कोहलपुर असोज २५ कोहलपुरमा क्याफे कविताको तेस्रो शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कवि तथा कलाकारका रूपमा राम्रो छनि बनाएका रसिक राज र विद्यश्री सिंहले ६/६ वटा कविता वाचन गरेका थिए । बैंगलोरबाट म्युजिकमा स्नातकोत्तर गरेका विजय चौधरीको गितारको संगीतसहित प्रस्तुत गरिएका कविताले हलमा रहेका १०० जति स्रोताको मन जिते ।
आयोजक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले नयाँ प्रतिभाशाली स्रष्टालाई प्रोत्साहन गर्ने हेतुले क्याफे कविता सुरु गरेको र यसले छोटो समयमा राम्रो लोकप्रियता कमाएको प्रतिक्रिया दिए । कवि लक्ष्मण संगमले कविता सुन्नकै लागि आफू काठमाडौँको प्लेन टिकट सारेर अछामबाट कोहलपुर आएको बताए ।
लामो औपचारिक आसन ग्रहण नगरी गरिएको कार्यक्रम कर्व डेढ घण्टा चलेको थियो । कविहरूले वाचनका क्रममा कविताको रचना गर्भ र आफ्नो साहित्यिक त्रिमूर्ति पनि जानकारी दिए । कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, लेखक नरेन्द्रजंग पिटरसहित बाँके, बर्दिया, कैलाली, दाङ, प्युठान, सुर्खेत, जाजरकोटसहित विभिन्न जिल्लाका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पूर्णिमाका सचिव केशव निमेषले गरेका थिए ।











