काठमाडौं,
भारतले गरेको अघोषित नाकाबन्दीले सिर्जना भएको विषम परिस्थितिका कारण विष्णु भण्डारी उपन्यास ‘पहेँलो घाम’ औपचारिक कार्यक्रम नगरीकन बजारमा पठाइएको छ ।
‘सवारी साधनलगायतको समस्या भएकाले सार्वजनिक कार्यक्रम गरिएन । यही कारण कतिपय पूर्वघोषित पुस्तक बजारमै आउन सकेको छैन । हामीले चाहिँ पाठकको चाहनालाई सम्बोधन गर्दै पुस्तक बजारमा पठाएका हौं ।’ प्रकाशक प्राइम बुक्सका अध्यक्ष पुरन थापाले बताए ।
चार दशकदेखि निरन्तर काव्यिक आन्दोलनमा क्रियाशील विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेँलो घाम’ अयोग्य छापामारको कथावस्तुमा आधारित छ ।
जनयुद्धमा साहसिक योद्धाको रुपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ । युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र देखाएको साहसको रोमाञ्चसँगै उपन्यास अघि बढ्छ । पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ? ऊ कसरी अयोग्य बन्छे ? के ऊ अयोग्य नै थिई त ? उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घुमेका छन् ।
उपन्यासकार भण्डारी भन्छन्, ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ । उनीहरूको योगदानको मूल्याङ्कन गर्नुको साटो अयोग्य बनाएको छ । यो गलत निर्णय थियो । मैले त्यसैलाई केन्द्रमा राखेर यो उपन्यास लेखेको हुँ ।’
उपन्यासमा अयोग्य बनाएर निकालिएका छापामारले बाँच्नका लागि गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई पनि सँगसँगै उतारिएको छ । माओवादी आन्दोलन किन र कसरी पहेँलो घामजस्तो कमजोर र ऊर्जाहीन भयो भन्ने खोज उपन्यासमा कलात्मक ढंगले गरिएको छ ।
प्रगतिशील कवितका रुपमा परिचित भण्डारीको यसअघि सात काव्यकृति प्रकाशित छन् । विद्रोहको छाल (खण्डकाव्य–२०४३), आँधी–तुफान (मुक्तक संग्रह–२०४४), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य–२०४५), फेरि अर्को तारा खस्यो (कविता संग्रह–२०६३), देश जागेको बेला (कविता संग्रह–२०६३), उत्सर्ग (महाकाव्य–२०६७) र घाइते ह्विलचेयर (कविता संग्रह–२०६९) उनका प्रकाशित कृति हुन् ।
कथा लेखनमासमेत सक्रिय भण्डारीको उपन्यास ‘पहेँलो घाम’ प्राइम बुक्स प्रा.लि.ले प्रकाशन गरेको हो । २९६ पृष्ठ रहेको उपन्यासको मूल्य ३ सय ५० रूपैयाँ राखिएको छ ।