चुप बस,
बुध्दी नभएका बुध्दिजीवीहरू
चुप बस,
दृष्टि नभएका दृष्टिवालहरू
चुप बस,
विचार नभएका विचारकहरू
चुप बस,
कला नभएका कलाकारहरू
र चुप बस,
कलम नभएका कलमधारीहरू !
°°°°°°°°°
चुप बस,
युवकत्व नभएका युवाहरू
चुप बस,
विद्या नभएका विद्यार्थीहरू
चुप बस,
सेवा नभएका राष्ट्रसेवकहरू
चुप बस,
राष्ट्रियता नभएका राष्ट्रवादीहरू
र चुप बस,
आवाज नभएका अधिकारवादीहरू !
°°°°°°°°°
कम्तीमा,
वर्षौँदेखि जमेर
बरफझैँ सेलाएको मूर्दा तलाउमा
विचारका केही ढुङ्गाहरू
जमिनबाट उठाएर झ्वाम्म फाल
र आफैँलाई प्रमाणित गर
कि तिमी अहिलेसम्म जीवित नै छौ !
°°°°°°°°°
यदि होइन भने
बस् !
तिमीहरू सब चुपचाप नै बस !
आर्यघाट पर्खिरहेछ
आदिम कालदेखि नै अन्तिम सन्नाटाका लागि !
******