‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रम सम्पन्न भएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्तीका उपलक्ष्यमा इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले पानसमा दीप बालेर समुद्घाटन गर्नुभयो ।
कार्यक्रमको सभाध्यक्ष सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई रहनु भएको थियो । अतिथिहरुमा उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), पूर्वउपकुलपति डा. जगमान गुरुङ, पूर्वप्राज्ञपरिषद् सदस्य प्रा. दिनेशराज पन्त, प्रवचनकर्ताहरु प्रा.डा. त्रिरत्न मानन्धर, पूर्वराजदूत राजेश्वर आचार्य र प्रा.डा. सुरेन्द्र केसी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरु डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपालीको आतिथ्यता रहेको थियो ।
यसैगरी प्रा.डा. निरन्जन बस्नेत, इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मा आचार्य, प्रतिवेदक डिल्ली रमण सुवेदी र प्रतिष्ठानका मानार्थ प्राज्ञ सदस्यहरु, आजीवन सदस्यहरु, प्राज्ञ सभाका सदस्यहरु, प्राज्ञ परिषद्का पूर्व पदाकिारीहरु, स्मृति प्रतिष्ठानका पदाधिकारीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका अतिथिहरुलाई डा. धनप्रसाद सुवेदी स्वागत गर्नुभएको थियो । प्रतिष्ठानसँग सहकार्य गरेर इतिहासशिरोमणि बाबुराम आचार्यको जन्मजयन्ती मनाउन पाएकोमा उहाँले आभार व्यक्त गर्नुभयो ।
नेपाली साहित्य र समालोचनाको क्षेत्रमा पनि आचार्यको ठूलो योगदान रहेको उहाँले उल्लेख गर्नुभयो । १९४८ बाट मोतिराम भट्टले सुरु गरेको समालोचनाको परम्परामा आचार्यको पनि योगदान रहेको उहाँले बताउनु भयो । भानुभक्त अघि नै कविहरु थिए भन्ने भनिए पनि कोको थिए स्पष्ट पार्ने काम मोतिरामले गरेको उहाँले उल्लेख गर्नुभयो । नेपाली साहित्यको इतिहास र समालोचना र यसका प्रवृत्तिहरुको उजागर गर्ने काम बाबुराम आचार्यले गर्नुभएको उहाँले बताउनु भयो । आचार्यको योगदानको स्मरण गर्दै यसरी अन्तरक्रिया गर्नु आफैंमा महत्त्वपूर्ण रहेको उहाँले बताउनु भयो ।
बाबुराम आचार्य २०२० सालमा प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य बन्नु भएको थियो ।
कार्यक्रममा बोल्दै डा. जगमान गुरुङले नेपाल राष्ट्र र राष्ट्रियताका लागि धेरै लेख्नु वा बोल्नु नपर्ने बताउनु भयो । एक आदर्श वाक्यले पनि मान्छेलाई महान बनाई दिन्छ । माधवप्रसाद घिमिरेले नेपाली हामी रहुँला कहाँ नेपालै नरहे जस्ता वाक्य लेखेरै महान हुनुभयो । सत्यमोहन जोशीले राष्ट्रिय फूल गुराँस र इरानको राष्ट्रिय फुल गुलाबलाई जोडेर लेखेकैले सत्यमोहन हुनुभएको हो उहाँले भन्नुभयो ।
बाबुराम आचार्यले झ्यामोलुङ्मालाई सगरमाथा नामाकरण गरेकोले नै उहाँ महान हुनुभएको उहाँले उल्लेख गर्नुभयो । लामाहरुले झ्यामोलुङ्मालाई बसिरहेकी चरी, लिम्बुले चोमो लुङ्मा चोमो अग्लो, लुङ ढुङ्गा अग्लो ढुङ्गा नाम रहेको उल्लेख गर्नुभयो । संस्कृत र नेपालीमा त्यसको नाम नभएकोले बाबुरामले सगरमाथा वा झ्यामोलुङ्मा लेख लेखेर राष्ट्रको आवश्यकताको परिपूर्ति गर्नुभयो । त्यसैले उहाँलाई इतिहासशिरोमणि उपाधि दिइएको उहाँको भनाई थियो ।
बाबुरामले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी लेखेको र संशोधन मण्डलले पृथ्वीनारायण शाहका उपदेश पुस्तक प्रकाशित छ ।
