जेठ ११, काठमाडौं ।
कृष्ण सेन ‘इच्छुक’ स्मृति तथा सांस्कृतिक वलिदान दिवस यस वर्ष पनि स्थगित गरिएको छ ।
सहिद कृष्ण सेन ‘इच्छुक’ले सहादत प्राप्त गरेको दिनलाई मुख्य दिन मानेर जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सांस्कृतिक क्षेत्रका सहिदहरूको सम्मान र सम्झनामा सांस्कृतिक बलिदान दिवस मनाउने गरिएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले यो दिवस विगत १८ वर्षदेखि मनाउँदै आएको छ ।
२०६३ सालमा इच्छुकका नाममा स्थापित ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ले पनि यो दिवसलाई आफ्नो वार्षिक कार्यक्रम सँगसँगै मनाउने गरेको छ । कहिले एकल र कहिले जनसांस्कृतिक महासङ्घसँग संयुक्त रूपमा मनाउँदै आएको यो कार्यक्रम गत वर्षझैँ यस पटक पनि कोभिड १९को महामारीका कारण बन्दाबन्दी भएकाले स्थगित गरिएको हो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले आज एक वक्तव्य जारी गर्दै कार्यक्रम स्थगित गरिएको जनाएका छन् । इच्छुक प्रतिष्ठानद्वारा जारी वक्तव्यमा भनिएको छ – ‘कोरोनाजन्य विश्वमहामारी र बन्दाबन्दीको विषम परिस्थितिका कारण गत वर्ष र यस पटक पनि हामी भौतिक रूपमा समूहमा उपस्थित भएर समारोह सम्पन्न गर्ने अवस्थामा रहेनौँ । तथापि विचार र भावनाका तहमा हामी इच्छुकले जीवनपर्यन्त दृढतापूर्वक बहन गर्नु भएको क्रान्तिकारी संस्कृति र त्यसको आदर्शलाई गम्भीरतापूर्वक आत्मासात् गर्दछौँं ।’
वक्तव्यमा अगाडि भनिएको छ– ‘भौतिक रूपले एक ठाउँमा भेला हुन सक्ने अवस्था नरहे पनि मानसिक र भावनात्मक स्तरमा सांस्कृतिक बलिदान दिवसको गर्व र गरिमाबोध गरिरहेका छौं र कृष्ण सेन ‘इच्छुक’लगायत सम्पूर्ण सांस्कृतिक सहिदहरूका आदर्शलाई साहित्य–कलाका सिर्जना, समीक्षा र प्रकाशनमा अझ घनीभूत र व्यापक बनाएर लैजाने आवश्यकताबोधसँगै प्रतिबद्धता व्यक्त गर्दछौंँ’ ।
प्रतिष्ठानले स्थिति सामान्य भएपछि वार्षिक कार्यक्रम गर्ने र सो अवसरमा पूर्व घोषित पुरस्कारहरू प्रदान गर्ने जनाएको छ । साथै बन्दाबन्दी सकिएर माहामारीको प्रभाव कम भएपछि प्रतिष्ठानका नियमित कार्यक्रमहरू सुचारु गर्ने पनि वक्तव्यमा जनाइएको छ ।