उच्च मूल्याङ्कन गरी प्रदान गरिएको देखिन्छ ।
प्रमुख सन्दर्भ
पोखरेल, भानुभक्त (२०५९) कवि घिमिरेको रचनायोग काठमाडौंः साझा प्रकाशन ।
मूल्याङ्कन मासिक, पूर्णाङ्क ११०
गरिमा मासिक, पूर्णाङ्क २५०
गोरखापत्र दैनिक, २०६० असोज २४ ।