बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । र, फेरि क्षणभरमै थामिन्छ आकास । जेलका पर्खालहरुले मात्र होइन, बादल र कुहिरोको पातला पर्दाहरुले मन पनि कैद छ यतिबेला ।
साँघुरो छ जेल । जेलका चिसा छिँडीहरुजस्ता साँघुरा छन् बन्दीहरुलाई राखिने यी कोठाहरु । मुस्किलले ५÷७ जना अट्ने यो एउटा कोठा हामी १३ जना बन्दीहरुका लागि अहिले अर्को यातनागृह साबित भएको छ । चिसो बतासले मडार्दै ल्याएको नजिकैको पाइखाना र ढलको दुर्गन्धले नाकलाई झनै अरु असह्य बनाउँछ । हातमा एउटा साप्ताहिक पत्रिका छ । घरिघरि बेस्मारी नाकसम्म ठोस्सिन आइपुग्ने यो चर्को दुर्गन्धले मेरो पढ्ने क्रमलाई बिथोलिदिन्छ । र, म नाक छोपेर बस्छु । सासलाई थुन्छु । कम्बलले गुटुमुटिएर फेरि म त्यो परको फलामका बारहरुले छेलिएर बसेको आगन्तुक कक्ष बाहिर हेर्छु, जहाँबाट भर्खरै ड्युटीका प्रहरीले ट्वाङ्, ट्वाङ् घण्टी हिर्काउँछ ।
सधैं दोहोरिरहने यही एउटै क्रम । र, यो दुर्गन्धलाई वर्षौदेखि यातनापूर्वक झेल्दै आइरहेको मेरो जेलजीवन ।
कोठाभित्र कोलाहल छ । र, फेरि पनि एकतमास छ वातावरण । सबैका आँखाहरुले शुन्यता र उदासी पोखिरहेछ । सबैको मन विरानो छ । एक्लो, एक्लो । एक किसिमको खालीपन । कहिलेकाँही मनका कतिपय एउटै मिल्ने गाँठाहरुलाई एकै ठाउँ फुकाएर हामी सामुहिक रुपमा हाँस्ने गर्छौ । हाम्रो हाँसो पनि यो मुलुकको प्रशासनलाई मन पर्दैन । जासुस लाग्छ ।
यहाँ धेरैथरी थुनुवाहरु छन् । बन्दीहरु छन् । कसैका चोरी मुद्धाहरु छन् । कोही हत्या अपराधमा सजाँय काटिरहेका छन् । धेरैजसो चाँिह राजनैतिक मुद्दा छन् । राजद्रोही । सार्वजनिक अपराध ऐन अन्र्तगतको मुद्दामा समातिएर यहाँ ल्याइएकाहरु छन् । राजनीतिमा समातिएर यहाँ ल्याइएकाहरु भने अलि बढी बहिर्मुखी छन् । विद्रोही स्वभावका । उनीहरुका जीवनमुखी कुराहरु हुन्छन् ।
जेल भनेको त राज्यको अन्याय र विभेदपूर्ण शासनको प्रतिच्छाया पनि हो । एउटा न्यायपूर्ण राज्यभित्र त जेलको अस्तित्व नै रहँदैन पनि । राज्यले सुशासन दिने हो भने किन चाहियो जेल ? राज्यको असमान र विभेदपूर्ण व्यवहारले समाजमा विखण्डन पैदा गरिदिएको छ । अनि त्यही विखण्डनले समाजलाई बाँडिदिएको छ दुई चिरा पारेर । उँचनिच, ठुलोसानो, छुतअछुत, बलियो र निर्धा राज्यको शासनप्रणाली बनेको छ । अनि त्यहीँबाट शुरु भएको छ विभेद । बेरोजगारी, लुट, चोरी, डकैती, हत्या र नागरिक असुरक्षा राज्यको दैनिक सूची बनेको छ । कानुनले राज्यको पहँुचवालाहरुलाई छेकबार गर्दैन । जेल त निर्धाहरुलाई हो । निमुखालाई हो ।
