बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको पछिल्लो लघुकथा कृति ‘संवैधानिक पत्नी’ काठमाण्डौमा सार्वजनिक गरियो । आइतबार बिहान सम्पन्न कार्यक्रममा उपस्थित स्रष्टाहरूले एकसाथ उक्त लघुकथासंग्रह सार्वजनिक गरे । सोही कार्यक्रममा उक्त पुस्तकमाथि अन्तरक्रिया पनि गरिएको थियो ।
कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले धेरै लेखकहरू मुलुकबाहिर गएपछि लेखनमा निष्कृय हुने गरेको चर्चा गर्दै थोरै लेखकमा मात्रै साहित्यमा सक्रियता रहेको उल्लेख गर्दै बजगाईं अत्यन्त सक्रिय लेखक रहेको बताए । उनले बजगाईंको लघुकथासंग्रह ‘संवैधानिक पत्नी’को समीक्षा गर्दै लघुकथामा राजनीति, परिवार र सिंगो समाज समेटिएको बताए । लघुकथाको शिल्प विधानलाई अँगालेर लेख्ने उत्कृष्ट लघुकथाकार भएको बताए ।
साहित्यकार प्रमोद प्रधानले लघुकथा लेखनले व्यापकता लिए पनि लघुकथाका प्रतिनिधि लेखकहरूलाई बिर्सिंदै गएकोमा दुखेसो पोखे । समालोचक डा. लेख निरौलाले बजगाईंको लघुकथामा मिथकिय प्रस्तुति बेजोड रहेको बताए । समालोचक डा. विदुर चालिसेले बजगाईं नयाँ प्रयोग गर्न रुचाउने उनका लघुकथाको प्रस्तुतिमा चमत्कारिता रहेको बताए ।
पुस्तक प्रकाशक विवेक सिर्जनशील प्रा.लि.का विजयराज आचार्यले नेपालदेखिको उहाँको लेखनमा रहेको सिर्जनशीलत विदेशमा पुगेपछि पनि कुनै कमी नआएको बताए । लघुकथा समाज नेपालका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, सचिव तुलसीहरि कोइरालाले बजगाईंको लघुकथाकारिताका बारेमा बोलेका थिए ।