मान्छेले आफूलाई कसरी चिन्छ र उसलाई अरुले कसरी चिन्छन् । यसको आधार के हो ? कसी के हो ? बुझ्ने जाँच्ने कसरी हो ? बौद्धिकताको जाँच गर्ने कसरी हो ? प्राज्ञ जाँच्ने कसरी ? मान्छे चिन्हे फर्मुला के हो ? खास मान्छे को हो ? दासको मालिक खास मान्छे हो कि दास पनि मान्छे हो ?
मान्छेको परिभाषा मान्छेलाई दिइरहनु पर्दैन ।
किन भने मान्छे मान्छे नै हो । पृथ्वीका सबै जातिहरूमा मान्छे सर्वोत्तम चेतना भएको प्राणी हो । यतिभन्दा सबैले मान्छे बुझ्छन् अर्थात् आफूलाई बुझ्छन् । हरेकले आफूलाई बुझ्दा सबैलाई बुझिन्छ । यहाँ प्रश्न उठ्छ, ’सर्वोत्तम चेतना’ भनेको के हो ? यो कोसँग छ ? कोसँग छैन ? कहिलेदेखि छ ? कसरी छ ? चेतनाको कुन तहमा पुगेपछि त्यो सर्वोत्तम हुन्छ ?
आफूलाई बौद्धिक भन्नेहरू प्राज्ञ, विज्ञ, प्रबुद्ध, महामहिम, महाराज, स्वामी, गुरुमहाराज, सन्तमहन्त, विद्वत्वर्ग वैज्ञानिक, प्राविधिक, आदिमध्ये कसको चेतना उच्च छ ? कति उच्च छ ? किसान ज्यामी, राजनीतिकर्मी, राजनेता, धर्मगुरु, प्रोफेसर कसको बढी उच्च वा सर्वोत्तम चेतना छ ? वर्गीय रूपमा भन्दा महिला र पुरुष मध्येको चाहिँ सर्वोत्तम चेतनावाला हो ? मजदुर र मालिक मध्ये कसको चेतना उच्च छ ?
यस्ता प्रश्न र बहसको चाँङ धेरै अग्लो हुनसक्छ तर यसको सही उत्तर आउन कठिन हुन्छ । संसारभरका उत्पीडित वर्गले आफ्नो शरीरको पसिनासँगै चेतनाका धेरै आँसु पोखेका छन् । पीडा चित्कार, क्रन्दन, रोदन र मौनताका धेरै आँसुहरू पोखेका छन् ।
मालिकको चेतनाका सामु दासहरूले कहिल्यै पनि प्रस्ट शब्द बोल्न सकेनन् । खुलेर बोल्न सकेनन् । मृत्युवरण गर्न तयार भए तर विरोधमा उत्रन सकेनन् । आँसु पिएर, पसिना चाटेर, रगत बगाएर, आधा पेट खाएर, दिनरात रोएर बसे तर मालिकको चेतनाका सामु विद्रोह बोल्न सकेनन् । तिनीहरूले आफ्नो चेतनाको ढोका खोलेर अधिकारको आवाज बोल्न सकेनन् । बाढी, पहिरो, वर्षा, चट्याङ, बन्दुकको ड्याङभित्र परिवर्तन र स्वतन्त्रताको भ¥याङ चढ्न सकेनन् । किनभने यिनीहरू चेतनाको बन्दिगृहमा चेतनाकै ढोका बन्द गरेर कैद हुनपुगे ।
