काठमाडौँ । २० भदौ २०८२ । साहित्यकार डा. सुमन ढकालको सम्पादनमा तयार भएको पुस्तक ‘पश्चिम किल्ला चम्बा पो !’ को विमोचन तथा विमर्श गरिएको छ । मञ्जरी बुक्सको आयोजनामा शुक्रबार काठमाडौँमा भएको समारोहकाबीच प्रमुख अतिथि डा. विष्णुविभु घिमिरे, विशिष्ट अतिथिहरु प्रा.डा. माधवप्रसाद पोख्रेल, डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, समीक्षक प्रा.डा. वीणा पौडेल लगायतले सो कृतिको संयुक्त रुपमा विमोचन गरे ।
‘पश्चिम किल्ला चम्बा पो !’ भारतीय वरिष्ठ लेखक राहुल सांस्कृत्यायनले नेपाली वरिष्ठ स्रष्टा जनकलाल शर्मालाई लेखेका चिठ्ठीहरुको संगालो हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. विष्णुविभू घिमिरेले जनकलाल शर्मासँग भेटघाट र उहाँको व्यक्तित्वको बारेमा चर्चा गरे । डा. सुमन ढकालले यो पुस्तक प्रकाशन गरेर महान काम गरेको उनले बताए । यो कृति हेर्दा साधारणजस्तो लागे पनि महत्वपूर्ण भएको उनको भनाइ छ ।
विशिष्ट अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले जनकलाल शर्मा कुनै पनि समय बौद्धिक चर्चा, अध्ययन, अनुसन्धान, अनुशिलन भन्दा बाहिर नरहने स्वभावको हुनुहुन्थ्यो भनि चर्चा गरे । शर्मामा हास्यव्यङ्ग्य चेत पनि उत्कृष्ट रहेको उनले बताए । उहाँ सर्वज्ञान सम्पन्न भएको भन्दै कुन चाहिँ विषय उहाँको होइन भन्ने छुट्याउन कठिन रहेको उनको भनाइ छ । यो कृतिमा राहुल सांस्कृत्यायनले लेखेका चिठीहरु मात्रै समावेश गरिएकोले जनकलालसँगको सम्बन्ध बुझ्न थप परिशिष्टि पनि समावेश गरिएको उनले जानकारी दिए ।
डा. तुलसी भट्टराईले राहुल सांस्कृत्यायनको स्वभाव र लेखनलाई त्यसबेलाका वनारसका साहित्यकारहरुले मन नपराउने गरेको बताए । जातभात नमान्ने समाजमा विद्रोही स्वभावका भएकैले राहुलले कमला परियारसँग विवाह गरेको उनले जानकारी दिए । राहुलले जनकलाललाई लेखेका चिठीहरुको संकलन मात्रै आएको भन्दै जनकलालले राहुललाई लेखेका चिठीहरु पनि खोजेर प्रकाशन गर्न अवश्यक रहेको उनले बताए । जनकलाललाई चिन्न पनि यो कार्य गर्नुपर्ने भन्दै डा. सुमनलाई नै आग्रह गरे ।
अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले डा. सुमन ढकालले पिता जनकलालको बाटो पच्छ्याएको भन्दै धन्यवाद ज्ञापन गरे । राहुलकी श्रीमती कमला सांस्कृत्यायनसँग भेटघाट गरेको र आफ्ना तीन कविता अनुवाद गराएको स्मरण पनि गरे । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिनाउने काम नै जनकलालले नै गरेको उनले उल्लेख गरे ।
नेपालको प्राचीन सीमाना पश्चिममा काँगडासम्म भएको भनिँदै आए पनि त्यो भन्दा पनि पर चम्बा पोसम्म भएको यो पुस्तकबाट थाहा हुने उनले बताए । यो पुस्तक नपढ्ने नेपालीको जीवन अधुरो रहने उनले ठट्यौलो पारामा भने ।
प्रा.डा. वीणा पौड्यालले किताबले दिएको सन्देश महत्वपूर्ण रहेको बताइन् । पुस्तकमा समावेश भूमिकाले नै पुस्तकको गहनता व्यक्त गर्ने उनको भनाइ छ । चिठीपत्रलाई व्यवस्थित गर्ने जनकलालको बानीले अहिले इतिहास बनेको र त्यसलाई डा. सुमनले अभिलेखिकरण गरेको उनले बताइन् ।
कृतिका सम्पादक डा. सुमन ढकालले यो पुस्तकमा छापिएको पहिलो चिठीभन्दा पहिले पनि आफ्ना पिता जनकलाल र राहुल सांस्कृत्यायनबीच सुमधुर सम्बन्ध रहेको जानकारी दिए । यसअघिका चिठीहरु प्राप्त नभएकोले जुन प्राप्त भयो त्यसैलाई पहिलो मानेर छापिएको उनले सुनाए । बुबाले नै चिठीहरु अभिलेखालयमा लगेर राखेको उनले बताए । पहिलो चरणमा ती चिठीहरुलाई हिन्दीमा टाइप गरेको र पछि नेपालीमा अनुवाद गरेर पुस्तकाकार रुप दिएको उनले बताए ।
डा. शैलाजा पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा मञ्जरीका अध्यक्ष तथा सिस्नोपानी नेपालका अध्यक्ष एवम् हास्यब्यङ्ग्य कवि लक्ष्मण गाम्नागेले निक्कै रोचक ढंगले अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।











