कोभिड उन्नाइसका कारण पुस्तक व्यवसाय धराशायी हुँदै गएको छ ।
हुन त पुस्तक व्यवसाय मात्र हैन अन्य व्यवसायको हालत पनि यस्तै छ । तुलनात्मक रूपमा सबैभन्दा बढी प्रभावित भएका व्यवसायमा पर्यटन र पुस्तक व्यवसाय पर्छन् । कोभिडका कारण व्यापार व्यवसाय चौपट बनेको छ । बजार सुनसान छ । व्यापारीहरू कहिले महामारी कम होला र व्यवसाय सुरु गरौँला भन्दाभन्दै छ महिना बितिसकेको छ । तर कोभिडको सन्त्रास घट्नुको साटो बढ्दो छ ।
२०७६ साल नसकिदै कोरनाको महामारी सुरु भयो । महामारीले सिर्जना गरेको आतङ्कले सबैतिर सन्त्रास फैलिनु स्वभाविकै थियो । सबैभन्दा ठूलो आतङ्क त सरकारबाट सिर्जना गरिएको थियो ।
मानिसहरू जसरी पनि सुरक्षित हुने ध्याउन्नमा लागे । कोही पुर्खौली थातथलो खोज्दै गाउँतिर लागे कोही घरभित्र थुनिए । यस्तो अवस्थामा पुस्तकमाथि बहस हुने कुरो भएन ।
उद्योगधन्दा, व्यापार, व्यवसाय बन्द भैसकेको थियो । बजार सहर सुनसान थिए ।
बिचमा केही समय बजार सामान्य रूपमा खुले पनि बन्दाबन्दी फेरि दोहोरिएको छ ।
सरकारले लगाएको पुस्तकमाथिको करका कारण पुस्तक व्यवसाय त्यसैपनि ओरालो लागेको अवस्था थियो । पुस्तक व्यवसायीले यही कारण देखाउँदै पुस्तक प्रदर्शनी बन्द गरेका थिए । पर्दशनी नहुनु भनेको पुस्तकको प्रचारप्रसार र व्यापार ठप्प हुनु हो ।
२०७६ सालमा प्रकाशकले गुणस्तरीय कृति बजारमा नल्याएका हैनन् । तर बजारै ठप्प भएपछि कसले किनेर पढ्ने ?
बजारमा उत्कृष्ट पुस्तक आउँदा पनि कोरोना महामारीले ती पुस्तकहरूको कतै पनि चर्चा सुनिदैन । सञ्जिव उप्रेतीको ‘हंश’, विष्णु भण्डारीको ‘सुनको पहाड’, दामोदर न्यौपानेको ‘सम्पदाको लडाइँ’, सरुभक्तको ‘प्रतिगन्ध’, सुजित मैनालीको ‘शिलान्यास लगायत कृतिहरू विषयवस्तु र भाषाशैलीका दृष्टिले सुन्दर कृति हुन् ।
गतसाल इतिहास, साहित्य, समाज र राजनीतिक विषयमा प्रशस्तै कृतिहरू बजारमा आए । ‘सन्दुक रुइत’ वर्षको सुरुमै निस्किएकोले अलि बढी चर्चा पायो । एकाध कृतिले चर्चा पाएपनि अन्य कृतिहरू छायामा परे ।
मदन पुरस्कार गुठीले भर्खरे २०७६ सालको मदन पुरस्कारका लागि उत्कृष्ठ पुस्तक सूचि सार्वजनिक गरेको छ । गुठीले प्रकाशित गरेको सूचिमा विमल निभाको ‘जोकरको बन्दुक’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, ललित विष्टको ‘मोहपथ,’ शारदा शर्माको ‘यात्रामा’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’ र योगी धर्महारसको ‘महारसनिघण्टु’ रहेका छन् ।
मदन पुरस्कारको पुस्तक सूचि प्रकाशित भएपछि पुस्तकमाथिको चर्चा र व्यापार बढ्छ भन्छन् पुस्तक प्रकाशकहरू । सूचिमा परेका पुस्तकको बिक्री अलि बढेपनि कोरोनाले पुस्तक व्यावसायीलाई एकदुई वर्ष उठ्नै नसक्ने गरी असर पु¥याएको छ भन्छन् फिनिक्स बुक्सका अध्यक्ष गणेश सुवेदी ।
कोरोनाका कारण बजारमा गएका पुस्तकको रकम पनि फर्किएको छैन । जसले गर्दा कतिपय प्रकाशकलाई त अफिसको खर्च चलाउन पनि धौधौ भएको अवस्था छ । सुवेदी थप्छन्, ‘बजारलाई कोरोनाको बहाना पनि भएको छ । हामीलाई भने बजारबाट आउनुपर्ने रकम नआएपछि चल्नै नसक्ने अवस्था सिर्जना भएको छ ।’
त्यसै त नेपाली समाजमा पठन संस्कृति कमजोर छ त्यसमा पनि कोभिड उन्नाइसका कारण यो व्यवसाय चौपट हुने भयो नै ।
सांङ्ग्रिला बुक्सका अध्यक्ष मणि शर्र्मालाई कोरोनाकालमा पुस्तकको बिक्री कस्तो छ भनेर सोध्दा उल्टै ‘यो बिचमा तपाईंले कति पुस्तक किन्नुभयो’ भनी प्रतिप्रश्न गर्छन् । यो बिचमा पुस्तक व्यापारको दशाबारे उनी भन्छन्, ‘दालभात जुटाउन त गाह्रो छ पुस्तक कसले किन्छ ?’
शिखा बुक्सका अध्यक्ष पुष्प पौडेलको धारणा भने अलि फरक छ । उनी भन्छन्, ‘कोरोनाले विश्व बजारमा नै असर पारेको हुँदा हाम्रोमा असर पर्नु स्वभाविकै भयो । तर पर्यटन व्यवसायलाई जस्तो हामीलाई असर पु¥याएको छैन ।’
मन्जरी बुक्सका अध्यक्ष कृष्ण अविरल यो बिचमा केही समय बजार खुलेपनि कारोबार नभएको बताउँछन् । उनी भन्छन्, ‘पूर्व अर्थमन्त्री युवराज खतिवडाले गैरजिम्मेबार तरीकाले पुस्तकमा कर लगाएपछि थला परेको पुस्तक व्यवसाय कोभिडका कारण कोमामा पुगेको छ ।’
पुस्तक ज्ञान आर्जनका लागि महत्वपूर्ण वस्तु हो भन्ने नबुझेसम्म यसको प्रवद्र्धनमा सहयोग पुग्दैन भन्छन् उनी । उनी थप्छन्, ‘लकडाउन खुलेपनि पुस्तक व्यवसाय बौरिन समय लाग्छ ।’
पुस्तक प्रकाशकको त यो हाल छ भने वितरक र खुद्रा व्यापारीको हालत कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।
पुस्तकमाथि कर लगाएर पठन संस्कृति विरोधी देखिएका अर्थमन्त्री पदमुक्त भैसकेका छन् । उनी सरकारबाट बाहिरिए पनि पुस्तकमाथिको कर बाहिरिएको छैन । पुस्तक व्यवसायलाई अन्य व्यवसायजस्तो देख्नु सरकारमा बस्नेहरूको अदूरदर्शी सोच हो ।
कोरोना त कुनै दिन साम्य होला तर सरकारमा बस्नेहरूको सोच परिवर्तन भएन भने पुस्तक व्यवसायले गति लेला भन्न सकिदैन ।