चेतनाले चेतनालाई खाने यो कस्तो चेतना हो ? सबैले बुझेकै कुरा हो यो त चेतना होइन यो अविज्ञता हो । विडम्बना कस्तो नपत्याउने, अविज्ञताले चेतनालाई कैद बनाउदो रहेछ । चेतनालाई त दुख्छ, मर्मबोध हुन्छ, उसले त आँसु र पसिनाका भाषा बुझ्दछ । उकाली ओराली, दिनरात, पीडा, चित्कार, क्रन्दन, बेथिति, बेमेल, अन्तरकलह, द्वन्द्व, विद्रोह, सङ्घर्ष, तातोचिसो, ज्वालामुखी र आँधीको भाषा बुझ्दछ । ऊ अचेतन मुर्खहरूप्रति दया गर्दछ । यिनीहरूको हिंसक, दानवीय प्रवृत्तिप्रति घृणा गर्दछ । यिनीहरूलाई ब्युँझाउने प्रयत्नका लागि, समाजलाई बदल्ने प्रयत्नका लागि चेतना त कहिले अचेतनबाट, पटमुर्ख धुर्मुसबाट ठोकिदो रहेछ ।
यो पटमुर्ख धुर्मुसको चेतना खुलेको छैन, ब्युँझिएको छैन । यो अचेतन सम्बरस्वाँठ हेर न १ कस्तो प्राज्ञ, विज्ञ, विद्धत ! ओहो अचम्म ! लाटो देशमा गाँडाहरू तन्देरी हुन्छन् रे ! भन्ने त सबैले सुनेकै हुन् । प्राज्ञ समाजमा धुर्मुसहरू विद्वान बनेको आजै होमैले देखेको । म निषेध र विरोध गर्दिन, म त अहिले अवलोकन मात्र गरिरहेको छु । प्राज्ञ समाजमा पटमुर्ख धुर्मुसहरू मध्येबाट छानिएर विद्वत धुर्मुस आएको हुनसक्छ । ऊ पटमुर्खको नेता हुनसक्छ । मलाई निकै खुलदुली भयो । यो प्राज्ञ र धुर्मुसको के नाता छ ? धुर्मुसले प्राज्ञहरूलाई ठोक्ने हो कि प्राज्ञहरूले धुर्मुस ठोकिरहेछन् ?
कस्तो विचित्र लिला, ठोक्ने ठोकिरहेछन्, किचिने किचिइरहेछन् । मानौँ यिनीहरू मालिक र दास हुन् । मैले धेरैका मुखबाट सुनेको छु, ’मानिस सर्वोत्तम प्राणी हो । उच्च चेतनाको खानी हो ।’ तर मलाई शङ्का लाग्छ । यो एउटा आडम्बर मात्रै हो कि ? नाटक मात्र हो कि ? जानेको स्वाँङ पारेको मात्रै हो कि ? साँच्चै हो त ? मान्छे उच्च चेतनाको खानी नै हो त ? मलाई अझै शड्ढा छ ।
मान्छेको चेतना कसले निर्माण गर्छ ? एउटा प्राज्ञ विद्वत वर्गले कि ? एउटा पटमुर्ख सम्बरस्वाँठ धुर्मुसले कि ? गुरुले कि ? आमाले कि ? कसले गर्दछ ? मलाई धेरै खुलदुली हुन्छ ।
चेतनाको निर्माण पदार्थले गरेको भन्छन्, त्यो कुन पदार्थ हो ? कुन तत्व हो ? जसले मान्छेलाई असमान रूपमा चेतनाको वितरण ग¥यो ? विद्वत, प्राज्ञ नाप्ने यन्त्र कुन हो ? के अध्ययनबाट प्राप्त प्रमाण–पत्रहरू, व्यवहारबाट प्राप्त अनेकन अनुभवका दस्तावेजहरू, इतिहासका अनुभवहरू, निरन्तर सिकाइका अध्ययनहरू विज्ञ नाप्ने यन्त्र हुन् ? चेतना नाप्ने आधार कुन हुन् ? को हुन् विज्ञहरू ? को हुन् प्राज्ञहरू ?
