काठमाडौं ।
नेपाली फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ। मोहन राई निर्देशित ‘महानगर’ को भारतको ‘कोलकाता फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर गरिएको थियो।
‘अञ्जली’ र ‘सखी’ नामका दुई चलचित्र बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू चलचित्र हो। ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री चलचित्र हो भने ‘सखी’ छोटो चलचित्र हो।
चलचित्रले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय चलचित्रमध्येबाट फेस्टिभलमा ठाउँ बनाएको हो । यो फेस्टिभलको २४ औं संस्करण हो । फेस्टिभल मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ ।
कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्रले एक रातको कथा भन्छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन चलचित्रको कथा हो । चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे आदि कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रलाई माउन्टेन रिभर फिल्म्सको सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो । निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो चलचित्रको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल छन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ।
ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली फिल्मले सहभागिता जनाइसकेका छन् । सन् २००९ मा ‘सारी सोल्जर्स’ यो फेस्टिभलमा छनोट भएको थियो भने सन् २०१७ मा सुनिल पाण्डे निर्देशित छोटो चलचित्र ‘अनन्त यात्रा’ पनि यहाँ छनोट भएको थियो ।