काठमाडौं ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार– २०७८’ नेपालको प्रगतिवादी धाराका स्थापित साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले आज एक वक्तव्य प्रकाशित गर्दै सो कुरा बताएका हुन् ।
जनयुद्धका क्रममा उच्च सहादत प्राप्त गर्नुभएका प्रगतिवादी धाराका स्थापित साहित्यकार कृष्ण सेन ‘इच्छुक’को नाममा स्थापित भएको इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगितवादी साहित्य र कला क्षेत्रका स्थापित लेखक साहित्यकार तथा कलाकर्मीहरू एवम् प्रतिभाहरूलाई पुरस्कृत गर्दै आइरहेको छ । सोही क्रममा यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७८’ नेपाली प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील हुँदै जनयुद्धको ऐतिहासिक प्रक्रियादेखि सङ्गठनात्मक एवम् सिर्जनात्मक रूपबाट निरन्तर क्रियाशील भई नेपाली वर्गसङ्घर्षको नवीन सौन्दर्य मूल्यहरूको विकास र प्रवद्र्धनका लागि अहोरात्र समर्पित रहीआउनु भएका स्रष्टाद्वय चितवन निवासी रविकिरण निर्जीव र दाङ निवासी यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।’ वक्तव्यमा भनिएको छ । प्रतिष्ठानद्वारा प्रदान गरिने यो पुरस्कार मुख्य पुरस्कार हो । यसको राशी रु एक लाख रहेको छ । साथ उक्त पुरस्कार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर प्रदान गरिन्छ ।
त्यसैगरी प्रतिष्ठानले मुल पुरस्कारका साथै जनही पच्चीस पच्चीस हजार नगद सहित साहित्य तथा कलातर्फ पनि प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७८’ विगत लामो समयदेखि साहित्यलेखन, खास गरी गीत र कविता लेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई अभिव्यक्त गर्दै आउनु भएका पोखरा निवासी काजीबाबु श्रेष्ठ (काजी गाउँले) लाई प्रदान गर्ने जनाएको छ । प्रतिष्ठानले यस वर्षको कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७८’ जनयुद्ध कालदेखि हालसम्म विशेषतः नृत्यतर्फ कृयाशील भएर संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रोल्पा निवासी कविता पुन मगरलाई प्रदान गरिने भएको छ ।
यी सबै पुरस्कारहरू प्रतिष्ठानको आफ्नो वार्षिक कार्यक्रमका अवसरमा प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । आगामी जेठ १३ गते इच्छुकको सहादत भएको दिनलाई प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै सांस्कृतिक वलिदान तथा स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । सो अवसरमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यबाट उक्त पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ । प्रतिष्ठानले उक्त दिन वार्षिक कार्यक्रमका साथै पुरस्कार प्रदान गरिने भएकाले सहभागिताका लागि कवि, कलाकार र सम्पूर्ण सांस्कृतिक कर्मीहरूलाई विशेष आमन्त्रण गरेको जनाएको छ ।