मैले सुनेको छु प्राज्ञ सभामा जाने जति प्राज्ञ, विद्वतसभामा जाने जति विज्ञ । विज्ञ, प्राज्ञहरू भन्ने कोही मैले देखेँ, शून्यवादी नित्सेजस्ता थिए । मैले बेलाबखत उनीहरूको बोली भाषा सुनेँ, ’संसारमा कुनै पनि वस्तु सार्वभौम सत्य र वस्तुगत सत्य छैन भन्थे । मैले बुझेँ यी पटमुर्ख धुर्मुसहरूले विद्वतवर्गहरूको दिमाग भुट्ने भए । यिनीहरू त शून्यवादी, निराशावादी मात्र थिएनन् यी त पटमर्ख, अज्ञानी, अचेतन मनको सपना ओकल्ने ध्वंशवादी पनि थिए ।
धुर्मुसहरूको नेता नित्से आफू स्वयम् धुर्मुस अचेतन मन भएको, अज्ञानी, महामुर्ख, फन्टुस थियो र ऊ ती संसारभरका फन्टुस धुर्मुसहरूलाई ध्वंश गर्न एउटा प्राज्ञ महापुरुष, बुद्धिमान महापुरुषको महापुरुष खोजिरहृयो । तर, भेटेन । उसको अवसानपछि जर्मनीमा उसले भनेको जस्ता महाधुर्मुसहरू आए । तिनीहरूले नित्सेको शून्यवाद लागु गर्दै संसारबाट अज्ञानी र मुर्ख जनता (धुर्मुसहरू) को हत्या दमन गर्ने फासीवाद अपनाए ।
यी धुर्मुसहरूलाई जनताको आँगनमा, ग्रामीण बस्तीहरू र सहरका गल्लीहरूमा धुलो चटाउने एन्टीयसहरू पहिलो र दोस्रो युद्धको दौरान रुस, चीन र पूर्वी युरोपमा भयङ्कर भएर आए । यस पटक एन्टीयसहरूले महान् विजय हासिल गरे भने महाधुर्मुसहरू नराम्रोसँग हारेका थिए । जताततै लुट मच्चाउन, एकाधिकार जमाउन आफ्ना सङ्कटहरू टार्न उसले भाडाका विद्वतवर्ग मार्फत यो दुनियाँभरका सीधासाधा मान्छेहरूलाई, एन्टीयसहरूलाई निरास, अराजक र भ्रष्ट बनायो । यिनीहरूले दुनियाँभरमा अराजकता, विभाजन र अविश्वासको पर्खाल खडा गरेर सत्यको दोहोलो काडेका थिए ।
धुर्मुसहरूले महाधुर्मुसहरूको प्राज्ञसभा खडा दुनियाँभरलाई धुर्मुसीकरण गर्नु, दुनियाँभरलाई फुटाउनु, गुटउपगुट खडा गर्नु, अन्तरध्वंश, अन्तरकलह, एकाङ्कीपन, शून्यता, विखण्डन, अराजकता, आदिमा दार्शनिक तर्कहरू फसाएर एकताको अन्त्य, एन्टीयसहरूलाई हाराबारा खेलाउनु थियो । आफ्नो गन्तव्यमा अल्मल्याउनु थियो । यो दुनियाँमा हजारौँ धुर्मुस र महाधुर्मुसहरू पनि जन्मिरहेका थिए र छन् । महाधुर्मुसहरूको प्राज्ञसभालाई ज्ञान उपदेश दिदै एउटा ठूलो धुर्मुस मिशेल फुको निस्किएर भन्यो, ’जोसँग ज्ञान हुन्छ, त्यसैसँग शक्ति हुन्छ ।’ यसको मतलब सबैले बुझेका छन् । मलाई लाग्छ यो महाधुर्मुसहरूको प्राज्ञसभाले कुनैबेला धुर्मुसवाद निकाल्न सक्छ । धुर्मुसवादलाई पक्षपोषण गर्ने फुकुयामाले आँट गरेर लेखे, ’इतिहासको अन्त र अन्तिम मान्छे ।’ यो विचार सन् १९९० पछि जोड्दार रूपमा हाम्रो सामु आयो ।