तिब्बत नेपालको आर्थिक उपनिवेश भएको उहाँले बताउनु भयो । ‘त्यहाँ कान्तिपुर, पाटन र भक्तपुरका सिक्काहरु चल्थे । कान्तिपुरको खड्ग भएको, पाटनको स्वस्तिक चिह्न भएको र भक्तपुरको शंख चिह्न भएको सिक्का त्यहाँ टक काटेर पठाउने चलन थियो’ उहाँले बताउनु भयो ।
इतिहासको ऐतिहासिक विश्लेषण हुनुपर्ने अनि मात्रै इतिहास अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढ्ने उहाँले बताउनु भयो । पोखराको राजाको चौतारोको उदाहरण दिँदै इतिहास र संस्कृति मेट्दै गएपछि यो अवस्था आएको उहाँले बताउनु भयो ।
यो देश दैवीशक्तिमा बाँचेकोले इतिहास संशोधन र व्याख्या गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रमका प्रवचनकर्ता प्रा.डा. त्रिरत्न मानन्धरले बाबुराम आचार्यले नेपालको लागि जुन योगदान दिनुभयो त्यो अतुलनीय रहेको बताउनु भयो । एसियाली अनुसन्धान केन्द्रबाट प्रकाशित बाबुराम आचार्य र उहाँका कृति पुस्तकमा केही पत्रहरु प्रकाशित भएकोले त्यसबाट पनि उहाँका कति कृति प्रकाशन गर्न बाँकी रहेको थाहा हुने उहाँले बताउनु भयो । ‘कतिपय कृतिहरु बाबुरामका छोरा श्रीकृष्ण आचार्यले पनि सम्पादन गरेर प्रकाशित गरिएको छ । तर ती कृतिमा आचार्यले लेखेका तथ्यहरुलाई नै तोडमोड गरेर प्रकाशित गरिएको छ’ उहाँले बताउनु भयो । पुस्तकको अन्त्यमा वा अन्य पुस्तिकामा टिप्पणी गर्न सकिने तर त्यसरी तथ्य तोडमोड गर्न नहुने उहाँको भनाई थियो ।
बाबुराम आचार्यको आलोचन पनि धेरै भएको उहाँले उल्लेख गर्नुभयो । फुटनोट र साइटेसन नगरेको पुस्तकलाई कसरी हामीले आधार मान्ने भन्ने भनाई आउने गरेको उहाँले बताउनु भयो । ‘पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा भने पादटिप्पणी विस्तृत रुपमा राख्नु भएको छ’ उहाँले भन्नु भयो । उहाँका ‘राणा शाही र षड्यन्त्र’ र ‘जसको तरबार उसको दरबार’ लेख प्रकाशित थिए । परराष्ट्र मन्त्रालयमा भएका डकुमेन्टले पुष्टि गरेकोले उहाँले जे कुरा लेख्नुहुन्छ त्यो प्रमाण भएकै आधारले मात्रै लेख्नु हुन्छ भन्ने आधार रहेको उहाँले बताउनु भयो । पादटिप्पणी दिएको छैन भन्दैमा आलोचना गर्नु आवश्यक नरहेको उहाँले बताउनु भयो । ‘अर्को आरोप भनेको विक्रम संवत प्रयोग नगरी ईश्वी संवतको प्रयोग गर्नुभयो भन्ने छ ।
पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा विक्रमसम्वत्ले स्पष्ट मिति दिन नसकेकोले ईश्वीसम्वत प्रयोग गरेको स्पष्ट पार्नु भएको छ’ उहाँले बताउनु भयो ।अर्को आलोचना भनेको बाबुराम आचार्य बायस हुनु भयो भन्ने हो । भीमसेन थापा र अमरसिंह थापाको बारेमा उहाँले आलोचना वा टिप्पणी गर्नुभएको थियो । तर त्यो प्रमाणविना आलोचना भएको थिएन उहाँले भन्नु भयो ।जुनकुरा लेख्नु भयो त्यो गल्ती भयो भन्ने तत्कालै सुधार गर्ने र क्षमायाचना गर्ने बानी उहाँको रहेको मानन्धरले उल्लेख गर्नुभयो । जुन अरुमा र अहिलेको पुस्तामा छैन । कीर्तिपुरलाई कान्तिपुर भनेर प्रकाशन गरेको विषयमा जीवनीको चौथो भागमा सुधार गर्दै क्षमायाचना गर्नुभएकोले पुष्टि हुने उहाँले बताउनु भयो । बाबुराममा सत्य कुरालाई नलुकाउने गुण पनि रहेको उहाँले उल्लेख गर्नुभयो ।mपुराना कवि र कविता भन्ने साहित्यको पुस्तक इतिहासको पुस्तकभन्दा कम नभएको उहाँले बताउनु भयो ।
