काठमाडौं ।
युवा लेखक जनक रसिकको पहिलो उपन्यास ‘दोरी’ प्रकाशन भएको छ ।
सुदूरपश्चिमका चर्चित लेखक रसिकले विगत दुई दशकदेखि साहित्य सिर्जना गर्दै आएका छन् । साथै उनले यस क्षेत्रमा पठन संस्कृतिको बिकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न आभियान सञ्चालन गर्दै आएका छन् ।
साहित्यका बहु विधामा कलम चलाउने रसिक सुदूरपश्चिमको समाज, राजनीति र समसामयिक मुद्दामा समेत निरन्तर कलम चलाइरहेका छन् ।
कविता र गजल विधामा आफ्नो छुट्टै पहिचान बनाएका रसिकका कथा र निबन्ध पनि उति नै रुचाइएका छन् ।
२०६३ सालमा सुदूरपश्चिमको पहिलो पूर्ण छन्दमा आधारित गजल संग्रह ‘युगीन सपना’ प्रकाशन गरेका रसिकका संयुक्त गजल र संयुक्त कविता संग्रहहरु पनि प्रकाशित छन् । पछिल्लोपटक राज्यको पुनर्संरचनासँगै स्थापित पहिलो प्रदेशसभा सम्बन्धि ऐतिहासिक पुस्तक ‘नीति निर्माता’ प्रकाशन गरेका रसिक राजनीतिक विश्लेषणमा पनि सशक्त ढंगले कलम चलाउँछन् ।
नेपाली साहित्यमा विज्ञान र प्रविधि विषयमा लेखन प्रकाशन खासै नभएको अवस्थामा दोरी उपन्यासमार्फत् रसिकले यो विषय सशक्त ढंगले प्रवेश गराएका छन् ।
उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधिसम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले केकस्ता समस्या उत्पन्न भैरहेका छन् र यो असमाञ्जस्यता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुनसक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो ।
सुदूरपश्चिमको लबज, मीथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ ।
भौतिक विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका रसिक साहित्यलाई केवल एक विधाको रुपमा मात्र नबुझी आधुनिक समाज र जीवनशैली सुव्यवस्थापनको महत्त्वपूर्ण साधनको रुपमा बुझ्नुपर्ने मान्यता राख्दछन् ।
काठमाडौं स्थित शिखा बुक्सले प्रकाशन गरेको उपन्यास छ । पुस्तक छिट्टै एक कार्यक्रम गरी सार्वजनिक गरिने लेखक रसिकले जानकारी दिए ।