काठमाडौं ।
लेखक नयनराज पाण्डेको कथाकृति ‘जियरा’ बजारमा आएको छ। काेराेना महामारीले सिर्जना गरेकाे असहज वातावरण र निषेधाज्ञाका कारण पुस्तक सार्वजनिक कार्यक्रम बेगरै बजार पठाइएको हो ।
प्रतिकूल समयमा कृति बजारमा लैजानु परे पनि लेखक भने उत्साहित देखिन्छन् । “जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,” लेखक पाण्डेले भने, “यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ।”
एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक, बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले ‘जियरा’लाई बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको लेखक पाण्डेले बताएका छन् ।
‘जियरा’का कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ ।
प्रकाशक फाइनप्रिन्टका अनुसार, मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्रह ‘जियरा’मा लेखकले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउँछन्। त्यस्तै, लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् ।
जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पूँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए। उनी भन्छन्, “मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ ।”
जियरा कथासङ्ग्रहमा १३ वटा लामा कथा समावेश छन् ।
फाइनप्रिन्टले बजारमा ल्याएको यस पुस्तकको मूल्य ४७५ रुपैयाँ छ ।