सधै प्रफुल्ल भई कलकल बग्ने
फन्को मार्दै सयौँ पहाडहरू घुम्दा नथाक्ने
वितगको कञ्चन नदी म
कलियुगीन बेथितिका रङ्गहरूसँगै रङ्गिदै
हिजोआज नयनबाट धमिलो अश्रुधार बगाउँदै छु ।
म कहिले मेरा लागि बगेँ ?
म कहिले मेरा लागि सङ्लिएँ ?
म कहिले मेरा लागि गतिशील भएँ ?
पानी नै जीवन हो भन्ने मन्त्र कस्ले बनायो ?
मैले आफ्नो पूजा कहिले गरेँ ?
कहिले खेलेँ र मैले
राजनीतिको नाममा फोहोरी खेल !
कहिले गरेँ र मैले
आमालाई बेच्ने दुस्साहस !
बिगारेँ के मैले ?
बोकाउँछौ मलाई तिमी फोहोरको भारी
खन्याउँछौ मेरै शिर ताकी एसिड अनि विषाक्त केमिकल !
तिम्रो लास पोल्न म आफ्नो छाती थाप्छु
तर तिमी मलाई निशाना गरी फोहोरको डङ्गुर लगाउँछौ
म सकिनसकी निसङ्कोच निर्मल हुने साधना गर्छु
भित्रभित्रै उमङ्गित हुन्छु तिम्रो प्यास मेटाउँदा
फोहोर बागमती भन्छौ
छ्या ! बिष्णुमती भन्छौ !
आफै बिगार्छौ, आफै गाली गर्छौ !
तिमी कस्तो मान्छे ?
तिमीलाई मेरो आँखाले
केवल तिम्रै सपना देख्नु गल्ती भएछ
तिमीले दिएको पीडालाई बिर्सन
सङ्गीतको धुन सिर्जना गर्नु
मेरो भुल भएछ
बिर्सन तिम्रो अत्याचारलाई
आफ्नै लयमा क्रियाशील हुँदै
बगाउनु अविछिन्न सौन्दर्य धारा
मेरो दोष हो भने
म आफ्नै शिरले चट्टान फुटाउन पनि सक्छु ।
कहिल्यै आफ्नो स्वधर्म नछोडी
तिम्रो अस्तित्व रक्षार्थ
तिम्रै हरेक गाँसमा हाजिर भई
हरपल तिम्रै नसानसामा बगिरहने म
अझै, तिमीले नै बोकाएको फोहोरको भारी बोक्दै छु ।
तर याद गर,
तिम्रा लासहरू आफ्नै छातीमा पोल्न सक्ने म
तिम्रो भरिया मात्र होइन !
तिम्रा बम र बारुद नै अतालिने
कठोर चट्टान पनि फुटाउन सक्छु
बाढी बनी तिम्रो गाउँबस्ती सिध्याउन सक्छु
अनि, धर्तीका सम्पूर्ण कलुषताहरू पखाल्न
कठोर सुनामी पनि बन्न सक्छु ।
त्यसैले, समयको एउटा लामो निस्सारतापछि
म तिम्रो अत्याचार सहन नसक्ने भइसकेको छु
तिम्रै लागि सहिष्णुता, सहअस्तित्व र नवनिर्माणको सपना देख्ने म
तिम्रो कोरोना पखालेर थाकेको छैन
अझै तिमीले बोकाएको फोहोरको भारीले गलेको पनि छैन
त्यसैले ए मान्छे !
के तिमी मैले भोगेको यातना एकचोटि सुन्न तयार छौ ?