तिखो ढुङगाको ठुँगाइलाई
चित्त बुझ्दो उत्तर
भल्भल्ती बगेर रगतले दिन्छ
नपुगे, आँखा थोरै बर्सिदिन्छ
ढुङ्गो सन्तुस्टिमा चुप चाप हुन्छ
म मौन बसिदिन मिल्छ।
यो धेरै सजिलो छ ।
तिम्रो निमेष भरको साथसँग जोडिएका
अगणित प्रश्नका अविरल छालहरुलाई
सम्बोधन गर्ने मसँग न समय छ
न यसले कुनै अर्थ राख्छ विद्वानहरुको भीडमा ।
म लड्न आँटे कदापि नथाम्नु यी हातहरु
यसैमा तिम्रो अनि मेरो भलाइ छ
जान्दछौ !
म फरिया लगाउँछु
तिमी जाँघे लगाउँछौ ।
म निमोठिनु पर्छ, चिमोटिनु पर्छ
जानी जानी फुलेकी हुँ
दुखे झैँ नगर्नु मेरा पीडा र कुण्ठाहरुमा
रन्थनिदै पीडाले
डाँको छोडेर रुन आएँ तिम्रो सानिध्यमा भने !
होसियार !
पग्लिएर नथाप्नु काँध
नमार्नु धाप आर्तनादहरुमा
झन् अंकमाल त गर्दै नगर्नु
तिमी बदनाम हुन सक्छौ
जान्दछौ !
म फरिया लगाउँछु
तिमी जाँघे लगाउँछौ ।
हो ! जुन दिन सम्म
फरिया र जाँघे भित्रको सम्बेदना एक हुँदैन
मन र मनबिच विभेद हट्दैन
छोटो जिन्दगीमा लामा प्रस्नको अन्त्य हुँदैन
प्रशंसा नगर्नु मेरा गुणहरुको
तिमीलाई अप्ठ्यारो पर्न सक्छ ।
जान्दछौ!
म फरिया लगाउँछु
तिमी जाँघे लगाउँछौ ।
(न्युजिल्यान्ड)