हामी केटाकेटी नै थियौँ । मलाई अलिअलि स्मृति छ, धुधिँलो स्मृति । मैले हेक्का पाउँदा देखेको जगतदाइको मुखाकृत भुल्दिनँ । पुलिसहरू आएका थिए गाउँमा । अनौठो लागेको थियो । रातो गोलो टोपी, खाकीको खैरो बर्दी, हातमा रातो कापी र लौरो मात्र थियो । तीनजनामा, दुईवटाले बन्दुक र एउटाले फलामको साङ्ली बोकेको थियो । हामी त नजिक परेनौँ । पञ्च, शम्भु मास्टर, मेल्टरी माइलो सबै जम्मा भए ।
पुलिसहरू पिँढीमा गुन्द्री विच्छ्याएर बसेका थिए । उनीहरूलाई हेर्न र गाँउकै पहिलो घटना देख्न प्रायः सबैजसो गाँउले आँगनको डिलभरी उभिएका थिए, सानोतिनो जात्राजस्तै भएको थियो । पुलिसहरूलाई भात र कुखुरा पकाउन हाम्रा बा र काहिँलोलाई प्रधानले सुम्पेका थिए । जगतदाइ दुईजना पुलिसहरूबीचमा खुसी मुद्रामा थिए ।
जगत दाइको बुर्सटमा कलम भिरिएको थियो । शिरमा उच्च टोपी, मसिना दाह्री, कलकत्ते पाइन्ट । म छक्क परेको थिएँ । जगतदाइ किन छाती पिटिपिटी रोएनन् ? नक्सालीज्यामा पनि पटक्कै रोइनन् । पुलिसका लागि काट्ने कुखुराको प्रबन्ध र राम्रो चामलको व्यवस्था पनि स्वयम् पञ्चले नै गरेका थिए ।
सबै जम्मा भएपछि जुङ्गामुठे पुलिसले एउटा पर्ची निकालेर पञ्चलाई दिए । पञ्चले शम्भु मास्टरलाई सुम्पदै जगतदाइतिर हेर्दै भने, ‘हेर जगते, तेरा बाउ नक्सालवादी विद्रोही बनेर हिँड्दा झापामा मारियो, तँलाई र तेरी आमालाई पनि गाँउमा ल्याएको तीन वर्ष बित्न नपाउँदै तँउपर अड्डाले शङ्का मानेर पक्रिन पठाएका रहेछन्, तेरो जिकिर के छ त ?’
जगतदाइले हात बाँध्दै बोले, ‘के हुनु ? पहिले म अभियोगपत्र सुन्न चाहन्छु ।’ त्यसपछि शम्भु मास्टरले चश्माको खुट्टा नाकमा टेको लगाउँदै पत्रलाई बाँचे ।
सबैका कान टाठा थिए । हामीले त त्यति अर्थको हेक्का लगाउन सकेनौँ । ठूला मान्छे भनेको सुन्दा जगतदाइले पञ्च¥यालीमा बम हान्न सरकार विरोधीसँग मिलेमतो गरेका थिए रे ! मास्टरले पर्ची बाँचिसकेपछि पञ्चले जगतदाइसँग आफ्नो पक्षमा जिकिर राख्न भने । जगतदाइले इन्कारे । जुङ्गे पुलिसले झपा¥यो डरलाग्ने स्वरमा । तर उनको मुहारमा कुनै पीडा भने थिएन । नक्सालीज्यामाले भने पुलिसहरूलाई झपारिन्, ‘के च्याँठिन्छौ मारोहरू, नम्र भए पनि के नासिएला र ? नुनको सोझो गर्नु हैन ? तिमीहरू पनि म जस्तै बूढीकै जगतेजस्ता छोरा हैनौं ? के परदेशीलाईझैं व्यवहार गर्छौ ? अझै सरकारले अपराधी किटेको छैन । त्यही पनि यिनीहरूले बम नहाने, विद्रोह नगरे तिमीहरूको बाँच्नु र खानु केलाई ?’
सबै पुलिसहरूलाई आक्रोशको तीव्र चापले च्यापेजस्तो थियो तर खै किन हो कोही केही बोलेनन् ? यिनीहरूमा यो जुङ्गेबाहेक सबै लाटाझैँ थिए । जुङ्गे पुलिसले केही ईशारा ग¥यो । त्यसपछि जगतदाइलाई फलामको साङ्लीले कसियो । नक्सालीज्यामा फेरि बोलिन्, ‘के ज्यानमारालाईझैँ नेल ठोक्छौं ?’
