काठमाडौं ।
लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री-केशर कथा सम्मान–२०७८’ र ‘बाटुली-खिलध्वज लघुकथा सम्मान-२०७८’ आज एक समारोहविच वरिष्ठ साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गर्नुभयो ।
‘सावित्री–केशर कथा सम्मान–२०७८’ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील वरिष्ठ कथाकार मधुवन पौडेललाई प्रदान गरिएको छ । सो सम्मान प्रमाणपत्रका साथै २१ हजार रुपैयाँ नगद राशि रहेको छ ।
त्यस्तै समाजले ‘बाटुली-खिलध्वज लघुकथा सम्मान-२०७८’ लघुकथा लेखनमा लामो समयदेखि सक्रिय लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । उक्त सम्मान पनि प्रमाणपत्रका साथै नगद राशि २१ हजार रुपैयाँ रहेको छ ।
सम्मानित कथाकार पौडेल तीसको दशकदेखि नै साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । कूटनीतिक सेवामा समेत रहेका पौडेलको ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘बाँच्नुको विवशता’लगायत कथासंग्रह प्रकाशित गर्नुभएको छ ।
वरिष्ठ लघुकथाकार भण्डारीका तीनवटा लघुकथाकृति प्रकाशित भइसकेका छन् । उहाँका विभिन्न विधाका उहाँका करिब ११ वटा कृति प्रकाशित छन् । विनय कसजूका लघुकथामा व्यंग्य विषयमा एमफिल गरेका भण्डारी नेपाली लघुकथामा व्यंग्य विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।
कार्यक्रममा समालोचक श्री वरिष्ठ कवि अशेष मल्ल, समालोचक श्री लक्ष्मणप्रसाद गौतम, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ रोदन, लघुकथाकार सुमन सौरभ, सिन्धु गौतमलगायतले बोल्नु भएको थियो । कार्यक्रम लघुकथा समजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो ।