म फेरि आइपुगेको छु जेलर
तिम्रो यो बन्दीगृहभित्र
घरि लछारिएर
र घरि पछारिएर
घरि कुटिएर
र घरि कुल्चिएर
म फेरि ल्याइएको छु
यहाँ
तिम्रो आश्चर्य यो हाँसो
साक्षी रहनेछ मेरो
र तिमीले फेरि
गर्नेछौ मेरो सीदाको व्यापार
आश्चर्यचकित छौ हैन ?
तिम्रा उचालिएका आँखीभौंहरुले
सोध्न खोजेको प्रश्न
मैले बुझेको छु
उही ढुङ्गामुढाको
केस त हो नि
‘सार्वजनिक अपराधी ’
हो, हो,
यही सरकार ल्याउन
पहिल्यै पनि
धेरैचोटि सडकमा
यस्ता थुप्रै ढुङ्गामुढा
बोकेर हिँडेको हुँ
आज फेरि
यही ढुङ्गामुढा बोकेर
हिँडेको छु
यो सरकारको
गोला बारुदको विरुद्धमा लड्न
सडकमा मजस्ता निहत्थाहरुका लागि
ढुङ्गामुढाभन्दा अरु
केही नहँुदो रै’छ
ढुङ्गामुढा त हाम्रो
भाग्यको नियति नै बनिसक्यो
सत्ता सधैं तिम्रो भयो
र सडक सधैं हाम्रो भयो जेलर ।
२१ आश्विन, २०६९