मैले विचार गरेँ, अब संसारलाई फुटाएर धुर्मुसहरूले राज गर्ने भए । यिनीहरूको आसय थियो, राता चट्टानहरू फोरिएका छन् । एन्टीयसहरूलाई लखेटिएको छ धर्ती बाहिर । उनीहरूको विश्वास छ, ’तिनीहरू फेरि आउदैनन् फर्केर । हामी मात्र अन्तिम धुर्मुस हौँ, हामीलाई ढकेल्न सक्दैन अब कसैले । हामी उदार छौँ र ठोक्छौँ, ठोक्नु हाम्रो सिद्धान्त हो । पेल्नु हाम्रो सिद्धान्त हो । ठोक्नु, पेल्नु, फुटाउनु, तान्नु, मिलाउनु, नमिले फेरि ठोक्नु, पेल्नु यो क्रम हाम्रो हो ।’
उनीहरू भन्छन्, ’यो उदारतन्त्र सभ्यताको अन्तिम व्यवस्था हो, यसको विकल्प छैन ।’ तर धुर्मुस अभियानमा विश्वास नगर्ने, शून्यवादमा विश्वास नगर्ने, एन्टीयसहरू दृढतापूर्वक उभिएर खबरदारीका साथ भनिरहेका छन्, ’ए ! फन्टुसहरू ! ए ! पटमुर्ख धुर्मुसहरू ! ए !दूरक्षितिजसम्म नदेख्ने रतअन्धाहरू ! एन्टीयसको थोत्रेकोट ओढेर तिमीहरूको व्यापारका लागि दलाली गरिरहेका तिम्रा दलालहरूको मृत्युलाई ढाकछोप गर्न तिमी हाम्रो मृत्युलाई सरापी रहेछौ ।
हे मुर्खहरू १ एन्टीयस मरेको छैन र यो पृथ्वीमा टेक्ने ठाउँ रहेसम्म एन्टीयस मर्ने छैन । अहिले त एन्टीयसको कोट ओढेका तिम्रा दलालहरू मरिरहेका छन् र तिनीहरू तिम्रो दलाली गर्दै सबै मर्नेछन् । तर, हामी रातो झण्डा उठाएर विश्वको छानामा फहराइरहेका छौँ । हामी विश्वभर फैलिएका छौँ र एउटै स्वरमा भनिरहेछौँ, ’ए १ धुर्मुस कसाही र लुटेराहरू १ कुनै बिहान नष्ट हुनेछन् र उज्यालो रहिरहनेछ । हामी संसार बदल्नेहरू, तिम्रो शून्यमा विश्वास नगर्नेहरू एकीकृत र केन्द्रीकृत हुँदै हजारौँ एन्टीयसका साथ हामी अघि बढिरहेछौँ ।
दुनियाँलाई मुर्ख बनाउने ए ! पटमुर्ख धुर्मुसहरू १ समानता, स्वतन्त्रता र पहिचान र मातृत्वको नारादिएर दुनियाँलाई मुर्ख बनाउदै आफूलाई महाधुर्मुस बनाउन खोजिरहेछौ । तिमीहरू लुई अठारौँको जस्तो बु्रमेर गरिरहेछौ दुनियाँमा । हामीलाई थाहा छ बोनापार्टले तिम्रो ढाड खुस्काएको थियो । हामी वर्षौदेखि संसार बदल्ने कार्यमा अघि बढिरहेछौँ ।