‘बाबुराम आचार्यले लेखेका अप्रकाशित सामग्रीहरु धेरै छन् । त्यो सिनासमा उल्लेख रहेकोले ती लेखहरुलाई संकलन गरी प्रकाशन गर्ने जिम्मेवारी प्रज्ञा–प्रतिष्ठानले लिनुपर्ने उहाँको सुझाव थियो । बाबुराम आचार्यको बारेमा प्रतिष्ठानमा दुईवटा पुस्तक प्रकाशन भइसके पनि अब थप अध्ययन, अनुसन्धान गरेर पुस्तक प्रकाशन गर्न उहाँले आग्रह गर्नुभयो ।
अर्का प्रवचनकर्ता पूर्वराजदूत राजेश्वर आचार्यले इतिहासको ज्ञान खाली इतिहासको विषय पढ्नेसँग मात्रै सम्बन्ध नरहेको उल्लेख गर्नुभयो । मान्छेलाई इतिहास, भूगोल, धर्म, संस्कृतिको ज्ञान चाहिने रहेछ । ‘बाबुरामले सगरमाथाको नामाकरण नगर्नुभएको भए विदेशमा गएर नेपाली नाम बताउनै नसक्ने अवस्था थियो’ उहाँले भन्नुभयो ।’ विदेशमा रहँदा विदेशीले चिन्ने सगरमाथा, बुद्ध, गोर्खा र शेर्पा भएकोले त्यसको प्रचार पनि गर्नु पर्ने उहाँको भनाई थियो । नेपाल र नेपालीको इतिहास स्पष्ट नहुँदा र त्यसको व्याख्या र प्रचार गर्न नसक्दा विश्वमा भ्रम फैलिरहेको उहाँले बताउनु भयो । राजदूतहरुलाई जिम्मेवारी बहन गर्न विदेश जाँदा देशको इतिहासको बारेमा न्यूनतम् जानकारी गराउनु पर्ने उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रवचनकर्ता प्रा.डा. सुरेन्द्र केसीले पञ्चायती कालमा लेख्न नपाईने अवस्थामा पनि बाबुराम आचार्यले इतिहास लेखन र संशोधन गर्ने काम गरेको उल्लेख गर्नुभयो । ‘त्यो समयमा पनि प्रसस्त लेखहरु, ग्रन्थहरु लेख्नु भएको छ’ उहाँले भन्नुभयो, ‘दरबारले पनि सहयोग गरेकोले उहाँको लेखन अघि बढेको हो ।’ उहाँका राष्ट्रियता, पृथ्वीनारायण शाहको एकीकरण, सगरमाथा जस्ता सामग्रीहरु प्रकाशित भएका छन् । उहाँले युगान्तकारी रचनाहरु छोडेर जानुभएको डा. केसीले बताउनु भयो । आचार्यको विलक्षण प्रतिभा रहेको उल्लेख गर्दै दृष्टि गुमाईसकेपछि पनि उहाँले दिने तथ्य र तथ्याङ्क अमूल्य रहेको उहाँले बताउनु भयो । उहाँले इतिहास लेखनको राजमार्ग बनाएर हस्तान्तरण गर्नुभएको छ ।
इतिहासको अध्ययन, अनुसन्धान र पूर्वजहरुले छोडेर गएको ज्ञानलाई संरक्षण गर्दै भोलिको पिँढीसम्म हस्तान्तरण गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘इतिहासको विरासतलाई भोलिको पिँढीसम्म हस्तान्तरण गर्ने कार्यभार पुरा गर्न सकिन्छ कि सक्दैन त्यो महत्वपूर्ण कुरा हो ।’ पूर्वजहरुको त्याग, योगदान र बलिदानको संरक्षण गर्नुपर्ने उहाँको भनाई थियो । इतिहासको जग हाल्ने काम बाबुराम आचार्यले गरेकोले उहाँको नामलाई आजको पिँढीसम्म जोड्नु पर्ने उहाँले बताउनु भयो । छुटेका कुराहरुको पूर्णता दिने, भवन निर्माण गर्ने, पुरस्कार राख्ने र अहिलेको पुस्ताहरुलाई बाबुरामको बारेमा जानकारी दिनुपर्ने उहाँले बताउनु भयो ।
अर्का वक्ता दिनेशराज पन्तले बाबुरामलाई राजा त्रिभुवनले नै इतिहासशिरोमणि उपाधि दिनुभएको उहाँले बताउनु भयो । ‘संशोधन मण्डलले भने उहाँलाई ऐतिहासशिरोमणी भन्ने गरेका छौँ’ उहाँले भन्नुभयो । फागुन २९ गते स्मृति प्रतिष्ठानले बाबुराम आचार्यको स्मति दिवस मनाउन थालेको उल्लेख गर्नुभयो । यो कार्यमा प्रतिष्ठानले पनि सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
