माघ२३, काठमाडौं ।
आज देशैभरि श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पञ्चमी विद्यालय र सरस्वती मन्दिरमा सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । आजकै दिनदेखि बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजका दिन अक्षरारम्भ गराए बालबालिकाको पढाइमा विकास हुने जनविश्वास छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
आजकै दिनदेखि वसन्त ऋतु सुरु हुन्छ । सूर्य उत्तरतिर लाग्ने र दिन लामो भई वसन्त ऋतु प्रारम्भ हुने पूर्वीय मान्यता रहिआएको छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्यमा साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र वुद्धि स्फुरण भई विद्याकी देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लाग्छ।
आजकै दिन हनुमानढोका दरबार नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ।