काठमाडौं ।
कवि केशव सिलवालको तेस्रो कवितासङ्ग्रह ‘चिबेचरा’ यही पुस १७ गते शनिवार सार्वजनिक भएको छ । शिल्पी थिएटर, बत्तीसपुतलीमा भएको कार्यक्रममा विमल निभा, माइला लामा, उज्ज्वल प्रसाईं र धनकुमारी सुनारले संयुक्त सार्वजनिक गरे ।
कवि विमल निभाले जनवादी धारका सरल कविता सृजना गर्नु कठिन काम भएको बताए । आफू प्रौढ नभएर, समकालीन कवि भएको जिकीर गर्दै उनले सरल शैलीका कविताबाट नै जनताका मुद्दा बलियोसँग स्थापित गर्न सकिने बताए । उनले भने, ‘गहन शब्द र शिल्पको जालोबाट कवितालाई मुक्त गर्नुपर्छ,’ निभाले भने, ‘सबैले बुझ्ने भाषा र बिम्बकै प्रयोग गरेर शक्तिशाली कविता लेख्न सकिन्छ । आजको कविताको प्रमुख विशेषता यही हो ।’
अर्का वक्ता उज्ज्वल प्रसाईंले कविता सङग्रहले विविध पक्षको उद्घाटन गरेको बताउँदै कविता राष्ट्र, धर्म, जात र मानवीय विभाजनहरूभन्दा उच्च स्थानमा रहनु पर्ने धारणा व्यक्त गरे । ‘अबको कविताले राष्ट्रप्रेम र राष्ट्रिय मुद्दा मात्र बोक्नु असान्दर्भिक हुन्छ । कविताले मानव जाति र पृथ्वीको साझा मुद्दालाई सम्बोधन गर्न सक्नुपर्छ,’ उनले भने ।
जनसंस्कृतिकर्मी माइला लामाले केशव सिलवालका कविताले जनताको संघर्षको प्रतिनिधित्व गर्ने बताए । ‘हतकडी लगाएपनि, मुखमा पट्टी बाँधेपनि जनताका गीत बन्द हुँदैनन् । जनताका कुरा कविता र गीतमार्फत सधैं बाँचिरहन्छ,’ लामाले भने । उनले सङ्घर्षको आन्दोलन क्षयीकरण भएको विडम्बनालाई कविता सङ्ग्रहले समेटेको र नयाँ सङ्घर्षलाई आव्हान गरेको बताए ।
धनकुमारी सुनारले भने सम्पूर्ण उत्पीडित, शोषित वर्गको पक्षमा कविता लेख्ने कविको रुपमा सिलवाललाई चित्रण गरिन् । ‘आम सर्जकको जुन कुरामा दृष्टि पर्दैन सिलवाल त्यहीं कविताको बिम्ब भेट्छन् । प्रत्येक कवितामा जनताको आवाज बोल्छन्,’ सुनारले भनिन् ।
दुई दशकभन्दा बढी समय सांस्कृतिक एवम् साहित्यिक आन्दोलनमा क्रियाशील सिलवालको यसअघि ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरू’ कवितासंग्रह प्रकाशित भइसकेका छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘चिबेचरा’भित्र ५० वटा कविता समेटिएका छन् ।