फाल्गुण १३, चुम्लिङटार ।
तेजविलास अधिकारीद्वारा रचित “उच्छेद” मुक्तक संग्रह विमोचन भएको छ । कार्यक्रम रेन्वो होटल एण्ड रेस्टुरेन्ट चुम्लिङटारमा सम्पन्न भएको थियो ।
साहित्य प्रेमी तथा समाज सेवी नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सह प्राध्यापक डा. धनेश्वर भट्टराईको विशिष्ट आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बाट उद्घाटन पश्चात् भगवती अर्यालले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि लगायत उपस्थित सबैबाट एकसाथ पुस्तक विमोचन भयो ।
विमोचनकार्यक्रममा साहित्यमा विशेष अभिरुचि राख्ने विभिन्न पार्टी संगठनमा आवद्ध करिव ५० जना व्यक्तिहरूको उपस्थिति रहेको थियो । चितवन लगायत तनहुँ बाट साहित्यकार अनिल श्रेष्ठ, गोरखा बाट माधवप्रसाद खनाल, धादिङ बाट रमेश खतिवडा, स्रष्टाका पिता मधुविलास अधिकारी समेतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा भरतपुर बाट पाल्नुभएका विशिष्ट अतिथि डा. धनेश्वर भटराई बाट कृति तथा कृतिकारका वारे सारगर्भित समीक्षा प्रस्तुत गर्नुभएको थियो भने उपस्थित अतिथिहरूबाट विमोचित कृतिप्रति शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शुभकामना मन्तव्य राख्नुहुनेहरूमा एकराज शर्मा,माधवप्रसाद खनाल, गोवर्धन अधिकारी,विष्णुप्रसाद सापकोटा, सावित्रा सिलवाल,सावित्री गुरुङ,नरबहादुर नेपाल,रामनाथ त्रिपाठी,रोहिणि त्रिपाठी आदि हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा स्रष्टा तेजविलास बाट उपस्थित सबैमा सधन्यवाद सहित आभार व्यक्त गर्नुभएको थियो ।