त्यसो त धेरै कविहरू छन्
तर केही कविहरू विशेष स्मरणीय छन् !
ती कविहरू
उनीहरूका विशेष गुणले स्मरणीय छन् !
फूल माला वोकेर विहानै
ती सत्ताको ढोकैमा पुग्छन जदौ गर्न
कसैको पदोन्नतीमा बधाई दिन
या आफ्नो पदोन्नतीको आशीर्वाद थाप्न
र, उतैबाट
कविताको कन्टेन बोकेर फर्कन्छन् !
कविताको बजारमा ती
आगो कविता लिएर पस्छन्
र हामीलाई आच्छु आच्छु पार्छन् !
ती उता पनि प्रिय छन्
र ती एता पनि सम्माननीय छन्
केही कविहरू विशेष स्मरणीय छन् !
ती कविसँग हरेक कविता छन्
देखाउनलाई आगो कविता पनि छन्
आगो निभाउन- पानी कविता
अरुलाई उडाउन- आँधी कविता !
केही भजन कविता
गाली कविता/ चाकडी कविता
तीसँग हरेक कविता छन् !
ती माधव घिमिरेलाई ढोग्छन, र
पारीजातलाई सलाम ठोक्न पुग्छन
ती भानुभक्तलाई फूल चढाएर
कृष्ण सेनको पनि कविता कथ्छन्
ती एकसाथ
संसदवादी र समाजवादी बन्न सक्छन्
अद्भुत कलाले सम्पन्न ती कवि
विशेष स्मरणीय छन् !
ती एकसाथ
सत्ता र विद्रोहीका कवि बन्न सक्छन्
एता सरकारको चर्को आलोचक देखिन्छन्
साँझ सदस्यता नविकरण गर्न आफैं पुग्छन्
ती कविहरू
आफै कवि पनि हुन्
र आफै समीक्षक पनि हुन्
त्यसो त ती अर्थोक अर्थोक पनि हुन्
छन त धेरै कविहरू छन्
त्यसमध्ये केही खास छन्
जो विशेष स्मरणीय छन् !
यी तीनै लोक भ्याउँने कविहरू
विशेष रुपले स्मरणीय छन् ।