पुलिसहरू केही बोलेनन् । भान्सा तयार भयो काइँलाऊ पानी लिएर आए । तीनजना बाहिर उभिईउभिई हातमा थालभरि भात र मासुको चोक्टाको चुली बोकेर स्वादले खान थाले । सबै दङ्ग थिए हेर्ने जति । पञ्च, मास्टर, मेल्टरी माइलो भित्र गए साथमा जुङ्गे पुलिस र अर्को भुँडे पनि । म पनि अरुझैं आँगनको डिलपारी नै थिएँ । कसो हाम्रा बा बाहिर उभिएका पुलिसलाई थप खानपान ल्याएर बाहिर आए, मलाई देखे र डाके । म … म खुसी हुँदै डराई–डराई बाको पछि लागेँ भित्र ।
भित्र चरेश थालमा मसिनो ध्यूमरी चामलको फुर्र परेको भात, झोल नहालेको, कोलको तेल तैरी रहेको भुटुवा मासु, कचौराभरि टम्म बाह्रमसलाको बास्ना बोकेको झोल मासु र बोम्जन माइलोकहाँबाट ल्याएको तीनपाने रक्सी अगाडि राखेर जुङ्गे पुलिस, मेल्टरी, पञ्च र मास्टर बासेका थिए । एक–एक वटा बोटुकोभरि हाम्रा बाले रक्सी खन्याए । सबैले भुटुवाको बोटुको अगाडि सारे र रक्सी पिउन थाले । म भ¥याङको कुनामा थिएँ । उनीहरू जगतदाइको बारेमा कुरा गर्दै थिए । जुङ्गे पुलिसले पञ्च बालाई कानेखुसीझैँ गरेर भित्रभित्र सुन्ने गरी भनेथे … ‘सुन्नु भो काजी ! हामीलाई त यसले ‘नाथे’ जस्तो ग¥यो, सत्कार, सेवा क्यै छैन, आमाचाहीँ बढी मापाकी रै’छ । देशमा पञ्चायतविरुद्धको मुद्दा मात्र नभएको भए मैले जानेको थिएँ । त्यस बूढीयालाई । जे होस् तपाईजस्तो राष्ट्रभक्त हुनुहुन्थ्यो र पो यसो दुई गाँस बुको खान भए पनि पाइयो ।’
पञ्चको आँखामा उज्यालो भरियो, बोटुको मुखमा लगे र एक सिरिप्प गरेपछि बोले, ‘के गर्नु जम्दार साब, आफ्नो निवास अलि टाढा प¥यो । यो गाँउठाँउ च्यानडाँडा नै यस्तै नमिलेको अप्ठ्यारो भन्या हजुर । पल्ला गाँउ पुग्नुपर्छ । नभए बास यतै बसौं । बाह्रपन्ध्र धार्नीसम्मको सानो पाठो रेटौंला ।’
मास्टर भने दुवैतिर कुरा मिलाउँदथे । उनलाई सरकारको बारेमा पनि थाहा थियो र गाँउको बारेमा पनि । उनी च्याँट्टी च्याँट्टी मतर्फ पनि आँखा लगाउँदै बोल्दथे । म उनीसँग पाठशालामा दुनोट सिक्न जाने गर्दथे । यही क्रममा उनले मलाई भनेथे, ‘के चोखा लाग्ने गरि टुल्किन्छस् मोरो । ए तोर्मे ! कुखुराको खुट्टासुट्टा छैनन् दे, ए तेरो स्वाँठ तिउकेलाई ।’
सबै आ–आफ्ना कुरा–कामका व्यस्त थिए । मलाई पनि मास्टरले भनेपछि बाले तीनैओटा चौटा र एकाध बटुको भात झोलामा डुबाएर दिए । मलाई त्यो भात खान साह्रै विस्मात लागेको थियो । खै किन हो मास्टरले मलाई भनिहालेथे, ‘हैन के टुल्किन्छस् मोरो तिउके बसेर खपाखप घिच् । बुबुरो भएर बक्बक् सुन्नुहुन्न ।’ उनले पञ्चतिर हेरेर भने, ‘कहाँ हजुर ! गोप्य त बच्चाबच्चीबाट टाढै राख्नुपर्छ । अहिले रहरलाग्दो देखेर के गर्नु ? भविष्यमा डरलाग्दो पो हुन्छ मान्छेको जात । नीतिका कुरा क्या ।’ सबैले आँखा मतिर लगाए मैले आँखा बटुकोको भातमा गाँडे । बाले उनीहरूलाई हेरेर ङिच्च हाँसे र मलाई हेरर हपारे । तिउके के हेर्छ मोरो ? खपाखप खा । म बसेर खान लागेँ । मलाई गाँस निल्नलाई गाह्रो भो, मासुको स्वाद खल्लो गुन्दु्रकको झोल भो ।