एउटा एकाग्रताबाट हटेर फेरि पत्रिका पढ्न बस्छु । आँखाहरु सर्सर्ती कुद्छन् पत्रिकाका समाचार र कोलमहरुमा । एउटा उत्सुकताले एउटा कोलममा गएर आँखाहरु फेरि टक्क अडिन्छन् । त्यहाँ लेखिएको थियो – ‘बन्दी बुबालाई पत्र ।’
शिर्षक आँखामा आएर बस्छ । चिठ्ठी थियो त्यो ।
प्यारो बुबा,
आज फेरि तपाईंका सम्झनाहरु मेरा आँखाहरु अघिल्तिर खेलिरहेका छन् । र, म यो एकान्तमा तपाईंका सम्झनाहरुसँग एकालाप गर्दैछु । धेरै दिनदेखि तपाईंको सुर्ताले छोइरहेछ । नजिकै हुनुभएको भए भन्नुहुन्थ्यो– ‘सुर्ता नगर ।’ मेरो गालामा स्नेहले चिमोट्दै तपाईं सधैंझैं भन्नुहुन्थ्यो होला – ‘यी पर्खालहरु पनि हाम्रा लागि एकदिन खुल्ला हुनेछन् ।’ तर सुर्ताले किन छाड्थ्यो ! जस्तै लाग्दैन भने पनि सुर्ताले आँखाहरुबाट चिहाउँथ्यो । कहिले आमाका आँखाहरुबाट । कहिले हजुरबाका आँखाहरुबाट । भाइबैनीका आँखाहरुले सधैं एउटा रिक्तता पोख्छ । घरभित्र जब अभावको बल मिच्याइँ चल्थ्यो अनि सुर्ता त बढ््थ्यो नै । तपाईंलाई जेल सरुवा गरेपछि झन् त्यो सुर्ता अरु बढेको छ । साल बितेछ, तपाईंसँग भेट टाढा भएको । निद्रामा सधैं बर्बराइ मात्र रहनुहुन्छ हजुरबा– ‘नानी तेरा बा आएजस्तो छ, ढोका खोली दे त ।’ आजकल आँखा उतिसाह्रो देख्नुहुन्न । टाढाको देख्न छाड्नु भएको छ । बेलुकी कोही घरको छेउबाट हिँड्यो भने सोध्नुहुन्छ– ‘को ? कान्छा हो ?’
कसैले स्वर दिए चिन्नुहुन्छ ।
ए………।’ हजुरबाको एउटा विरक्त स्वर पोखिन्छ अर्को ।
म सोध्दिनँ बुबा, तपाईं आराम हुनुहुन्छ ? कि हुनुहुन्न ? यो देशको कुशासनको जञ्जीरहरुले बाँधिएर एउटा सुदुर भूगोलको जेलभित्र तपाईंका यी दिनहरु कसरी कष्टपूर्वक बितिरहेका छन् ? त्यो मलाई थाहा छ । शासकहरु साँच्चै क्रूर हुन्छन् बुबा । तर जुनसुकै एकान्तवासको सजाँयले तपाईंको आस्था गाल्न सक्दैनन् भन्ने पनि मलाई थाहा छ ।
चिठ्ठीले एकैछिन् अँठ्यायो मलाई । छोरीले बुुबालाई लेखेको चिठ्ठी थियो । अनायासै छोरीका सम्झनाहरु आएर मेरा आँखाहरु अघिल्तिर खेल्छ । जब चिठ्ठी पढ्दै गर्छु छोरीको एउटा सग्लो चित्र चिठ्ठीका हरफहरुसँगै लुटुपुटिएर बस्छ ।
चिठ्ठीलाई अघि पढ्दै छु–
एउटा तन्मयसँग ।
यो बीसौं सदीको अन्त्यतिर आइपुग्दा पनि हामी उही मध्ययुगीन समयको बर्बर छायाँमुनि बाँच्न विवश छौं । देश लुट्नेहरुकै रजाइँ छ यहाँ । लुट्नेहरुकै शासन चल्छ । सामन्तहरु देश चलाइरहेका छन् । लुटाहाहरु शासक बनेका छन् । बन्दुकले देश चल्छ । र, नागरिकहरुको छातीमाथि शासकहरु सङ्गीन धस्छ । दिनदहाडै महिलाहरु लुटिन्छन् र नदीका किनारहरुमा मृत्युलाई वरण गरिरहेका हुन्छन् । लाहुर भर्तिकेन्द्रहरु खोलेर नेपाली छोराहरुलाई पराया बनाउँछ र विदेशी युद्ध भुमिहरुमा होम्छ । जसले मुलुकको लागि लड्यो उनीहरु तपाईंले जस्तै जेलका चार पर्खालहरुभित्र बन्दी बनेका छन् ।
