काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा–साहित्यका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८३ औँ जन्मजयन्तीको अवसरमा प्रज्ञा भवनमा ‘गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वका विविध आयाम’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । सो अवसरमा जोशीद्वारा रचित खण्डकाव्य ‘हेल्चा’को लोकार्पणसमेत गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी माली, साहित्यकार नारायण ढकाल, शरद कसाः, पूर्ण ताम्राकार लगायतले कृतिको लोकार्पण गर्नुभएको हो ।
उक्त गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा रहेको एउटा भाषाको अवस्था के छ भनेर बुझ्न अर्काे भाषीलाई गाह्रो भएकाले नै प्रज्ञा–प्रतिष्ठानले अनुवादका कामहरू गर्दै आएको बताउनुभयो । उहाँले नेपाली साहित्य भन्नाले नेपालका विभिन्न समुदायका मातृभाषा र साहित्यको समष्टि रूप हो भनी बुझ्नुपर्ने विचार व्यक्त गर्दै बहुलतालाई सम्बोधन गर्नु नै आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । कुलपति उप्रेतीले लोकार्पित पुस्तक ‘हेल्चा’को पनि अनुवाद गराउन साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो– “त्यसको अनुवाद र प्रकाशन खर्च प्रज्ञा–प्रतिष्ठानले व्यहोर्ने छ ।”
उपकुलपति डा. जगमान गुरुङले कुनै पनि भाषा–साहित्यको उत्थानका लागि समुदाय र राष्ट्र दुबै सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “यसो हुन सक्यो भनेमात्रै मातृभाषा र मातृभाषा साहित्यको उत्थान हुन्छ ।”
प्रज्ञा–प्रतिष्ठान, मातृभाषा (साहित्य) विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ लक्ष्मी माली कार्यक्रममा स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा महाकवि जोशीबारे प्रवचन दिँदै साहित्यकार नारायण ढकालले भन्नुभयो– “नेपालभाषाका महाकवि जोशी आफूलाई माक्र्सवादी भन्नुहुन्न थियो तर जोशीका रचनामा घनघोर माक्र्सवाद देखिन्थ्यो । उहाँ प्रश्न उठाउनुहुन्थ्यो । प्रश्न उठाउनु नै सच्चा माक्र्सवादी हो । जोशीको समालोचनात्मक चेत निकै बलियो थियो ।”
कार्यक्रममा कवि शरद कसाःले जोशीको व्यक्तित्व र कृतित्वका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कसाःका अनुसार कवि जोशी जोसुकै व्यक्ति भेटे पनि आफ्नो भाषा छोड्न नहुने र जीवित राख्नुपर्ने बताउनु हुन्थ्यो । “नेपाल भाषामा लेखिएका महाकाव्य धेरै छैनन् । जति लेखिएका छन्, ती कुनै बुद्ध धर्ममा आधारित छन् त कुनै कला सिर्जनामाथि लेखिएका छन्,” कसाःले भन्नुभयो– “यी सबैभन्दा अलग गिरिजाप्रसादले लेखेको ‘ल्वहंमा’ छ । यसमा आजका मानिसका कथा छन् । नौओटा सर्गमा लेखिएको यो महाकाव्यमा आम मानिसको भोगाई छ । पीडा छ । छट्पटी छ । अनि यसबाट मुक्तिको चाहना र मार्ग पनि छ । त्यसैले उनलाई प्रगतिशील आधुनिक महाकविको रूमा चिनिन्छ ।” जोशीका कविता, गीत, उपन्यास, नाटक आदि साहित्यका विविध विधाको कूल ३८ ओटो कृति प्रकाशित भइसकेका छन् । जोशीले ४९ वर्षको अल्पायुमै पनि ७० बढी पुस्तक लेखेको उल्लेख गर्दै कसाःले भन्नुभयो– “आधाभन्दा बढी पुस्तक यताउता नोक्सान भएको देखिन्छ ।”
कार्यक्रममा कसाःको कार्यपत्रमाथि समीक्षा गर्दै साहित्यकार पूर्ण ताम्राकारले विभिन्न पेशा अँगालेर जहाँ पुगे पनि जोशीले नेपालभाषालाई नछोडेको बताउनुभयो ।
कार्यक्रममा जोशीद्वारा सिर्जना गरिएको गीत किरण साय्मिले गाएर सुनाउनुभएको थियो भने कविहरू कृष्णभक्त बोडे, नारद बज्राचार्य, रजनी मिला, रमेशकाजी स्थापित र सुरजवीर बज्राचार्यले जोशीका कविता पाठ गर्नुभएको थियो ।
जोशीका विद्यार्थी राजदास श्रेष्ठले भक्तपुरको विराट साहित्य गुठीलाई ८३ हजार रूपैयाँ सहयोस्वरूप हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शशिकला मानन्धरले गर्नुभएको थियो ।