जङ्गलबाट एकहुल बाँदर सहरतिर पसेछन् ।
जङ्गलकाअग्ला होचा रूखहरूमा झुन्डिएर तमासा देखाउने बाँदरहरू सहरका अग्ला होचा रूपरङ्ग नमिलेका छरिएका घरहरुलाई रूखै सम्झिन पुगेछन्। सहरका मान्छेहरूका अनुहार अलिअलि आफ्नो अनुहारसँग मिलेको देख्दा तिनीहरूलाई सहररूपी जङ्गलका अर्को थरि बाँदर सम्झिन पुगेछन् ।
आफूहरू नाङ्गै भएको अवस्थामा सहरका मान्छेहरूको शरीरमा रङ्गिचङ्गी चहकिला लुगा देख्दा भने अचम्म मानेछन्। बाँदरहरू आफ्नो टोली नेताको इसारामा सहरको अर्को गल्ली तिर दौडिएछन् । त्यहाँ तिनीहरूले आधा शरीर ढाकेका र आधा शरीर नाङ्गो रहेका मान्छेहरू देखेर झनै अचम्मित भएछन्। एउटा बाँदरले आफ्नो पुच्छर समाउँदै मान्छेको पुच्छर नभएको रहस्यतिर सबैको ध्यानाकर्षण गरेछ । त्यो रहस्य देखेर अर्को प्रजातिका गोरिल्ला होलान् भन्ने अनुमान लगाएर सबै बाँदरहरू त्यहाँबाट कुलेलम ठोकेछन् ।
अनि अर्को गल्लीमा पुगेछन् । गर्मीको मौसम, त्यहाँ तिनीहरूले झनै छोटा लुगा लगाएर पौडी खेलिरहेका मान्छेहरू देखेछन् । कसैको माथि र तल सस्यानो टालो झुन्डिएको र कसैको तलमात्र सानो टालो झुन्डिएको देखेपछि त तिनीहरू तीन छक्क परेछन् । एउटाले अनुमान लगायो “लङ्गुर होलान् ।“
“तिनीहरू नाङ्गै हुन्छन्“, अर्कोले जवाफ फर्कायो। अर्कोले अनुमान लगायो “चिम्पाञ्जी होलान् ।“
यसरी अनुमान लगाउँदा लगाउँदै केही मान्छेहरूको शरीर पुरै निवस्त्र देखेपछि सबै बाँदरहरू गलल्ल हाँसेछन्। त्यही बीचमा नाङ्गाहरूतिर इसारा गर्दै टोली नेता बोलेछ – “यिनीहरूलाई बाँदर नभन्नु नि ! फेरि ।“
पुनः सबै हाँस्न थालेछन् ।
जाँदा जाँदा बाँदरहरू अलि भिरालो ठाउँतिर झरेछन् । त्यहाँ तिनीहरूले फलफूलका बोटहरू देखेछन् । केही आधा सुकेका र केही राम्रै अवस्था भएका विभिन्न जातजातिका फलफूलका बोटहरूको बीचमा एउटा नरिवलको बोट पनि ठिङ्ग उभिएको रहेछ । सबै बाँदरहरू फलफूल खान छिनाझप्टी गर्दै मनलागि रूखहरूमाथि चढेछन् । भोकाएका जङ्गली बाँदरहरूले आफूलाई मन लागेको फल खाँदै फाल्दै गरेको दृश्य अनौठो झैं लाग्दथ्यो ।
टोली नेता नरिवलको रूखमाथि चढ्न खोज्छ, अँ हँ सक्दैन् । धेरै प्रयास गर्दा पनि चढ्न नसके पछि उसले जुक्ति लगायो । सबै बँदरहरूलाई रूखको फेदमा बोलायो, बाँदररूको पिरामिड बनायो अनि सानले नरिवलको रूखमाथि चढ्न सफल भयो । टोली नेताले हातभित्र नअटाउने सबै नरिवलहरू खसाउन पुगेछ । सबै बाँदरहरूको हात हातमा एक– एक नरिवल परेछ ।
अब खाने कसरी त ? न दाँतले टोकेर टोकिने, न नङ्ग्राले चिथोरिने, न सजिलोसँग फोरेर खान मिल्ने । लाख प्रयास गर्दा पनि केही सीप नलागेपछि टोली नेता ठुलो ढुङ्गो लिएर आएछ । उसले नरिवलमाथि ठुलो ढुङ्गो बजार्याे । क्या फसाद ! नरिवल उछिट्टिएर टोली नेताको टाउकोमा लागेर ठहरै पर्याे ।
(महेन्द्रनगर)