चैत १, काठमाडौं ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विभिन्न विधाका ८ स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
प्रर्दशनीमार्ग स्थित पर्यटन वोर्डको सभाकक्षमा हिजो भएको कार्यक्रममा यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७७’ जनगायक रामेश श्रेष्ठलाई प्रदान गरिएको हो ।
त्यस्तै एक लाख राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७७’ स्रष्टा एवं रङ्गमञ्चकर्मी अशेष मल्ललाई प्रदान गरेको छ ।
७५ हजार राशिको ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७७’ कवि तथा पत्रकार ठाकुर बेलबासेलाई प्रदान गरिएको छ ।
अन्य पुरस्कृत व्यक्तिहरुमा ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट लक्ष्मी उप्रेती, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार’ चित्रकार विधाता केसी र ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’ मिलन नेवारलाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी ५० हजार रहेकाे छ ।
डा मधुसूदन गिरी र मनोहर लामिछानेलाई क्रमशः योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
कार्यक्रममा प्रमुख अथिति शताव्दी पुरुष सत्यमोहन जोशीले जुन बेलासम्म साहित्य र कलाको उन्नती हुँदैन त्यो बेलासम्म देश समृद्ध हुन्न भनेका थिए । उनले विश्वका ठूलाठूला देश पनि साहित्य र कलाको माध्यमबाट नै विकसित र परिवर्तित भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी थिए । कवि मणि लोहोनीले संचालन गरेको कार्यक्रमको अध्यक्षता कला साहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले गरेकी थिइन् ।
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान
(प्रेस विज्ञप्ति)
राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रका उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्वपरिवेशमा परिचित गराउन प्रतिबद्ध संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा गत तेह्र वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गर्ने गरिएको गरिमा प्राप्त यस वर्षको अमूल्य राष्ट्रिय कलाश्री सम्मान—२०७७ सर्वश्री जनगायक रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै साहित्यका विशिष्ट साधक स्रष्टा एवम् रङ्गमञ्चसँग आबद्ध सशक्त अभियन्ता समेत रहनुभएका श्री अशेष मल्ललाई रु. १,००,०००।— राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार—२०७७, त्यस्तै आजका बहुआयामिक जुझारु स्रष्टा ठाकुर बेलबासेलाई रु. ७५,०००।— राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार—२०७७, त्यस्तै साहित्यका अथक साधक पत्रकार एबम् स्रष्टा लक्ष्मी उप्रेतीलाई रु. ५०,०००।— राशिसहितको बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार—२०७७, त्यस्तै युवा चित्रकार विधाता के.सी.लाई रु. ५०,०००।— राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७७ र नेपाली साङ्गीतिक जगत्का सङ्घर्षशील एवम् लोकप्रिय चर्चित अनुहार मिलन नेवारलाई रु. ५०,०००।— राशिसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार—२०७७ समर्पण कार्यक्रम राजधानीमा शताब्दी वाङ्मय पुरुष श्री सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साथै हरेक वर्ष नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित रु. २५,०००।— र रु. २०,०००।— राशिको योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कार पनि यस वर्ष कोभिडका कारण यात्रा स्थगित भएकाले सो पुरस्कारहरू पनि क्रमशः डा. मधुसूदन गिरी र मनोहर लामिछानेलाई सोही समारोहमा समर्पण गरिएको छ ।
स्मरण रहोस्, यसअघि राष्ट्रिय कलाश्री सम्मान क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला र प्रेमध्वज प्रधानलाई प्रदान गरिसकिएको छ भने राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईँ, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ र गणेश रसिकलाई प्रदान गरिएको थियो । विगत नौ वर्षदेखि प्रदान गरिँदै आएको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार भने प्रथम पटक कवि विप्लव ढकाल, त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनुमञ्जिल, मणि लोहनी, सुमन पोखरेल र सरस्वती प्रतीक्षालाई प्रदान गरिएको थियो । यस्तै बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, पूmलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा र रोचक घिमिरेले प्राप्त गरिसकेका छन् भने थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७५ चित्रकार एरिना ताम्राकार र २०७६ मा मूर्तिकार विक्रमश्रीले प्राप्त गरिसकेका छन् । त्यस्तै गत वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार शिशिर योगीलाई प्रदान गरिएको थियो ।