कहाँ हराए होलान्
छनछनी चुरी बजाउने – मेरा दुलही हातहरू ?
कसले काटिदियो होला
धुलो कुल्चिएर हिँड्ने – मेरा अक्टोपस खुट्टाहरू ?
कसरी झरे होलान्
हवाई-जहाजसँगै वेगिने – मेरा नौरङ्गी प्वाँखहरू ?
म पनि जान चाहन्थेँ
सपनाको राजमार्ग हुँदै – अरबको खाडीतिर !
म पनि उड्न चाहन्थेँ
चराहरूझैँ ओथारो बस्न – सात समुद्र पारिसम्म !
………………….
जब तिमीले छाडेर गयौ
तब पो थाहा पाएँ
म त पहाड भइसकेको रहेछु !
…………………….
मेरो काखमा गुराँस फुल्न
कहाँबाट अोर्लन्छ – यो मायालु बसन्त ?
मलाई गिज्याउन यसरी
कताबाट आउँछन् – यी फिरन्ते बादलहरू ?
कसरी झर्दो हो
ह्रदय फुटेपछि – शिरमाथिबाट मनको पहिरो ?
किन छोडेर जान्छ होला
यो घामले हरेक दिन – एउटा अँध्यारो साँझ ?
र कहाँ पुग्छन् होला
मलाई कुल्चिएर जाने – यी नागवेली बाटाहरू ?
………………..
मैले बुझ्दै बुझेको छैन
किन चमचमाउँछन् – जुनकिरीहरू आकाशमा ?
मैले देख्दै देखेको छैन
कहाँ छ होला – दु:खीले नुहाउने गहिरो सागर ?
मैले भेट्दै भेटेको छैन
कहाँ छ होला – पीडा बिसाउने मरूभूमिको पठार ?
मैले जान्दै जानेको छैन
कति लामो छ होला – यो प्रेम र घृणा बिचको दुरी ?
म त अनभिज्ञ छु
कुन देशमा पुगेर रोकिन्छ – मेरो आँसुको धारा ?
अहँ, थाहा छैन् मलाई
उस्तै छ कि बदलिसक्यो होला – यो संसार पनि ?
……………………….
म छैन हुँला
कुनै गायकले गाएको प्रेमिल गीतजस्तो !
म होइन पनि
कुनै कविले लेखेको स्वछन्द कविताजस्तो !
म देखिन्न पनि होला
कुनै चित्रकारले भित्तामा कोरेको चित्रजस्तो !
मैले लुकाएको पनि छैन
आर्कियोलोजिष्टले भनेजस्तो सुनैसुनको भण्डार !
……………………..
म त पहाड हु्ँ
बर्षौँदेखि यसै गरी बगिरहेछु – आँसुको नदी !
…………………….
थाहा छैन मलाई
यो बेला मन दुखेको हो कि मस्तिष्क ?
तस्बिर खिच्ने क्यामेराले
किन मेरो अनुहारमात्र उतार्छ – ह्रदय उतार्दैन ?
बस !
मैले त जोगाएर रूनु छ !
म नै रोइनँ भने
फेरि कसले मेटाउँछ र – यो धर्तीको तिर्खा ?
…………………….