विश्वास ! न त्यो ठोस वस्तु नै हो न त त्यसलाई देख्न नै सकिन्छ विश्वास ! न त तरल पदार्थ नै हो जसलाई पोखिएर छताछुल्ल भएकै देखिन्छ विश्वास ! न त यो भवन नै हो जसलाई स्पर्श गर्न नै सकिन्छ । परिभाषामा यो त आकारहीन छ, आकाशजस्तै बृहत् ! रंगबिहीन छ, तर पानीजस्तै आफूमा सघै इन्द्रेणी अन्तर्निहित गराई हिँडिरहन्छ। स्वयं अदृश्य छ तर सदैव र सर्वत्र छ । अथाह र अनन्त गहिराइ छ र त आफूभित्रै सधैँ एउटा विशाल समुद्र बोकी हिँड्छ । यथार्तमा विश्वास त, न त कर्तव्य हो न त यो कसैको अधिकार हो यो त मात्र निस्वार्थ कमाइ ह - मन, बचन र कर्मको जसलाई निरन्तरता र सदासयताले मात्र आर्जन गर्न सकिन्छ। विश्वास ! नाफा घाटाबाट मुक्त छ । नाताबाद र कृपाबादबाट पनि स्वतन्त्र छ विश्वास ! कहिले कुनै टेन्डरको महान् गर्दैन होलसेलका हाट बजारहरुमा पनि यो भेटिदैन घुसखोरीजस्तो लेनदेन कारोबारमा पनि मुछिदैन । होसियारीमा अलिकति पनि चुकिदा, कुकर्मका बेरुजुहरुले त “बर्षौको आर्जन विश्वास” सजिलै भाँच्न , च्यातिन र टुक्रिन सक्छन् झर्यामझुरूम नजोडिने जड सिसाहरुझैँ गर्लामगुर्लुम्म भुकम्पहरु आएझैँ अन्धधुन्ध ठूलो आँधीबेरी र असिना वर्षेझैं । रोपाईको लागि खडेरीले वर्षालाई पर्खेझैं दिगो विश्वास त दुई आत्माको मात्र “पवित्र कारोबार “ हो जहाँ लकन-छपन पटक हुनुहुँदैन । यसमा उधारो र बन्धकीका तम्सुकहरु पनि लेखिँदैनन् जेष्ठताका जबर्जस्ती नियमहरु पनि लादिदैनन् अपारदर्शिका पर्खालहरु पनि लगाइदैनन् लुकिछिपी र ढॉटछलका खेलहरू खेलिदैनन् विश्वास त केवल व्यक्ति स्वयंले आर्जन गरिनुपर्छ आफ्ना निःस्वार्थ मन, बचन र कर्महरुबाट दिनहुँ केही त्याग र केही मेहेनतको अभ्यासहरूबाट । (सेन्ट लुइस , अमेरिका)