जेठ १२, काठमाडौं ।
आज गौतम बुद्धको जन्मदिन, बुद्धपूर्णिमा । आजै गौतम बुद्धले बुद्धत्व र महापरिनिर्वाण प्राप्त गरेका थिए । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धप्रति आस्था प्रकट गरी बुद्ध पूर्णिमाको रुपमा २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् ।
बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मानाउने गर्छन् ।
हरेक वर्ष धुमधामसँग मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना महामारीका कारण कुनैपनि विशेष कार्यक्रम नगरी मनाइँदैछ ।
सिद्धार्थ गौतमको जन्म २५६५ वर्ष अघि इशापूर्व ५६३ मा तिलौराकोटका राजा शुद्धोधन र रानी मायादेविको सुपुत्रको रुपमा भएको थियो । मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा बुद्ध जन्मेका थिए ।
सिद्धार्थ गौतमका बाबु तत्कालीन गणराज्य तिलौराकोटका राजा थिए । जन्मदाबित्तिकै आमा गुमाएका गौतम बुद्ध आफ्नी सौतेनी आमाको भरणपोषणमा हुर्किएका थिए । १६ वर्षको उमेरमा उनको बिवाह यशोधरासँग भएको थियो। यशोधराबाट राहुल नामको एक पुत्रको जन्म भएको थियो ।
समाजमा व्याप्त दुःख देखेर उनमा सानै उमेरदेखि नै जीवनप्रति नैराश्यता सिर्जना भएको थियो । यही निराशा र वैराग्यका कारण उनले २९ वर्षको उमेरमा घरबार त्यागेका थिए ।
२९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा निस्किएका सिद्धार्थलाई ६ वर्षको तपस्यापछि वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त भएको थियो । इशापूर्व ५२८ मा ३५ वर्षका सिद्धार्थलाई बुद्धत्व प्राप्ति भएपछि उनी बुद्धका रुपमा प्रसिद्ध भए ।
संसार दुःख व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषयमा उनले खोज गरेका थिए । उनका चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु भन्ने उपदेश पञ्चशीलका उपदेशका रुपमा प्रशिद्ध छन् ।
गौतम बुद्धको मृत्यु भारतको कुशीनगरमा इशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिनमा नै भएको थियो । उनले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए ।