देशको माटोमा वर्षमा एकचोटि पाइला टेके पनि
पहिलोचोटि नेपाल फर्किंदा रिङ्गरोडलाई कुनै गल्लिजस्तो देखेपनि
संसारको सबैभन्दा फराकिलो हाइवेमा सरर गाडी गुडाइरहँदा
आफ्नो देशका हरेक सडक र गल्लीहरु पिच् भएको सपना देख्ने
हो म जस्तो देशभक्त कोही छैन ।
करले होइन रहरले पनि होइन
सबै साथीहरु विदेश गएके देख्दा
केही सिक्न विदेश लागेकी म
यहाँको कल्चरमा सजिलै भिजेपनि
आफ्ना दसैं, तिहार अनि तीज मान्ने म
हो म जस्तो देशभक्त कोही छैन ।
प्रकृतिलाई गम्ने प्रकृतिमै रम्ने
र प्रकृतिकै कविता लेख्ने म
प्रकृतिले भरिपूर्ण देशलाई छोडी
विदेशको बनाबटी लेकमा डुलिरहँदा
आफ्नो फेवा ताललाई मिस गर्दै
हाम्रा लोकगीत गुनगुनाउँदै मक्ख पर्ने म
हो म जस्तो देशभक्त कोही छैन ।
बिदेशी भूमिमा बसेर स्वदेशको कुरा गरेपनि
केही रहर र केही बाध्यताले यता पलायन भएपनि
आफ्ना बाल्यकाल बिताएको त्यो प्रिय देशका लागि
केहि गर्नुपर्ला भन्ने अठोट लिंदै छाति फुलाएर हिँड्ने म
हो म जस्तो देशभक्त कोही छैन ।
म यहाँ भएपनि त्यहाँको राजनीतिको चिन्ता लिन्छु
देशको चिन्ता लिनु आफ्नो कर्तब्य हो भन्ने ठान्छु
शरीर जहाँ भएपनि मनले सधै आफ्नै देशको बारेमा सोच्छ
कसैले विदेश बसेर यहाँको के चासो भन्दा मुटु चस्स घोच्छ
हो म जस्तो देशभक्त कोही छैन ।
थाहा छैन मलाई म जस्ता यहाँ कति होलान ?
उनीहरु पनि आफ्नो देशबारे मैलेभन्दा धरै सोच्छन् होला
सपना तिनका पनि होलान् देश बनाउने ठूला ठूला
कुनै दिन फर्केर आफ्नै ठाउँमा रमाउने
तर पनि मलाइ लाग्छ, म जस्तो देशभक्त कोही छैन ।
(Rosha Joshi, MSN, APRN, FNP-BC)