नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बाल पत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बाल स्रष्टादेखि प्रौढ स्रष्टासम्मका बाल उपयोगी सामग्रीहरू प्रकाशन गर्दै आएको छ । विशेष गरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बाल पत्रिकाको प्रकाशन सुरु गरिएको र तेस्रो अङ्कसम्म आइपुग्दा यो बाल साहित्यप्रेमी प्रौढ पाठक र सिर्जनाप्रेमी धेरै बालबालिकाका बिचमा लोकप्रिय बनेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।
‘बालप्रज्ञा’को यस अङ्कमा नेपाली बाल साहित्यका विशिष्ट स्रष्टा शान्तदास मानन्धरको रोचक बालापन समेटिएको छभने बालबालिकालाई सत्कार्यमा हौसला प्रदान गर्ने खालका कुलमान घिसिङ र स्टेफेन हकिङको उत्प्रेरणामूलक जीवनी प्रस्तुत गरिएको छ । विशेषतःबाह्र वर्ष मुनिका बालबालिका र सोह्र वर्ष मुनिका किशोरकिशोरीहरूको रुचि, भाषिक क्षमता र विषय क्षेत्रलाई समेट्ने खालका कविता, गीत, गजल, कथा, निबन्ध, एकाङ्की र विविध जानकारीहरू यस अङ्कमा प्रकाशित छन् । साथै ‘हाम्रा सिर्जना’ स्तम्भ अन्तर्गत बालबालिकाका सिर्जनाहरू, ‘हाम्रो कुची’ स्तम्भ अन्तर्गत बालबालिकाले बनाएका चित्रहरू, ‘हाम्रो मातृभाषा’ स्तम्भ अन्तर्गत बालबालिकाले नै लेखेका मातृभाषाका सिर्जनाहरू समेटिएका छन् । यसरी नै बालबालिकाको बौद्धिक विकास गर्ने खालका भाषिक खेल तथा कोठेपदहरू यहाँ प्रकाशित छन् भने ‘अनुभूति’ स्तम्भ अन्तर्गत सातै प्रदेशका बालबालिकाका कोराना सम्बन्धी अनुभूतिहरूलाई यहाँ प्रकाशन गरिएको छ । साथै स्वास्थ्य सचेतताका लागि डा. रवीन्द्र समीरको कोरोना के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारीमूलक लेख पनि यहाँ समेटिएको छ भने ‘हाम्रो भूगोल’ स्तम्भ अन्तर्गत प्रदेश नं. २ को भौगोलिक एवं सांस्कृतिक परिचय दिइएको छ ।
प्रज्ञा–प्रतिष्ठानले बालबालिकाको प्रतिभाको सम्मान गरी सिर्जनात्मक विकासको लक्ष्य राखेर बाल पत्रिकाको थालनी गरेको हुँदा यसलाई चाँडै नै योजनाबद्ध तरिकाले देशभरिका बालबालिकासम्म पु¥याउने लक्ष्य राखिएको जानकारी पत्रिकाका प्रधान सम्पादक प्राज्ञ डा. देवी नेपालले दिएका छन् । प्रा.डा. ध्रुवकुमार घिमिरे कार्यकारी सम्पादक र नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना र देवु लुइटेल सम्पादक रहेकोर राजेश मानन्धरका भाव अनुकूल चित्रहरू रहेको बहुरङ्गी ८० पृष्ठको उक्त पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठानमा हाल भइरहेको पुस्तक प्रदर्शनीमा समेत राखिएको जानकारी प्राज्ञ तथा सञ्चार शाखा प्रमुख शशीलुमुम्बुले दिएका छन् ।