१४ चैत, काठमाडौं।
नेपाली वाङ्मयका वरिष्ठ साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गराइरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो ।
पूर्वान्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए।
सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता सङ्ग्रह, अविरल यात्रालगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका सम्पादित कृति १५० बढी रहेका छन् भने सयौं रचनाका समालोचना गरेका छन्। दुई सय बढी किताबमा भूमिका लेखिसकेका उनी एक सय पचास बढी संस्थामा आजीवन सदस्य रहेका थिए ।
विराटनगरका सामाजिक अगुवा समेत रहेका सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन्।
उनको नाममा स्थापित दधिराज पुरस्कार प्रतिष्ठानबाट २०७३ सालदेखि बर्सेनि दुई जना स्रष्टा सम्मानित हुँदै आएका छन्। सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रु.१५ लाखको अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार प्रदान गरिन्छ।
सुवेदीको पार्थिव शरीरलाई बुधबार विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।