नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली बाल साहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजना अन्तर्गत उक्तकार्यको थालनी भएको हो । वर्तमान नेपालको सङ्घीय संरचना अनुकूल सात प्रदेशमा भएका बालसाहित्य लेखन, प्रकाशन र बाल गतिविधिहरूको समग्र चित्रआउने गरी अलगअलग सातजनाले र भारतीय र बर्मेली नेपाली बालसाहित्यको एक जनाले र अमेरिकी तथा युरोपेली देशहरूमा रहेका नेपाली स्रष्टाहरूबाट लिखित बालसाहित्यको इतिहास एक जनाले लेख्ने गरी नौ जना विज्ञहरूको समूह यस कार्यमा लागिसकेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।
गतभदौ २९ गते बाल दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ का अवसरमा प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले यस कुराको औपचारिक घोषणा गर्नुभएको थियो । यस अवसरमा प्रदेश नं. एकको नेपाली बालसाहित्यको इतिहास कवि तथा समालोचक मिश्र वैजयन्तीले र प्रदेश नं. दुईको इतिहास बालसाहित्यका स्रष्टा तथा समालोचक नवराज रिजालले लेख्दै हुनुहुन्छ । यसरी नै कृष्ण सुवेदी (भारद्वाजमित्र) लेबाग्मती प्रदेशको, गङ्गा कर्माचार्य पौडेलले गण्डकी प्रदेशको, डा. शालिकराम पौडेलले लुम्बिनी प्रदेशको, जागेश्वर उपाध्यायले कर्णाली प्रदेशको र रामचन्द्र नेपालले सुदूरपश्चिम प्रदेशको नेपाली बालसाहित्यको इतिहास लेख्दै हुनुहुन्छ । साथै भारतको असमकी डा. दैवकी देवी तिमसिनाले भारतीय र बर्मेली नेपाली बालसाहित्यको र हाल अमेरिकामा रहेकाकवितथा समालोचक लालगोपाल सुवेदीले डायस्पोरा (युरोप, अमेरिकाआदि) को नेपाली बालसाहित्यको इतिहास लेख्दै हुनुहुन्छ ।
आगामी मङ्सिर महिना सम्ममा सबै क्षेत्रको लेखनकार्य सकिने र तीनोटै सामग्रीलाई एकै ठाउँमा संयोजन गरी यही आर्थिक वर्षमा ‘नेपाली बालसाहित्यको इतिहास’नामक कृति प्रकाशन गर्ने योजना रहेको जानकारी परियोजना संयोजक तथा साहित्य (लोकवार्तार बालसाहित्य) विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनु भएको छ ।
पछिल्लो समयमा बालबालिकाको प्रतिभा उद्घाटन, बालसाहित्यको अनुसन्धान र प्रकाशन जस्ता कार्यमा निकै सक्रिय देखिएको प्रज्ञा–प्रतिष्ठानले प्रज्ञाको इतिहासमा नै पहिलो पटक अर्धवार्षिक रूपमा ‘बालप्रज्ञा’ नामकबालपत्रिकाप्रकाशनको थालनी गरी निरन्तर प्रकाशनगर्दै आएको छ भने यसअघि नै १०१ जना कथाकारहरूका बालकथाहरूको सङ्ग्रह ‘प्रज्ञा नेपाली बालकथा’ र १०७ जना गजलकारहरूका बालगजलहरूको सङ्ग्रह‘प्रज्ञा नेपाली बालगजल’ कृतिहरू प्रकाशन गरिसकेको छ । यही मङ्सिर महिना भित्रमा ‘प्रज्ञा नेपाली बालनिबन्ध’ र ‘प्रज्ञा नेपाली बालगीत’ प्रकाशन कार्यमा जुटेको प्रज्ञाले नेपाली बालकाव्य, बालउपन्यास र बालकथासँग सम्बन्धित विभिन्न अनुसन्धान कार्यहरू पनि गराइरहेको जानकारी प्राज्ञ डा. नेपालले दिनु भएको छ ।