सबैले भात खाइसकेपछि जगतदाइलाई उनीहरूले साङ्लीले गर्दनमा बेरेर हात र खुट्टामा सिक्री झुण्ड्याएर लगे । त्यतिबेला त्यहाँ सबैको सास रोकिएकोझैँ थियो । मैले ठानेको थिएँ जगत दाइ बेसरी रून्छन् होला, तर रोएनन् न त नक्सालीज्यामा । ज्यामाले बोलाइन्, ‘पर्खी जगते’, त्यसपछि पुलिसहरूले पनि एकछिन जगतदाइलाई रोके । नक्सालीज्यामाले अगाडि बढेर भुइँको माटो निधाराँ लगाइदिइन् र भनिन्, ‘माटोको मूल्य चुक्ता गरेस् जगते ।’
जगतदाइले एकमुठ्ठी माटो पाइन्टको खल्तीमा हाले । सबैझैँ म पनि दङ्ग र चुप रहेर हेरिरहेँ । सबै गाउँले आ–आफ्नो तर्क पोख्दै कानेखुसी गर्दै पुलिसहरूले जगतदाइलाई नेटो कटाएको हेरिरहे । कोही पनि गएर ज्यामालाई ढाडस दिएनन् । हाम्रा बाहरूले पनि थाल, भाँडा आ–आफ्ना स्थानतिर ओसारे । सबैले ज्यामालाई छोडेर गए । लाग्दथ्यो गाउँले सबै नक्सालीज्यामासँग पनि रिसाएका जस्ता थिए । अस्तिन हाम्रा बाले आमालाई भनेथे, ‘लोग्नेचाहिँलाई डाँका मारेझैँ मार्दा पनि लोग्नेको क्रिया गरिन, छोरालाई बरखी बस्न लगाइन । कस्ती ठिमा ! तेरा खुट्टा भाँचौँला । जुनेल मारेको लोग्नेलाई सहिद भएको केके नाथे कुरा गर्ने कुलतको संगतमा नगएस् नि । नक्साली त मधिसेनी हो नि ! चिनेजानेर के गर्नु पानी पनि खानु हुन्न बुझेकी छस् ।’
बाको वचन सम्झेर मपनि नक्सालीज्यामाको अगाडि नपरी अरुसँगै गएँ, फर्किएँ । मनमा एकचोटि ज्यामासँग गएर बसुँ कुरा गरुँजस्तो लागेको थियो । तर हिम्मत भएन ।
ती बालकको बात थियो । जगतदाइलाई लगेको सोह्र वर्ष बितिसकेको थियो । नामै हराइसकेको थियो । नक्सालीज्यामा पनि खसेको चारवर्ष बितिसकेको थियो । हामी तल्ला स्वाँरामा बसाई गइसकेको पनि चार ÷पाँच वर्ष बितिसकेको थियो । नक्साली बूढी बौलाई रे ! माटो कोपरेर खान्छे रे ! भन्ने सुनेको थिएँ । एकपल्ट भेट्न जान्छु भन्दाभन्दै फुर्सतै भएन । त्यसदिन पाँच÷सातवटा नास्पाती बोकेर बूढीकहाँ उकालो लागेको थिएँ । बूढी त बेलुकी नै खुस्किछन् । बडो विस्मात लाग्यो । सोह्र वर्ष अगाडिको जगतदाइ र म (तिउके) त्यै घरको सेरोफेरो आखाँभरि छायो, मन नै कोक्कियो । आँसुले आँखाको कुलेसो पनि भत्कायो । त्यसदिन बूढीलाई लगेर पुरपार पारियो । पञ्चले घरमा ताला लगाए ।
वर्षहरू विते । तिउरे र तिलौरी पनि जन्मिए । बाहरू दाइसँग मधेश बसाइँ गए । जिन्दगी त्यसै लेक–बेंसी, भीर–पाखाभित्र हराउँदै गुज्रेछ । के–के थियो, हेर्दाहेर्दै केके भयो । पञ्चायत जाने भो रे भन्ने हल्ला चल्यो । पञ्चले बडो चतु¥र्याइँ जमायो । गाउँमा पञ्चायत गै छाड्यो रे भन्ने सुनियो । बहुदल आयो । पञ्च बा पनि नयाँ पार्टीमा लागे रे । गाउँभरि नयाँ पार्टी, नेता, अधिकारका आदि कुरा चल्न थाल्यो ।