बुबा, भर्खरै देशमा एउटा आन्दोलन चल्यो । धेरैले बलिदान दिए परिवर्तनका निम्ति । सहिदको रगतले आहाल बन्यो देश । देशले प्रजातन्त्र पायो रे भन्छन् । उही सामन्तहरुलाई सिरानमा हालेर प्रजातन्त्रको यो कस्तो परिभाषा आयो कुन्नि ! यो कस्तो उल्लासहीन प्रजातन्त्र हो ? सत्ता उही छ । तानाशाहहरु उही छन् । अन्याय र अत्याचार उस्तै छ । विवेकहीनहरु सरकार चलाउँछ । हामी नारीहरुले झोलामा खुर्सानीको धुलो र खल्तीमा ब्लेडका टुक्राहरु बोकेर आत्मरक्षाका लागि हिँड्नु पर्ने रे । यो देशको प्रधानमन्त्रीले हामीलाई भन्छ । कति निर्लज्ज छ बुबा यो देशको सरकार ! जब यो देशको कार्यकारी प्रमुख नै यति गैरजिम्मेवार बोल्छन् भने कहाँनिर छ यो मुलुकको न्याय र कानुन प्रणाली ? के हामी ठट्टाका पात्रहरु मात्र हौं ? हाम्रा विषयहरु ठट्टाका विषयहरु मात्र बन्छन् ? हाम्रा आवाजहरुप्रति कसैले संवेदनशील बन्नुपर्दैन ? हँसीमजाकको पनि त हद हुन्छ । के प्रधानमन्त्रीले यस्ता गैरजिम्मेवार अभिव्यक्तिप्रति जवाफदेही बन्नु पर्दैन ? हामी महिलाहरुले यो देशको प्रधानमन्त्रीले तुरुन्त राजिनामा दिनुपर्छ भन्यौं ।
हामी नेपाली महिलाहरुको अवस्था झनै कमजोर र दयनीय बन्दै छ । देशको आधा धर्ती ओगटेको हामी महिलाहरु भन्छौं । राज्यले महिलाहरुको समान अधिकारको कुराहरु गर्छ । फेरि पनि हामी दोहोरो शोषणमा छौं । पहिलो शोषण राज्यले गर्छ । दोस्रो शोषण धर्म र संस्कृतिको नाउँमा परिवारले गर्छ । अझै पनि म सम्झन्छु तपाईको एउटा किताबबाट पढेको शास्त्रको वाक्यांश –
“पिता रक्षति कौमारे, भर्ता रक्षति यौवने,
पुत्रो रक्षति वाद्धक्ये, नस्त्री स्वातन्त्रय म¥हती ।”
अर्थात, नारीले सानो छँदा बुवाको, विवाहअघि दाजुभाइको, विवाहपछि लोग्नेको र वृद्ध अवस्थामा पुत्रको अधीनमा रहनुपर्छ । अर्थात स्त्री जातिले कहिल्यै स्वतन्त्र रहनु हुँदैन । स्त्रीले सधैं दासी रहनु । ओहो ! धर्मको यो विषसमान अहङ्कारहरुले घरभित्रै हामी महिलाहरुलाई कस्तरी डसिरहेछ । किन दिनदहाडै जलिरहेका छन् महिलाहरु ? किन महिलाहरुलाई दिसा खुवाएर सामाजिक बहिस्कार गर्छ समाज ? र, कसले चलाउँछ महिलाहरुको विरुद्ध यो विभेदकारी कानुन ? समाजको आवरणमा लुकिरहेका विषधारीहरु फँणा उचालेर किन ‘स्याँक्क’ ‘स्याँक्क’ डस्छ हामीलाई ?
