” नमस्कार डा.साहेब ! सन्चै हुनुहुन्छ ?” एक्कासि गरिएको अभिवादनले घाम ताप्दै बसेका भरोसा मेडिकल हलका सञ्चालक हेल्थ असिस्टेन्ट अमृत झस्के ।
“नमस्कार ! सन्चै छु । केही काम थियो कि ?”
दुई वर्षको छोरो काखमा बोकेकी ममताले लाज मान्दै भनिन्, “अब अर्को बच्चा केही वर्षपछि जन्माउने विचार थियो त्यसैले सल्लाह गर्न आएकी ।”
प्रश्नको आशय बुझेर अमृतले आफ्नो विद्वताको प्रदर्शन गर्न थाले। अहिले प्रविधिको जमाना छ।’दुई सन्तान ईश्वरका वरदान’ भनिन्छ तर अचेल एउटामात्रै सन्तान जन्माउने चलन छ । तपाई पिल्स, कपर टी, सँगिनी लगायतका अनेक साधनमध्ये कुनै एकको प्रयोग गर्नसक्नु हुन्छ। सन्तानको जन्मान्तर अति आवश्यक हुन्छ। पालनपोषण, पढाइ लेखाइमा पनि सहज हुने धारणा राख्यो र अहिले सबैले जन्मातरमा ध्यान दिएझैँ आफूले पनि ख्याल गरेको कुरा बतायो ।
उनीहरू कुरा गर्दै गर्दा डेढ दुई बर्षको अन्तर भएका दुई छोरी र एक छोरा “बाबा आज हामीले हजुरको लागि खीर ल्याएका छौँ” भन्दै मेडिकलमा खानाको टिफिन बोकेर आए। अमृत खाना खान भित्रतिर लागेपछि ममताले अमृतकी जेठी छोरीलाई सोधिन् ,”तिमीहरू कति वर्षका भयौ ?”
दिदीले जवाफ दिइन्,”म सात वर्ष, बहिनी पाँच वर्ष र भाइ तीन वर्ष ।” यो जवाफ सुनेर ममतालाई जन्मान्तरबारेको भनाइ र गराइमा भएको फरक घामजस्तै छर्लङ्ग भयो।
(पाटन, बैतडी)