नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा मङ्गलबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा स्रष्टा भेटघाट एवम् शुभकामना आदान–प्रदानका साथै ‘नयाँ वर्षको सांस्कृतिक महत्त्व’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयो– “हामीले मान्दैआएको सम्बत् विक्रम सम्बत्को सांस्कृतिक महत्त्वका बारेमा आयोजित यस गोष्ठीले सार्थक उपलब्धि हासिल गरेको मैले ठानेको छु । सम्बन्धित विषयका विज्ञद्वय देशकै प्रख्यात संस्कृतिविद् उपकुलपति डा. जगमान गुरुङ र प्रख्यात इतिहासविद् प्राज्ञ प्राध्यापक दिनेशराज पन्तद्वारा व्यक्त विचार वास्तवमै गहन छन्, मननीय छन् ।”
कुलपति उप्रेतीले कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक÷साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो– “चाँडै नै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनशास्त्रजस्ता विषयको सृजना, खोज–अन्वेषण र लेखन कार्यमा समर्पित स्रष्टाको सम्मानका लागि परिचयपत्र प्रदान गर्न लागिएको छ । सम्भवतः नयाँ वर्षसँगै लेखक÷साहित्यकार परिचयपत्र वितरण प्रक्रिया अगाडि बढ्ने छ ।” कुलपतिले त्यसका लागि कार्यविधिसमेत तयार भइसकेको जानकारी दिनुभयो । कुलपति उप्रेतीले थप्नुभयो– “आज अर्को खुसीको खबर पनि छ । त्यो हो, महाकवि देवकोटा सङ्ग्रहालय भवन निर्माण हुने भएको छ । त्यसका लागि आजै मात्र बोलपत्र आव्हानको सूचना प्रकाशित भएको छ ।” उहाँले अर्को आर्थिक वर्षभित्रमा महाकवि देवकोटा सङ्ग्रहालय तयार भई सञ्चालनमा आउने विश्वास दिलाउनुभयो । कुलपतिले नयाँ वर्ष सृजनशील, ऊर्जाशील, सार्थक र उपलब्धिमूलक रहोस् कामना समेत गर्नुभयो ।
संस्कृति विभागका प्रमुख उपकुलपति डा. गुरुङले ‘नयाँ वर्षको सांस्कृतिक महत्त्व’ कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विक्रम सम्बत्का सन्दर्भमा अनेक भ्रम सृजना गरिएको हुँदा त्यो भ्रम चिर्नका लागि समेत कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– हामीले भूगोलबेत्ता र ज्योतिषशास्त्रलाई मान्ने हो भने पनि विक्रम सम्बत् महत्त्वपूर्ण छ ।” वर्षको अर्थ सूर्यको गति हुने भन्दै उहाँले मान्छेका जस्तै ग्रहहरूका पनि शत्रु र मित्रु तथा आफ्नो र अर्काको घर भन्ने कुरा हुने विचार व्यक्त गर्नुभयो ।
सामाजिक शास्त्र विभाग प्रमुख प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले ‘नयाँ वर्षको सांस्कृतिक महत्त्व’बारे विशेष प्रवचन दिँदै भन्नुभयो– “नेपालको परिप्रेक्ष्यमा पछिल्लो पटक चलेको सम्बत् विक्रम सम्बत् नै हो । विक्रम सम्बत्को प्रचलन नेपालको लागि गौरव गर्न लायक छ ।” उहाँले गणितीय एवम् ज्योतिषशास्त्रीय दृष्टिकोणबाट समेत विक्रम सम्बत्को विशेष सांस्कृतिक महत्त्व रहेको बताउनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित विज्ञ–समीक्षित शोधपत्रिका ‘प्रज्ञा’, बहुभाषिक अर्धवार्षिक पत्रिका ‘सयपत्री’ र अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’को पछिल्लो अङ्कको लोकार्पणसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन योजना तथा कार्यक्रम महाशाखाका बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।