धुर्मुसहरूलाई के थाहा छ भने प्राज्ञहरूको दबदबाका कारण कहीँ र कतै पनि मेलमिलाप हुन सक्दैन्, हुँदैन र भए पनि एकछिन पनि टिक्दैन । उनीहरूलाई के विश्वास छ भने, मजदुरवर्ग कमजोर हुन्छन्, यिनीहरू थोरै पनि छन्, किसान एउटै वर्गका छैनन्, यिनीहरू ढुलमुले र आफै विभाजित छन् । केही गर्नलाई आफ्ना खाले मान्छे ठीक गर्नुपर्दछ, अरुबाट काम चल्दैन । आफ्नो ठाउँ बलियो बनाउन केवल आफ्ना खाले मान्छेको पकड बलियो हुनुपर्दछ । विचारमा एकता, लक्ष्य तथा निसानामा एकता भएर मात्रैसँगै हिड्न सकिन्छ । एक ठाउँमा मात्रै एउटा कुरामा मात्रै पकड राखेर टिक्न सकिदैन । प्राज्ञ भन्नेहरूले टिक्न दिदैनन् । त्यसो भएकाले प्राज्ञलाई महामुर्ख बनाउनुपर्छ लोभ्याउनुपर्छ, डलरले, भौतिक सुविधाले मान मानितो तथा पदीय सम्मानले र अन्य विचारगत खान्कीले उनीहरूलाई महाधुर्मुस बनाउनु पर्दछ भन्ने यिनको विश्वास छ ।
धुर्मुसहरूको के विश्वास छ भने, ’शक्ति भनेको पैसा हो, पैसा भनेको लुट हो । लुट एउटा अभियान हो । यो अभियान व्यक्तिगत र संस्थागत रूपमा गरिन्छ । आज संसारमा सबैभन्दा शक्तिशाली को हो ? त्यो विश्वको महालुटेरा नै हो । उसलाई कसैले र कहिल्यै जित्न सक्दैनन् र त्यससँग सङ्घर्ष गरेर बरु आफै समाप्त भइन्छ, हारिन्छ, दबिन्छ तर उसलाई हटाउन सकिन्न भन्ने मान्यता छ । त्यसो भएकाले आफ्नो स्थिति जसरी पनि बलियो बनाउनु पर्छ । आफ्ना विरोधीहरूलाई माया, मान सम्मान, दया तथा सद्भावको कुनै स्थान दिनु हुँदैन ।
उनीहरूलाई जोडले पेलेर, ठोकेर मिलाउनु पर्छ । ठोकाइलाई निरन्तर दोहो¥याइरहँदा विरोधीहरू आफसे आफ मिल्न बाध्य हुन्छन् । स्वतः दबेर जान्छन् भन्ने मान्यता छ । यो आफ्नो सत्ताको प्रभुत्वका लागि स्थायी उपाय हो भन्ने उनीहरूलाई लागेको छ ।
धुर्मुसहरू आफ्ना छिमेकीहरूप्रति सद्भावका नाममा लुट चाहन्छन्, एक प्रकारको बर्बरता र युद्ध लाद्न चाहन्छन् । बेलाबेला यिनीहरू छिमेकीलाई शुभचिन्तक जस्तो लाग्दछन्, मिठा कुरा गरेर मख्ख पार्छन्, प्राज्ञहरूको सारा बुद्धि भुट्छन्, भ्रममा फसाएर आफ्नै तर्कको पक्षपोषक बनाउँछन् । प्राज्ञहरूजति नै ठूला महाप्राज्ञ प्रबुद्धवर्ग भन्नेहरू पनि धुर्मुसवादका सामु पटक पटक झुकेको घटनाले मलाई धेरै गम्भीर बनाउछ ।
धुर्मुसहरूसँग कस्तो जादु छ ? कस्तो कला छ ? उनीहरूका सामु सबै प्राज्ञ भन्नेहरू झुक्छन् । प्राज्ञहरूको बुद्धि एकैछिनमा भुटेर धुर्मुसहरूले आफ्नो प्राज्ञघोडा बनाएको देख्दा मलाई विचरा ! प्राज्ञहरूदेखि दया लाग्छ । धुर्मुसका घोडा बनेका प्राज्ञहरू उसको दमन, अत्याचार, मनपरी, डकौतगिरी, धुर्मुसगिरी प्रभुत्व आदि केही देख्दैनन् ? सबै राम्रो असल मात्र देख्छन् । बेलाबेला धुर्मुसको बलपूर्वक ठोकाइले मर्महात भएका बेला, केही होस खुलेको जस्तो गरेर घोडा प्राज्ञहरू बर्बराउँछन् । धुर्मुसका पछिल्तिर उसको सक्दोसराप गरेर बर्बराउनुको के अर्थ हुन्छ ? धुर्मुसका अतिचारहरूको खुलेआम विरोध गर्नुको सट्टा उसलाई एउटा महाशक्ति, महिसासुर ठानेर उसका सामु हामी त भुसुना भएको, बत्तीका सामुका भुसुनाले बत्तीमा आत्मसमर्पण नगरे के गर्ने त भन्ने तर्क अघि सार्दछन् प्राज्ञहरू ।
