(नयाँ दिल्लीबाट हर्कबहादुर लामगादे ‘रोहित’)
२८ नोभेम्बर, २०२१
आज भातको नयाँ दिल्ली स्थित विश्वकर्मा कलोनीमा एभरेष्ट नेपाली पुस्तकालयको उद्घाटन एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको तत्वावधानमा सुसम्पन्न भयो। एभरेष्ट चेम्बर अफ कमर्स भारतीय नेपाली व्यापारीहरूको संस्था हो। पुस्तकालय उद्घाटनका मुख्य आकर्षक महामहिम कार्यवाहक नेपाल राजदूत श्री रामप्रसाद सुवेदीको करकमलबाट पुस्तकालयको पटलेख एवं रिबन काटेर उद्घाटन भयो।
महामहिम राजदूतलाई मुख्य अतिथिको रूपमा एभरेष्ट चेम्बर अफ कमर्सले निम्त्याएको थियो भने विशिष्ट अतिथिको रूपमा नेपाल दूतावासबाट नै श्रीमती निता अर्याल (मिनिस्टर इकनोमिक), श्री यदुनाथ पौड्यलाय (कलचरल काउन्सलर), कर्नल रामचन्द्र खत्री औ नेपाल दूतावासका अधिकारी बाहेक एभरेष्ट चेम्बरका संस्थापक अध्यक्ष श्री चिरंजीवी मारासिनी, प्रो (डा.) युवराज पोखरेल (साउथ एसियन युनिवर्सिटी), श्री विष्णुबहादुर गुरूङ्ग (आकाशवाणी, नेपाली विभाग, प्रमुखबाट सेवानिवृत) मिलाएर पत्रकार, साहित्यकार साथै भारतका विभिन्न राज्यबाट एभरेष्ट चेम्बर अफ कमर्सका पदाधिकारीहरूको उद्घाटनमा राम्रो उपस्थिति देखियो।
चेम्बर अफ कमर्स संस्थाका महासचिव श्री मोहन कार्कीको संजोयकमा आयोजना भएको कार्यक्रमा उहाँले नै पुस्तकालय बनाउने उद्देश्यको पृष्टभूमिमा भन्नु हुन्छ-‘ कुनै पनि समाजको सभ्यता, संस्कृति एवम् संस्कारको सर्म्वद्धनका लागि भाषा एवम् साहित्यको अत्यन्त महत्वपूर्ण योगदान हुने गर्दछ। भारतमा नेपाली भाषी समाज विभिन्न विरोधाभासपूर्ण परिस्थितिको कारण आफ्नो भाषा, संस्कृति, साहित्य र संस्कारबाट काटिँदै गएको र आफ्नो वास्तविक परिचयसँग गौरव गर्न नसकेको, खुलेर आफ्नो भाषा बोल्न हिच्किचाउने गरेको, आफ्नो जाति चिन्हारीमाथि गर्व गर्न नसकेको जस्ता विभिन्न घटनाहरू प्रसस्तै देखिने गरेको कुरा सर्वविदित छ। यस्तो अवस्थामा समाजका धरोहरलाई जोड्दै, हाम्रो गौरवशाली ऐतिहासिक धरोहरको खोज, संरक्षण, सम्वर्द्धन एवम् प्रवर्द्धन गर्दै वर्तमानलाई स्वाभिमानी बाउन र भविष्यलाई सुनौलो बनाउने क्रममा नेपाली पुस्तकालयको आवश्यकता सबैले महसुस गरिरहेको कुरा हो। यिनै कुरालाई केन्द्रमा राख्दै सम्पूर्ण भारतीय नेपाली बुद्धिजीवी, लेखक, पत्रकार सबैको सल्लाहअनुसार नेपाली/गोर्खा समाजका व्यापारिहरुको राष्ट्रिय संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज दिल्ली र पतञ्जली योगपीठ एवं हाम्रो स्वाभिामन ट्रस्टका संस्थापक आचार्य बालकृष्णज्यूको विशेष सहयोग एवम् मार्गदर्शनमा एभरेष्ठ चेम्बर अफ कमर्सको कार्यलय भवन, विश्वकर्मा कलोनी, एम.बी. रोड, दिल्लीमा प्रथम नेपाली पुस्तकालयको शुभारम्भ हुँदैछ।’
उपश्थित हुने सबै विशिष्ट अतिथिले आफ्नो मन्तव्यमा शुभकामना दिँदै संस्थाको यो पहललाई ऐतिहासिक कार्य तुल्याउन चुकेनन्। मुख्य अतिथिको अभिभाषणमा महामहिम राजदूतले पुस्तकालय निर्माण गरिएकोमा नेपाल जनताको तर्फबाट पनि शुभकामना दिँदै यो पनि भन्नु भयो कि- ‘नेपाल र भारतको सम्बन्ध आदिकालदेखि प्रगाढ थियो, छ र यसलाई निरन्तरता दिनलाई हामीले विजिबिलिटी हुने कार्यप्रति पाइला चाल्नु पर्छ। हामीले दुवै देशकालागि जोड्न कार्यहरू गर्नु पर्छ। नेपाल दूतावास साहित्य, संस्कृति, कला, भाषा एवं नेपालीका लागि सधैं सहयोग गर्न तत्पर रहने छ।’
विश्वकर्मा कलोनी, नयाँ दिल्लीमा निर्माण गरिएको यो पुस्तकालयमा पन्ध्र हजार भन्दा बढी पुस्तक राख्न सकिने अनि एक समयमा चालीसजनासम्म पाठक बसेर पढ्न हुने टेबल कुर्सीका साथै वातानुकूलित हल तयार भएको पनि उद्घाटन कार्यक्रम जानकरी दिइयो, देखियो पनि।
नेपालीहरू जहाँ बसे पनि आफ्नो धर्म र संस्कृति बचाएर राखेका हुन्छन्। पुस्तकालय उद्घाटन कार्यक्रमको आरम्भमा अक्षेता र थुङ्गे फुलले आउने अथितिलाई गरिएको स्वागत अनि ढाका टोपी लगाइदिएर सम्मान गरिएको प्रमाण हेर्न पाइयो।
संस्थका अध्यक्ष श्री युवराज बरालको समापन भाषण अघि विशेष व्यक्तित्वहरूको शुभकामना संदेश पनि संयोजक मोहन कार्कीले सुनाए जसमा परम पुज्य आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण जी महाराज, पद्मश्री लीलबहादुर छेत्री, लोकसभा सांसद राजू विष्ट, भाषा सेनानी वरिष्ठ साहित्यिक समाज सेवक तारापति उपाध्याय, काव्य महारथी छविलाल उपाध्यायको थियो।