एकाएक बहुदल आएपछि जगतदाइ गाउँमा आए । अनौठाका भएछन् । कपाल तिलचामल भएछ, च्याँसे झुस्स दाह्री भएका तर फुर्तिला । उनले निकै बहुदलको चर्चा गरे । ठाउँ–ठाउँको पञ्चको पाप खोले तर आफ्नो पार्टी र गाउँको पञ्चको बारेमा क्यै बोलेनन् । उनले अब फेरि अर्को प्रजातन्त्र आउन बाँकी छ भन्ने कुरामा मात्र जोड दिएका थिए । चुनाव अगाडि उनी देखा परेनन् । गाउँका सबैले पुराना नुन ख्वाएका काजीलाई नछाड्ने भने । मैले पनि उनकै चिन्नलमा छाप ठोकेँ ।
जगतदाइ तीनवर्षपछि गाउँमा आए । मेरै घरमा बास बसे । उनीसँग अरु चार जना नचिन्ने मान्छेहरू पनि थिए । उनीहरूसँग बन्दुक पनि थियो । दुई मेल्ट्री खालका टोपीवाला ती क्यै नबोल्दा रहेछन् । जगतदाइले सबै ढोका, झ्याल बन्द गर्न लगाए र मलाई जुनेली, तिउरे र तिलौरीलाई अगाडि राखे । मलाई त डर थिएन । तिलौरी र जुनेलीको ओठमुख सुकिसकेको थियो । त्यो देखेर जगतदाइले भने, ‘तिउके दाइ, भाउजु नडराउनुस् हामी तपाईकहाँ शरण पर्न आएका हौँ । तपाईलाई लुट्न आएको हैनौँ । विचार गर्नुस् हामी लुट्ने भए तपाईकहाँ नै किन आउने थियौँ ? गाउँमा तपाईभन्दा निकै धनवान्हरू छन् । हामी त तपाईंको आन्तरिक जाग्न खोज्ने भावनाको नाताले शरण पर्न आएका ।
तपाईंहरू हामीलाई डाका पनि नसोच्नुस् । यहाँ हामी डाँकाहरूलाई डाँका डाल्न फटाहाहरूलाई कारवाही गर्न निस्केका सर्वहाराका सिपाही हौँ । आफ्ना सबै रहर सपना र घरबार, परिवार त्यागेर, माया–मोह माटोलाई अर्पण गरेर तपाईंजस्तै झुत्रो जिन्दगी बोकेर गोठाला बाँचेका दुःखीका अधिकार खोज्न निस्केका हौँ ।’
उनी कति गतिलो कुरा गर्दै थिए, बाहिर एक्कासि पुलिसहरूको धावा सुनियो । त्यसपछि गोलीको वर्षा शुरु भयो । मेरा आफ्ना आखाँ अगाडि क्रमशः जगतदाइ, ती तीनजना अपरिचितबीच मुठभेड भयो । तीन सिपाही गोलीको लप्कामा ढले । अनि जगतदाइ र आँखै अगाडि तिल्के, तिलौरी र जुनेली ढल्दै थिए । मेरो सम्पूर्ण चेत हरायो । म केराको खम्बाझैँ भुइँमा मूच्र्छा परेथेँ । जब होस् खुल्यो तब मैले सबै गुमाएको थिएँ । मेरो एउटा खुट्टो पनि थिएन । म जेलका ठूलो डण्डीभित्र कैदी मुसो भएर रहेँ । न त विशाल पहाड खोक्राएर लालकिल्ला स्थापित गर्ने सकेँ । रपनि अपशोच र ग्लानी छैन । तर भाइ यो पनि लेख्न नभुल्नु कि तिउकेले मोर्चा युद्घ लड्न नपाएकोले दुःखी नै भएर मर्ने छ ।
उसले भित्तामा अडेस लगाएर आफ्नो अतीत भनिरहेको थियो । मेरो कलम छातीबाट स्याही निकालेर अक्षरशः गर्दै थिए । म निकैबेर रोकिएँ । तिउकेले बाँकी कथा किन नबढाएको भनी मैले शिर र ध्यान कापीबाट उठाएर उसलाई हेरेँ । ऊ आँखा चिम्लेर भित्तामा अडिक थियो । मैले झक्झकाएँ र ऊ विपरित दिशामा लर्कियो । उसका दुवै मुट्ठी बन्द थिए । बन्द मुट्ठी निर्जीव भएर धूलो माटो भुइँमा छरियो । उसका बेजान मुर्दा आँखा एकहोरो भुइँमा छरिएको माटोलाई नियालिरहेको थियो ।
amurtaamit@gmail.com