बाबुराम आचार्य जुन युगमा जन्मिए त्यो राणा शासन युग थियो । चन्द्र शम्शेरको पालामा खरदार बन्नुभएका बाबुराम आचार्य जुद्धशम्शेरको पालामा आँखा बन्द हुँदासम्म खरदारमै रहनु भयो । राणा शासकहरुको चाकडी गर्ने चलन लेखनाथ, लक्ष्मीप्रसाद देवकोटाले पनि गरेका थिए तर बाबुरामले त्यो काम गरेनन् । २०१३ साल पुस २७ गते नयनराज पन्त र बाबुराम आचार्यबीच संवाद भएको कुरा उल्लेख गर्नुभयो । उहाँले विभिन्न प्रशङ्गहरुको उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले यो कार्यक्रमबाट बाबुराम आचार्यको बारेमा विस्तृत र विहङ्गम छलफल भएको उहाँले बताउनु भयो । आचार्यको योगदानको विषयमा विद्वानहरुको सहभागितामा कार्यक्रम सफल भएकोमा गर्व लागेको बताउनु भयो । विषय विज्ञहरुको सहभागितामा यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको उहाँले बताउनु भयो ।
‘देशलाई चिनाउने नेपाल नामको बारेमा बाबुरामले स्पष्ट रुपमा हाम्रो संस्कृति भन्ने पुस्तकमा लेख्नु भएको छ । कौटिल्यको अर्थशास्त्रमा नेपार भन्ने शब्द भेटिन्छ । नेपार भन्ने किराती जाति काठमाडौँ खाल्डोमा रहेको र त्यसबाटै अहिलेका नेवार जाति भएको प्रमाण भेटिन्छ । नेपाल भन्ने यताको जातिलाई उता ल स्वर नभएर र उच्चारण भएको तथ्य छ । यो कुरा बाबुरामले उल्लेख गर्नुभएको छ’ उहाँले भन्नुभयो । नेपाललाई चिनाउने प्रथम विन्दु नै नेपाल हो भन्न सकिने र त्यसपछि सगरमाथा अन्य, अन्य विषय आउने उहाँले बताउनु भयो ।
सबै इतिहासकारहरु भन्दा बाबुराम फरक भएको उहाँले उल्लेख गर्नुभयो । लिखित इतिहासले अलिखित इतिहासलाई ओझेलमा पारेको हुन्छ । लिखित इतिहास शासकको गुणगान वा तारिफ हुन्छ । अलिखित इतिहास जनताको इतिहास हुन्छ तर बाबुरामले अलिखित इतिहासको उजागर गरेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिष्ठानबाट इतिहासको अध्ययन, अनुसन्धान र प्रकाशनमा थप सुधार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । लिखित इतिहास भन्दा पनि अलिखित वा मौखिक इतिहासको संकलन र अनुसन्धानमा प्रतिष्ठानले काम गर्न थालेको उहाँले जानकारी दिनुभयो ।
इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले धन्यवाद ज्ञापन गर्दै करिब १२, १३ वर्षदेखि बाबुरामको स्मृति दिवस मनाइरहेको जानकारी दिनुभयो । यसमा प्रतिष्ठानको सहकार्य रहँदै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा प्रतिष्ठानले नै यस्ता कार्यक्रम आयोजना गरिदियोस् भन्ने अपेक्षा रहेको बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले बाबुराम आचार्यले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । राणाकालिन समयमा निडरताका साथ इतिहास लेखनमा सक्रियता देखाउनु भएकोले इतिहासशिरोमणि भन्न पाएको उहाँले बताउनु भयो । पुराना कवि र कविता पुस्तक र सगरमाथाको नामाकरणको मात्रै अध्ययन गर्न पाएकोमा आज उहाँको बारेमा धेरै जानकारी लिन अवसर पनि भएको उहाँको भनाइ थियो । विद्वान वक्ताहरुले धेरै प्रसंग र विषय उल्लेख गर्नुभएको उहाँले बताउनु भयो । प्रकाशन र लेखनमा छुटेका विषयहरु आगामी दिनमा प्रतिष्ठानले पनि प्रकाशन गर्ने प्रतिबद्धता उहाँले बताउनु भयो । सामग्री संकलन भएर आए त्यसलाई प्रकाशन गर्न आफू तयार रहेको उहाँले बताउनु भयो । इतिहास लेखनमा नयाँ शिराबाट अघि बढ्न प्रतिष्ठान तयार रहेको उहाको भनाई छ ।
कार्यक्रम प्रज्ञासभा सदस्य चेतनाथ धमलाले सञ्चालन गर्नुभएको थियो भने पत्रकार डिल्ली रमण सुवेदीले कार्यक्रमको प्रतिवेदन लेख्नुभएको थियो ।