काठमाडौं ।
साहित्यकार रह शर्मा ( शशी किरण रेग्मी) को नवीनतम निबन्ध कृति ‘विभावना’ सार्वजनिक भएको छ ।
चितवनमा भएको एक समारोहका प्रा.डा. नारायणप्रसाद खनाल, पोषराज पौडेल, रणेन्द्र बराली र लेखक शर्माले विमोचन गर्दै पुस्तक सार्वजनिक गरेका हुन् ।
सम्पुर्ण पुस्तक पसल नारायणगढका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतमा सम्पन्न विमोचन समारोहको सञ्चालन द्वारिका नेपालले गरेका थिए । कार्यक्रममा साहित्यकार रणेन्द बरालीले स्वागत मन्तव्य राखेका थिए ।
विमोचन समारोहका प्रमुख अतिथि प्रा.डा.नारायणप्रसाद खनालले रह शर्मा (शशी किरण)का निबन्धमा समाज र संस्कृतिका दुरुह पक्षको पर्दाफास भएको बताए । उनले शर्माका निबन्धहरूमा प्रगतिशील चेतना भएको बताए । `लेखकले निबन्धहरूमा समकालीन राजनीतिलाई उतार्नु भएको छ´ खनालले भने, `राजनीति, संस्कृति र दर्शनलाई बिषयवस्तु बनाएर लेखिएका निबन्ध सबै पाठकका लागि पठनीय छन् ।´
पुस्तकलाई चार खण्डमा विभाजन गरिएको छ । पहिलो खण्ड अन्तर्गत दृष्टिकोण शीर्षकमा १० निबन्ध छन् । दोस्रो खण्ड अन्तर्गत संस्मरण शीर्षकमा ११ निबन्ध छन् । तेस्रो खण्डलाई विसंगति शीर्षक दिइएर ११ वटै निबन्ध राखिएको छ भने अनुभूति शीर्षकको चौँथो खण्डमा १० निबन्ध छन् ।
बिएन पुस्तक संसारबाट प्रकाशित यस निबन्धसङ्ग्रहको मूल्य ३०० रुपैयाँ रहेको छ ।