तेजपुर, असम: ३० डिसेम्बर २०२३
आसामको तेजपुरस्थित पुष्पलाल स्मृति अध्ययन गोष्ठीको विशेष बैठकमा वरिष्ठ असमिया कवि मोहन सुवेदीको काव्य संग्रह ‘सुगन्धी माटो’ पाठकहरूलाई समर्पित गरिएको छ ।
ब्रह्मपुत्रको विशाल बगरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गोष्ठीका संस्थापक अध्यक्ष प्रा. जयनारायण लुइँटेलले कृतिको लोकार्पण गरेका हुन् ।
तेजपुरको कलियाभुमुरा पुलको नजिक खुल्ला आकाशमुनि अनुष्ठित बनभोजसहितको सभामा विशेष गरी गोष्टीका सबै स्थायी सदस्यहरू साथै उनीहरूको परिवारका अन्य सदस्यहरू पनि उपस्थित थिए।
गोष्ठीका मूल सचिव मुक्ति लुइँटेलको आह्वानमा तथा गोष्ठीका अध्यक्ष मोहन सुवेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समालोचक प्रा. कमल सेढाईंले कृतिको समीक्षा गरेका थिए । कृतिमाथि लोकनाथ उपाध्याय, नवप्रभा अधिकारी, लावण्य देवी, कमला देवी, महिम आचार्य आदि साहित्यकारहरूले आ-आफ्नो वक्तव्य राखेका थिए ।
सङ्ग्रहित कविताहरूमा समकालीन समाजमा हराउँदै गएको मानवीय मूल्यबोधका साथै सामाजिक, सांस्कृतिक र राजनैतिक विकृति र विसङ्गतिको चित्रण गरिएको छ । कविता सङ्ग्रहमा समकालीन विभिन्न विषय र प्रवृत्तिमाथि लेखिएका बाउन्न ओटा कविता सङ्ग्रहित छन् ।
विगत चार दशकदेखि निरन्तर कविता लेख्दै आएका भारतमा नेपाली साहित्यका वरिष्ठ कवि मोहन सुवेदीको यो चौथो कविताकृति हो । पूर्वायन प्रकाशन, गुवाहाटीद्वारा प्रकाशित ८० पृष्ठको उत्कृष्ट कृतिको मूल्य रु २००/ छ।