प्यारो बुबा,
धेरै समयपछि तपाईलाई यो चिठ्ठी लेख्दैछु । सधैं तपाईंको अगाडि सरेर बोल्नै पनि धक मानेर लजाउँदै आमाको पछाडि लुकी हिँड्ने हुँ म । प्रायः घरबाट टाढा रहेर कमै घरमा उपस्थिति हुने तपाईका पदचापहरु मलाई नौलो लाग्थ्यो । घरभित्र तपाईको उपस्थिति प्रायः राती हुन्थ्यो । मेरो अर्धनिद्रामा रातको धमिलो उज्यालोमा तपाईको अनुहार खेल्थ्यो । बिहान व्युँझदा तपाईको उपस्थिति हराउँथ्यो । सपनाजस्तै लाग्थ्यो मलाई । आमाका सुक्सुकाइरहेको आवाज र तपाईंको गुन्गुन्गुन्गुन् मसिनो बोली बिहान धेरैबेरसम्म पनि मेरो कानमा गुञ्जिरहन्थ्यो । मैले जहिल्यै पनि तपाईका साउतीपूर्ण स्वरहरुलाई सुनेँ । मेरो कलिलो अज्ञानताले त्यसलाई बुझ्न सकेन । तर आज लाग्दैछ तपाई मेरो आदर्श बुबा मात्र हुनुहुन्न, मेरो महान गुरु पनि हुनुहुन्छ । तपाईंका पाइलाहरुलाई पछ्याउँदै एउटा परिवर्तनकामी समाजको पक्षमा मैले पनि लड्न सिकेँ । तपाईकी छोरी पनि ठूली भई अब । तपाईहरुको यो लडाइँ अब मेरो पनि लडाइँ भएको छ । तपाईंहरुको अन्याय र अत्याचार विरुद्धको यो आन्दोलनको मोर्चालाई अब मैले पनि मेरो मोर्चा बनाएको छु । हिजो पञ्चायती शासकहरुले झुठ्ठा मुद्दामा फँसाएका तपाई र तपाईका साथीहरु अहिले पनि जेलभित्र बन्दी जीवन बिताइरहनु भएको छ । हिजोका राजकाज ऐन ज्युँका त्युँ छ । तपाईका मुद्दाहरु किन खारेज हुन सक्दैनन् ? जसले यै प्रजातन्त्रको प्राप्तिका लागि जीवनभरि लड्यो, उनीहरु अहिले पनि जेलमा छन् । खै कहाँनिर छ उनीहरुका लागि यो राज्यको सम्मान ? के प्रजातान्त्रिक सरकारका मूल्यहरु यस्तै हुन्छन बुबा ! प्रजातन्त्रको रङ्ग यस्तै हुन्छ ?
महिला आन्दोलनकी थुप्रै दिदीबहिनीहरुको साथमा छु । कतैबाट पनि टुङ्गो लाग्न नसकेको यो अपुरो अपुरोजस्तो क्रान्ति, यो अधुरो अधुरोजस्तो लाग्ने सपनाहरु बोकेर हामी फेरि हिेँडिरहेका छौ बलिदानको बाटोतिर । साँच्चै अब मृत्युसँग पनि डर लाग्दैन । हामी जित्नेछौं, जितेरै फर्कने छौं ।
तपाईंकी छोरी
विद्रोहिणी
चिठ्ठी पढिसकेपछि त्यसै–त्यसै फैलिरह्यो छाती । त्यसै–त्यसै आँखा खुसीले छचल्किरह्यो । मन उडेर पुग्यो छोरीनिर । उसका साना खोबिल्टा परेका आँखाहरु पनि किन तेजस्वी लाग्दै थियो अहिले मलाई । उसको आँखाबाट आभा खेलिरहेको देखिरहेँ मैले । र, मलाई किन यस्तो लाग्दै थियो कि मेरी छोरी न्याय र समानताको यो आन्दोलनमा अग्रमोर्चामा लडिरहेकी छिन् ।
बाहिर दिन झरीले मलिनो बन्दै गइरहेको थियो । मेरो मन भने छ्याङ्ग थियो आज । चिठ्ठीले काउकुती खेलाइरहेको थियो मन । खुशीले चौडा पारेँ मैले आफ्नो छाती ।
‘साँच्चै छोरी ठूली भइछे है ।’ मेरो मनले सोच्यो
‘अब यो आन्दोलनको नेतृत्व उसले गर्छे ।’ मनले आँक्यो– ‘मेरी छोरी पक्कै साहसी छे । यो मुलुकको परिवर्तनको बाँकी कार्यभारको जिम्मा अब उसले आफ्नो काँधमा लिन्छे ।’
मैले उसको आँखामा झाँसीकी वीरङ्गना लक्ष्मीबाई देखिरहेँ ।
२०४८
जनसाहित्य