यो भनेको प्राज्ञले उसको चरित्र नबुझ्नु मात्र होइन, त्यसको नाङ्गो दलाली गर्नु पनि हो । म धुर्मुसको होइन कि प्राज्ञको बुद्धि देखेर छक्क पर्छु ! म घोत्लिएर सोच्छु, ’यो दहिचिउरे र पिपलपात भनेको चाहिँ के होला ? मलाई लाग्यो, यो एउटा प्रवृत्ति हो । अब्बल दर्जाका (जोसँग योग्यताका प्रमाणहरूको चाङ धरहरा भन्दा अग्लो छ) उच्च मानिने परैबाट देखिने प्राज्ञका सम्बन्धमा उनीहरूको प्रवृत्ति हेर्दा, के देखियो भने, ’उनीहरूको दुबै हातमा लड्डु हुँदा सबै ठीक हुने, सबै राम्रो देखिने, कुरूप पनि रूपवान देखिने, झुट पनि सत्य र अकाट्य सावित हुने, र कुनै कारणवस लड्डु हातबाट खस्दा एउटा होस् वा दुबै सबै चीज बर्बाद हुने । हस्तक्षेप हुने, लुट भएको देखिने, शोषण, असमनता, अपहेलना र विभेद देखिने । सडकमा दुईचार भाइ कराउदै, चिच्याउदै आपत्ति मान्दै, विद्रोहको भाषा बोल्ने र भित्रभित्रै धुर्मुससँग लड्डुहरूको निम्ति व्यवहार मिलाउन दौडधुप गर्ने ।
ओहो ! यो कस्तो विचित्रको प्राज्ञवाद ?
हामी सबैले बुझ्ने कुरा के हो भने मृत्यु निश्चित छ भनेर मर्नु भन्दा अगाडि नै खुट्टा तान्ने किन ? हामीले जसरी पनि धुर्मुसवाद र प्राज्ञवादका विरुद्ध व्यापक आन्दोलन उठाउनु छ । प्राज्ञवादका सम्बन्धमा मलाई अझै सङ्का छ, यो प्राज्ञवाद हो कि प्रायोजित चाकरीवाद हो ? यसलाई बुझ्न फेरि अर्को प्राज्ञसभामा जानुपर्ला । तर यो आन्दोलन केवल आन्दोलनका निमित्त आन्दोलन विरोधका निमित्त विरोध होइन । यो त राष्ट्रिय स्वाधीनताको लडाइँ पनि हो । अर्को भाषामा भनौँ यो लडाइँ वर्गीय मुक्तिको लडाइँ पनि हो । यो भनेको सम्पूर्ण धुर्मुसवाद, प्राज्ञवाद र त्यसको आड भरोसामा रहेको विभिन्न खाले छिर्केवाद र फासीवादका विरुद्ध पनि लड्नु हो ।
मलाई विचित्र लाग्छ, मान्छेहरू सबै धुर्मुस हुन् कि प्राज्ञ हुन् ? विचरा ! मान्छे सबैलाई किन दोष दिनु । यो सबै त एउटा प्रवृत्ति हो । हाम्रो प्रयत्न असल मान्छे, सचेत मान्छे, होसियार र उन्नत नस्ल र प्राजातिको मान्छे बनाउने प्रयत्नमा जाँदा यी यस्ता प्रवृत्तिहरू बाटो छेकेर बसेका छन्,देखिएका छन् । हामी मिचेल हार्ट, अन्टोनियो नेग्री, प्रूँधो र हेगेल पन्थीहरूसँग हात बढाइरहेका छैनौँ । हामी प्राज्ञवादका बाबुसाहेबको महाजङ्गी घोडा मागेर कुदाउन खोजिरहेका छैनौँ ।
