“होइन ए स्वाभिमान ! तिमी आजभोलि खुसी देखिन्नौ; अनुहारमा विषादका रेखा कोरिएका छन्। के पीर प-यो ?” एन्जलले चौतारामा उसलाई एक्कासि प्रश्न सोधी । प्रश्न सुनेर स्वाभिमान झन् गम्भीर देखियो तर केही बोलेन। एन्जेलले पुन: प्रश्न गरी, “होइन तिम्रो बोली पनि बन्द भैसक्यो कि क्या हो ?”
” खासै केही होइन एन्जल, उसकै काखमा बसेर प्रथम वाणी निकालियो, अरूको लाख र आमाको काख भन्ने उखानको अर्थगाम्भीर्य मनन गरियो। शब्दले भकारी भरियो र वाचाल बनियो। उनीविनाको जीवन कल्पनासम्म गरिएन। संसारमा उनीभन्दा सरल, मायालु लावण्यमयी, सरस र लालित्यमय अर्की छैनन् पनि भनियो। माया गर्ने, घुर्की लाउने, गाली गर्ने, मन बहलाउने साधन उही बन्यो तर जब अर्कीसित लसपस बढ्यो; अर्की प्राप्त गर्ने धून चढ्यो तब पुरानीको अनुहारमा चाउरी देखिन थाल्यो। रङ उडेको खेलौनाजस्तै लाग्न थालिन् । पहिलेपहिले यो घर उनको एकलौटी लाग्थ्यो तर अब उनलाई एउटा कोठामा मात्र सीमित गर्न रहर लाग्न थाल्यो । नयाँलाई सर्वोपरी भूमिका दिन मन लाग्न थाल्यो । पहिलेकीलाई भण्डारबाट आधा बाहिर पालीतिर सार्न मन लाग्न थाल्यो । नयाँलाई नै हर्ताकर्ता बनाउन मन लाग्न थाल्यो । कहिलेकाहीँ त लाग्छ पहिलेकीलाई घरबाटै निकालिदिऊँ र सम्बन्ध नै विच्छेद गरिदिऊँ । तर लोकलाज र समाजको डरले गर्न सकिएको छैन ।त्यसैले अन्योलमा पिङ खेल्दै छु ।”
“होइन,तिमी बहुलायौ कि क्या हो ? आफू मात्रै बोल्छौ कि मलाई पनि बोल्न दिन्छौ ? मैले केही बुझे मरिजाऊँ । अर्को बिहे गर्न लाग्यौ कि क्या हो?” एन्जलले प्रश्न गरिन् । “विवाह नै नगरेको मान्छेले के अर्को विवाह गर्नु नि !” स्वाभिमानले निराशाले भरिएको जवाफ दियो । “अनि ती पहिलेकी र दोस्री भनेकी को को हुन् नि?” ।
स्वाभिमानले गम्भीर भएर भन्यो, “पहिलेकी नेपाली भाषा र दोस्री ………. ।”
(पाटन, बैतडी)