१० भदौ, काठमाडौं ।
जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको उपचारका क्रममा बिहीबार बयोधा अस्पतालमा निधन भएको हो ।
टुहुरे भदौ एक गते घरमा पक्षघात भएर लडेका थिए । परिवारका सदस्यले समयमै अस्पत्ताल पुर्याएपनि मस्तिष्कमा रगत जमेका कारण उनको उपचार सम्भव भएन । उपचारै क्रममा ७८ वर्षको उमेरमा आज उनको मृत्यु भयो ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी दीर्घरोग भएका टुहुरेको यही कारण शल्यक्रिया हुन सकेन ।
२००१ मा धरानमा जन्मिएका जुठबहादुर खड्गी ‘टुहुरे’ २०२० सालदेखि कम्युनिष्ट आन्देलनमा क्रियाशील थिए । चौविसपच्चिस सालदेखि जनपक्षीय गीत गाउन थालेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन्। उनले ‘आमा दिदी बहिनी हो’, ‘बसाईं हिँड्नेको ताँतीले’, ‘आँधी खोलैले’, ‘छोराहरु हो’, ‘चौरी चर्ने ठाउँमा’, ‘जुनीभरी मुटु’ जस्ता चर्चित गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई …’ बोलको गीत निकै चर्तित गीतमध्येमा पर्छ ।
लामो समय माले हुँदै एमालेमा रहेर काम गरेका टुहुरे पछिल्लो समय एकीकृत माओवादीमा सल्लाहकारको भूमिकामा रहेका थिए ।