बाकुनिनको अराजकतावादी एलाइन्समा प्रवेश गर्नका निम्ति हामी यहाँ आएका होइनौँ । हामी त संसार बदल्न मृत्युलाई जितेर, काला पहाडहरू फोर्दै, विकट पहराहरूसँग सिङ्गौरी खेल्दै, बडेमाका, अजङ्गका, भीमकाय, ड्रागनका भयानक हुलहरूसँग मुकावला गर्दै, काली नदीका कठिन धारहरू नाघेर यहाँआई पुगेका छौँ ।
हाम्रो बाटोमा कैयौँपटक योजनाबद्धताको साथ धुर्मुसका पल्टनहरू डमरु बजाउदै आए । समय फेरिएको नाममा गाईलाई गधाको आवरण लगाएर, सिङ्गलाई पुच्छरतर्फ फर्काएर शून्यवादी मोडरेटको खोले खुवाएर परिवर्तनको दुहाइ दिदै हाम्रो बाटो छेकिरहेथे । यिनीहरू मियो भाँचेर, दाम्लो चुडाएर हरियो चोर्न पल्केका बहरहरूझँै अराजक बनेर उफ्रिरहेका थिए । यिनीहरू परिवर्तनको कुरा गर्ने, नयाँ युगका कुरा गर्ने, नयाँ विचारका कुरा गर्ने, पुराना विचार पुराना मान्छेसँगै मरिसकेको घोषणा गर्ने, ठोक्ने, कज्याउने, निमोठ्ने, सङ्गठनहरूलाई स्वीकार नगर्ने, शून्यवादी, अस्तित्ववादी महाधुर्मुसहरूको एउटा प्राज्ञिक र बौद्धिक जमात हाम्रो सामु देखाप¥यो । यिनीहरू जनताप्रति अविश्वास र पूर्वाग्रहले ग्रस्त घमण्डी छन् ।
मलाई लाग्यो, अब हाम्रा गाउँले धुर्मुस र विश्वभरका धुर्मुसहरू तिनका चालकहरूका विरुद्ध एउटा उथलपुथलकारी आँधी ल्याउनु जरुरी छ । हाम्रा अग्रदस्ता धुर्मुसद्वारा निम्त्याइएको समस्या समाधानका लागि जस्तै महान् कष्टसाध्य र साहसिक कदम उठाउन पनि पछि हट्ने छैनन् । विद्रोहको झण्डा एक पटक उठाएपछि कुनै पनि हालतमा रोक्नु हुन्न रोक्नेहरू महाधुर्मुस हुन् । तर हामीहरू एन्टीयस हौं, हामी अग्रगामी वर्गप्रति विश्वास गर्दछौँ । धुर्मुसवादको विश्वास गर्ने महाधुर्मुस प्राज्ञहरू नै दुनियाँ बिगार्ने अभियानका मुख्य पात्र हुन् । यिनको ज्ञान चेतनामा केवल शून्यवाद हावी छ । एक्लो व्यक्ति हावी छ । जबरजस्ती हावी छ । गोलचक्कर हावी छ ।
ए ! धुर्मुसका महापण्डितहरू १ तिमीले बिगारेको यो घरको प्रत्येक वस्तुलाई हामी तिमीबाट नै बनाउन लगाउदैछौँ । तिमीले फुटाएका इँटा र चट्टानका प्रत्येक टुक्रा बटुलेर हामी तिमीलाई नै यो भूगोल बनाउन लगाइरहेछौँ । फर्किएर जाने, तर्किएर जाने तिम्रा प्रत्येक गौडाहरू थुनेर हामी तिम्रो धुर्मुस प्राज्ञ सत्ता बदलिरहेका छौँ ।
(झापा)