जेठ ३, काठमाडौं ।
वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको ७६ वर्षको उमेरमा आज बिहान कोरोना सङ्क्रमणका कारण निधन भएको छ । उनको आज बिहान ५ बजे बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो ।
उनको केहीदिनदेखि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कोरोना सङ्क्रमण भएपछि उनलाई सुरुमा ७ दिन ह्याम्स अस्पतालमा उपचार गराइएको थियो। त्यहाँबाट डिस्चार्ज भई घर फर्किएका सुवेदीलाई लगत्तै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लगिएको थियो । केन्द्रमा भर्णा गरेर उपचार गराउँदा गराउँदै ११ दिनपछि उनको निधन भएको हो ।
विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, उपन्यास, निबन्ध, समालोचना गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए ।